मध्य बर्खा झल्काउने ‘प्रिमनसुन’
काठमाण्डौ – सामान्यतया चैत, वैशाखमा उखरमाउलो गर्मी हुन्छ । नेपालको सन्दर्भमा तराई क्षेत्रमा बाहिर निस्कँदा खलखली पसिना आउँछ । पहाडी भूभागमा पनि चैत, वैशाख महिनामा चर्को घाम लाग्छ ।
तर यो वर्ष चैत, वैशाख महिनामै बर्खा लागेजस्तो भएको छ । मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मे महिनालाई मनसुन पूर्वार्द्ध अर्थात् प्रिमनसुनका रुपमा बुझ्ने गर्छन् । मौसमविद्हरुका अनुसार क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जँदै हल्का र क्षणिक वर्षा हुने ‘प्रिमनसुन’ को लक्षण हो । तर अहिलेको मौसमी गतिविधिलाई हेर्दा मध्य बर्खा जस्तै लाग्छ ।
बिहानै आकाश कालो निलो हुन्छ । बेला बेलामा पानी पर्छ । केहीबेर रोकिएजस्तो भए पनि केहीबेरमा नै बदली भैरहन्छ । राति पनि वर्षा भैरहन्छ । वैशाख लाग्दासमेत चिसो घटेको छैन । गएका वर्षहरुमा चैत महिनामा नै थन्क्याइने ज्याकेट काठमाण्डौका बासिन्दाले वैशाख लाग्दा पनि लगाएर हिँडिरहेका छन् ।
हिउँदमा पानी पर्नुको कारण मौसविदले दिने जवाफ हो – पश्चिमी वायुको प्रभाव ।
सामान्यतया नेपालमा हिउँदका बेला भूमध्यसागरबाट भारतको जम्मु कश्मीर हुँदै नेपालमा वायु प्रवेश गर्छ । यही वायुले हिमालमा हिमपात गराउँछ भने पहाडी भूभागमा सामान्य वर्षा गराउँछ ।
मध्य फागुनपछि भने विस्तारै यो प्रणाली निष्क्रिय हुँदै जान्छ, त्यसपछि मनसुन प्रवेश गर्नुअघि स्थानीय वायुको प्रभावले वर्षा गराउँछ । फागुन महिनाको मध्यबाट बिस्तारै तापक्रम बढ्दै जाने हुनाले अपरान्हसम्म वायुमण्डलको तल्लो सतहको हावा बेस्सरी तात्छ र माथि जान्छ । त्यसले छिट्टै बादल विकास हुन्छ । साँझपख हावा हुरी र असिनासहित पानी पर्छ ।
तर यो वर्ष प्रिमनसुनी समयमा यस प्रकारले वर्षा भैरहेको छैन । बिहान, दिउँसो बेलुका र राति पनि पानी परिरहेको छ । यो वर्ष पहिलो पटक पुस २३ गते काठमाण्डौमा हिउँदे वर्षा भएको थियो । त्यसपछि लगातार रुपमा भित्रिएको पश्चिमी वायुका कारण हरेक साता पानी परिरह्यो । यो क्रम वैशाख लाग्दा पनि रोकिएको छैन ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मंगलबारदेखि फेरि मौसममा बदलीको सम्भावना छ । पश्चिमी वायुको प्रभावले केही दिन मौसममा सुधार नआउने महाशाखाले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु सक्रिय हुँदा लामो समयदेखि नै मौसममा सुधार नआएको महाशाखाका मौसमविद बताउँछन् । यसपाली प्रिमनसुन छिट्टै सक्रिय भएकाले पनि मौसममा बदली भैरहेको मौसमविदहरुको तर्क छ । प्रिमनसुनी समयमा पश्चिमी वायु स्थानीय वायुको प्रभावका आधारका सक्रिय र निष्क्रिय हुन्छ । यो वर्ष पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय हुँदा यसको प्रभाव बढेको मौसमविद बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार यो वर्ष सोमबारको काठमाण्डौको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ ।
गएको वर्ष अप्रिल १५ (वैशाख २) मा काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, सन् २०१७ मा अप्रिल १५ (वैशाख २) मा काठमाण्डौको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस नै मापन गरिएको थियो भने न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
हिजोआज प्रिमनसुन सक्रिय भएर पानी परिरहेको र धेरै वर्षा भएको जस्तो लागे पनि गएको मार्च महिनामा वर्षाको मात्रा औसत रहेको मौसमविदको दाबी छ ।
प्रिमनसुनको सुरुवाती महिना मार्चमा काठमाण्डौमा औसत ३४ मिलिमिटर वर्षा हुन्छ । यो वर्ष ४७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै अघिल्लो वर्ष मार्च महिनामा औसतभन्दा कम २७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले भन्नुभयो ‘अहिलेसम्मको तथ्यांकलाई हेर्दा यो वर्ष अप्रिल महिनामा भने औसतभन्दा केही बढी वर्षा हुने सम्भावना बलियो छ ।’ सामान्यतया अप्रिल महिनामा काठमाण्डौमा ६१ मिलिमिटर वर्षा हुन्छ । महाशाखाको तथ्यांक अनुसार मंगलबारसम्ममा ३८ दशमलव ४० मिलिमिटर वर्षा भैसकेको छ ।
April 16, 2019 11:16 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध