Saturday 14th March 2026

बारामा फेरि हुरीको बितण्डा : घरका छाना उडे, एसईई परीक्षा प्रभावित

7 years अगाडी

२६ चैत, बारा । २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ । असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् । हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।

हुरीले एसईई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ । सिमरा क्षेत्रका सुपरिटेन्डेन्ट शंकर आचार्यले भने, ‘आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको छ।’

यसअघि बाराको फेटा गाउँपालिकालगायत स्थानमा हावाहुरी जाँदा २७ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ । त्यहाँको अवस्थाबारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

          April 9, 2019 10:34 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...