बिहीबारसम्मै वर्षा, पूर्वी र मध्य तराईमा हुरीबतास : मौसमविद्
२६ चैत, काठमाडौं । एक सातादेखि देशका अधिकांश भूभागमा जारी वर्षा अझै केही दिन यथावत रहने भएको छ । पूर्वी तथा मध्य तराईमा भने आँधीहुरी चल्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
यसअघि महाशाखाका मौसमविदले सोमबारबाट मौसममा क्रमिक सुधार आउने बताएका थिए । तर, महाशाखाले मंगलबार ३ दिने बुलेटिन सार्वजनिक गर्दै देशका अधिकांश भागमा वर्षा तथा हावाहुरी चल्ने प्रक्षेपण गरेको छ ।
मौसमविद मञ्जु बासीले भनिन्, ‘छिटोछिटो मौसमी प्रणाली विकसित भइरहेको छ । फेरि नयाँ प्रणालीले अहिले पानी पारिरहेको छ ।’मौसमविद मञ्जुका अनुसार मंगलबार पश्चिममा पोखरादेखि पूर्वमा ताप्लेजुङसम्म अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । र, त्यो क्षेत्रको अधिकांश स्थानमा वर्षा पनि भइरहेको छ । पोखरादेखि पश्चिमको पहाडी भूभागमा आंशिक बदली छ भने तराई भूभागमा मौसम सफा रहेको उनले बताइन् ।
काठमाडौं उपत्यकामा अझै केही घण्टा पानी पर्ने छ । तर दिउँसोपख पानी पर्न रोकिए पनि बदलीको अवस्था भने रहिरहने अनुमान छ ।अहिले प्रिमनसुन सक्रिय छ । मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ । अघिल्लो वर्षसँग तुलना गर्दा यस वर्ष प्रिमनसुन असामान्य तरिकाले सक्रिय छ ।
गत वर्ष अप्रिल महिनाभर काठमाडौंको एयरपोर्ट केन्द्रमा १३८ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागको रेकर्ड छ । यस वर्ष अप्रिल १ देखि ९ तारिकसम्म आउँदा २० मिलिमिटर पानी परेको छ । यस्तै अवस्था जारी रहे सामान्यभन्दा बढी वर्षा हुनसक्ने विभागको अनुमान छ । मौसमविद बासीले भनिन्, ‘हिजोआजको मौसमी प्रणालीहरुलाई हेर्दा यस वर्ष प्रिमनसुन सिजनमा सामान्यभन्दा बढी नै पानी पर्ने देखिन्छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मंगलबार हिमाली भेगमा हिमपातको समेत सम्भावना छ । बुधबार बिहान भने वर्षाको सम्भावना नरहेको मौमसी बुलेटिनमा उल्लेख छ । यद्यपि, अपराह्नपछि भने मेघ गर्जनसहित हल्का वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेको छ ।बिहीबार पनि देशका पूर्वी र मध्य भाग वर्षाकै चपेटामा रहनेछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार यी स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना छ ।
April 9, 2019 10:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध