Monday 25th November 2024

के बौद्धधर्मीले बुर्का लगाएर श्रीलङ्कामा गराएका थिए बम बिस्फोट ? यस्तो छ वास्तविकता

6 years अगाडी

सोसल मिडियामा श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटसँग जोडिएर एउटा पुरानो भिडियो निकै भ्रामक दाबीका साथ सेयर गरिँदै छ ।करिब ३० सेकेन्डको यो भाइरल भिडियोमा बुर्का लगाएका एक व्यक्ति देखिएका छन् जसलाई पुलिसले पक्राउ गरेर सोधपुछ गरिरहेको देख्न सकिन्छ ।

यो भिडियो श्रीलङ्काको हो भन्ने दाबी गरिएको छ र यसको सम्बन्ध त्यहाँ भएको श्रृङ्खलाबद्ध बम बिस्फोटसँग भएको बताइँदै छ जसले सोसल मिडियामा यो भिडियो सार्वजनिक गरेका छन्, उनीहरुको दाबी छ, ‘मुस्लिम महिलाको पहिरन लगाएका यी बौद्धधर्मीलाई श्रीलङ्का पुलिसले पक्राउ गरेको छ । यी व्यक्ति श्रीलङ्काको चर्चमा बिस्फोट गर्नेहरुमध्ये एक हुन् ।’

पछिल्लो ४८ घण्टामा यो दाबीसहित यो भिडियो हज्जारौंले फेसबुकमा पोष्ट गरिसकेका छन् । यो भिडियो ट्वीटरमा पनि सयौंले सेयर गरिसकेका छन् ।२१ अप्रिल २०१९ मा श्रीलङ्काका विभिन्न शहरमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बढेर ३५९ पुगिसकेको छ भने ५ सय बढी घाइते भएका छन् ।

तथाकथित चरमपन्थी संगठन इस्लामिक स्टेटले आफ्नो मिडिया पोर्टलमा ‘अमाक’ मा यी हमलाको जिम्मेवारी स्विकार गरेको छ । तर यसको पुष्टि अहिले नै गर्न सकिँदैन किनभने साधारणतया इस्लामिक स्टेट हमलालगत्तै हमलाकर्ताको तस्बिर प्रकाशित गरेर यस्ता हमलाको जिम्मेवारी लिने गर्दछ । यस्तै, श्रीलङ्का सरकारले एक स्थानीय जेहादी गुट ‘नेशनल तौहीद जमात’ को नाम लिएको छ तर अधिकारीले बम बिस्फोट कुनै अन्तरराष्ट्रिय नेटवर्कको मद्दतले गराएको बताएको छ ।

ताजा रिपोर्ट अनुसार अहिलेसमम ३८ जनालाई हिरासतमा लिइएको छ । यीमध्ये २६ लाई सिआइडीले, तीनजनालाई चरमपन्थ विरोधी समूहले र ९ लाई श्रीलङ्काको पुलिसले पक्राउ गरेको छ ।पछिल्ला केही वर्षदेखि श्रीलङ्काका बहुसंख्यक सिंहली समुदाय र मुसलमानबीच साम्प्रदायिक तनाव रहँदै आएको छ ।

गत वर्ष मार्चमा सिंहला बौद्धधर्मीको भीडले दिगाना शहरमा मुसलमानका १५० बढी पसल, घर र मस्जिद जलाएका थिए जसपछि देशमा संकटकालको घोषणा गर्नुपरेको थियो ।धेरै मानिसहरुले दुई समुदायबीच चलिरहेको यो तनावसँग जोडेर पनि यो भिडियो सेयर गरिरहेका छन् । तर जुन भिडियोलाई श्रीलङ्काको श्रृङ्खलाबद्ध बिस्फोटको मामलामा पक्राउ भएका ‘बौद्ध व्यक्ति’ को भनेर सेयर गरिँदै छ, त्यो भिडियोको यो दुर्घटनासँग कुनै लेनदेन छैन ।

भाइरल भिडियोको वास्तविक कहानीः सोसल मिडियामा भाइरल भइरहेको यो भिडियो श्रीलङ्काको त हो तर यो भिडियोलाई श्रीलङ्काका स्थानीय मिडिया नेटवर्क ‘नेथ न्यूज’ ले बम बिस्फोट हुनु करिब आठ महिनाअघि यूट्युबमा पोष्ट गरेको थियो ।
२९ अगस्ट २०१८ मा पोस्ट गरिएको यो भिडियो ‘नेथ न्यूज’ को युटयुब पेजमा छ ।मिडिया नेटवर्कका अनुसार श्रीलङ्काको राजधानी कोलोम्बोदेखि पश्चिमी प्रान्त राजगिरीमा यी व्यक्तिलाई पुलिसले पक्राउ गरेको थियो ।

नेथ न्यूजको वेबसाइटमा यो भिडियोसँग छापिएको रिपोर्ट अनुसार भिडियोमा देखिएका व्यक्ति रिक्सामा चढेर वेलीकाडा पब्लिक शपिङ कम्प्लेक्ससम्म पुगेका थिए । तर रिक्सा चालकलाई यी व्यक्तिको हाउभाउमा शंका हुँदा उनले पुलिलाई जानकारी दिएर पक्राउ गरिएको थियो ।

यी व्यक्तिमाथि के आरोप लागेको थियो यसबारे नेथ न्यूजको रिपोर्टमा केही पनि भनिएको छैन ।श्रीलङ्काकै एक्सप्रेस न्यूज नामको वेबसाइटले नेथ न्यूजको हवाला दिँदै अगस्ट ३० २०१८ मा यो घटनाको रिपोर्ट सार्वजनिक गरेको थियो । भिडियो गलत सन्दर्भमा भाइरल भएको देखेर नेथ न्यूजले आफ्नो फेसबुक पेजमा यो भिडियोबारे स्पष्टिकरण जारी गरेको छ यसमा लेखिएको छ, ‘ध्यान दिनुहोस् ! यो भिडियो सोसल मिडियामा सर्कुलेट भइरहेको छ । यो भिडियो क्लिप सन् २०१८ मा अगस्ट २९ मा हामीले सार्वजनिक गरेका थियौं ।’

          April 25, 2019 11:33 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...