सप्तरीमा छिमेकीद्वारा ८ वर्षीय बालकको हत्या भएको पुष्टि, हत्यारालाई जन्मकैदको सजाय
सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ हरीपुरका ८ वर्षीय बालक दुर्गानन्द साहलाई अपहरण गरी त्यही ठाउँका २९ वर्षीय चुडामणी ठाकुर र २१ वर्षीय रामबाबु गुप्ता साहले हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत सप्तरीले सर्वस्वसहित जन्मकैदको अन्तिम फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले ठाकुर र साहलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गर्नुका साथै फिरौती रकम असुल गर्न प्रयोग भएको मोबाइलको सिमकार्ड प्रकृया नपुर्याई बिक्री गर्ने एक व्यापारीलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
अदालतका अनुसार सप्तरीको बोदेबर्साइन नगरपालिका ५ देउरी घर भई राजविराज नगरपालिका ८ कञ्चनरुप रोडान मनिषा कम्युनिकेसन सञ्चालन गरी बसेका २४ वर्षीय कपिलदेव दासले कागजी प्रकृया नपुर्याई ठाकुरलाई सिमकार्ड बिक्री गरेका थिए ।
बालक दुर्गानन्दलाई ०७३ मङ्सिर ११ गते राति छिमेकी ठाकुरले अपहरण पश्चात् हत्या गरेपछि ०७३ मङ्सिर १६ गते ९८१६७१११६१ नम्बरबाट म्यासेज पठाएर बालकका आमासँग पाँच लाख फिरौती मागेका थिए ।
बालकका बुबा वृद्ध र सुस्त मनस्थितिका रहेको तथा दाजु वैदेशिक रोजगारमा कतारमा रहेकोले सहजै फिरौती रकम असुल हुने अपेक्षाबमोजिम ठाकुरले योजनाबद्ध अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानपश्चात पक्राउ परेकाहरुले बालकको हत्या गरी बोरामा बाँधेर छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी ट्याङ्कीमा फालेको बताएपछि हत्याको १९ औं दिन सडेगलेको अवस्थामा बालकको शव फेला परेको थियो । हत्या गरी अर्का छिमेकी पन्नालाललाई फसाउन उनको शौचालयको सेफ्टी ट्याङ्कीमा अभियुक्तले फालेका थिए । शवको फरेन्सिक परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ०७३ पुस १ गते पोस्टमार्टम गरिएको थियो ।
हत्याका आरोपीलाई प्रहरीले ०७३ मङ्सिर २९ गते पक्राउ गरेकोमा जिल्ला अदालतले ठाकुर र साहलाई पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । दासलाई भने अदालतले २५ हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
March 1, 2019 10:32 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी