बागलुङ जिप दुर्घटनामा चालकको गम्भीर लापरवाही
बागलुङ : जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ।
ध१ज ७९१ नंको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो । अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ।
“चालकको गम्भीर लापरवाही देखिन्छ”, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, “घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।” उनका अनुसार चालक १८ वर्षीय प्रवीण पुनसँग चालक अनुमतिपत्रसमेत नभएको बुझिएको छ। दुर्घटनामा सामान्य घाइते भएका चालक पुन प्रहरी नियन्त्रणमा छन्।
जिपमा स्थानीय जनकल्याण माविको वार्षिकोत्सवमा भाग लिएर घर फर्कँदै गरेका विद्यार्थी, अभिभावक सवार थिए। २० यात्रु बोकेको जिप सडकदेखि करीब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ। “ठूलो भीरमा दुर्घटना भएको छ”, प्रहरी उपरीक्षक रेग्मीले भने, “अप्ठेरो सडक त्यहीँमाथि बढी भार हुँदा जिपले नियन्त्रण गुमाएको हुनसक्छ।” चालकको अपरिपक्वता र लापरवाहीले दुर्घटना निम्तिएको हुनसक्ने वडाध्यक्ष विजय अधिकारीले बताए। “अनुसन्धानबाट वास्तविकता बाहिर आउला”, उनले भने, “घटनाको प्रकृति हेर्दा लापरवाही भएको देखिन्छ।”
यात्रुले पनि सजगता नअपनाएको स्थानीयवासीको भनाइ छ। साँझको समयमा घर फर्कने हतारले कोचिएर जिपमा यात्रा गरेको बुझिएको छ। चालकले नचढ्नु भन्दा पनि यात्रुले अटेर गरी चढेको समेत बताइएको छ। दुर्घटनामा परी सोही वडाकी १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीष, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो।
तुलसी र एलिनाको घटनास्थलमै र प्रियङ्का र ज्योतिको उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते छ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइते सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटनापछि छिस्तीको केवै गाउँ शोकमग्न बनेको छ। दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटिएका थिए।
February 21, 2019 9:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी