छोरासँगै आमा कक्षा ८ मा
– प्रेम रौले
मार्तडी। हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको भइन्। बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन।निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ। गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्छिन्। अनि खाना खाएर विद्यालय जान्छिन्। अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोडेकी छन्।
विद्यालयको बेग्लै पोशाक भएपनि उनी भने धोती र चोली लगाएर जान्छिन्। निमकला गाउँको ठुलाकोट आधारभूत माध्यमिक विद्यालयमा छोरा सन्तोषसँगै कक्षा आठमा पढ्छिन्। पढ्दापढ्दै उमेर नपुग्दै बाबुआमाले विवाह गरिदिएको निमकलाको भनाइ थियो। माइतीघरमा पढ्न नपाएकाले छोरा पाएपछि पढ्ने सोच आएर विद्यालय भर्ना भएको उउनले बताइन्। पढ्ने रहर छ भनेपछि जेठो छोरासँग विद्यालय भर्ना गरिदिएको श्रीमान् सिउमलले बताए।
हिमाली गाउँपालिकाको कोटगाउँका ७० परिवारमध्ये अहिलेसम्म एकजना महिला पनि आठ कक्षा पास भएका छैनन्। निमकलाले भनिन्, “गाउँमै पहिलो एसएलसी पास गर्ने इच्छाले म विद्यालय भर्ना भएकी हुँ ।” माइतीगाउँको बिच्छँयामा माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेको उनले बताइन्। विवाह गरेर आएपछि उनको पढाइ बीचैमा छुट्यो।रासस
उनी भन्छिन्, “पहिला यहाँ प्राथमिक तहसम्म मात्र विद्यालय रहेको थियो। अहिले गाउँमै कक्षा ८ सम्म पढाइ हुने भएपछि पढ्ने रहर जाग्यो ।” निमकला कोटगाउँकी महिला स्वयंसेविकासमेत हुन् उनका तीन सन्तान छन्। जेठो छोरा ८, छोरी सुनकली ६ र कान्छो छोरा धनराज कक्षा ४ मा उक्त विद्यालयमा अध्यनरत छन्।
निमकलाका श्रीमान् सिउमलले भने, “उनको पढ्ने रहर थियो, गाउँमै निमावि तहको विद्यालय पनि भएन्, बच्चा भएकाले पढ्न पाएकी थिइनन्”, आफूले पनि पढ्नका लागि सहयोग गरेपछि छोराछोरीसँगै विद्यालय जाने गरेको उनले सुनाए। विद्यालयका प्रधानाध्यापक माधवप्रसाद अवस्थीले निमकलाको पढ्ने इच्छा भएकाले विद्यालयमा भर्ना गरिएको बताए। हिमाली गाँउपालिका–२ कोटगाउँ सदरमुकाम मार्तडीबाट चार दिनको दूरीमा रहेको छ। कोटगाउँका तीन पुरुषले मात्र एसएलसी पास गरेका छन्।
उक्त गाउँमा स्थानीय युवा प्रायः सबै बेरोजगार छन्। गाउँमा कुनै समस्या आउँदा पैसा कमाउन भारतमा जाने गर्छन्। गाँउमा कक्षा ८ सम्म पढाइ हुने भए पनि माध्यमिक विद्यालय जान एक दिनको दूरीमा रहेको बिच्छँया मावि जानुपर्ने बाध्यता छ। उक्त गाउँका विद्यार्थी उच्च शिक्षा पढ्न दुई दिन लाग्ने गरेको कोल्टीमा जान्छन्।
March 2, 2019 1:58 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी