Saturday 14th March 2026

थपियाे उपमान, बर्दिया भनेपछि ‘बाघ’

7 years अगाडी

राजापुर। बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ। त्यो हो बर्दिया भनेपछि ‘बाघ’। बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए। सफा सुन्दर र रमणीयता मन पराउने पर्यटक नेपालकै चर्चित र विदेशमा समेत ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नुअघि नै निराश महसुस गर्थे।

बर्दियामा लोपोन्मुख पाटेबाघको वृद्धि भएपछि दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन्। “धरैजसो पर्यटक बाघ हेर्नकै लागि आउनुहुन्छ”, भण्डारीले भने, “गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिन्छ।”निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्ने हो भने पनि बाघ संरक्षण नै बर्दियाको प्रमुख उपलब्धि हो। निकञ्ज घुम्न आउनेसँगको प्रवेश शुल्कवापत झण्डै रु डेढ करोड राजश्व सङ्कलन भएको छ। नेपाली पर्यटकबाट रु १३ लाख आठ हजार १३८, सार्क मुलुकका पर्यटकबाट रु ४३ लाख नौ हजार ५२५ तथा विदेशी मुलकका पर्यटकबाट रु ९९ लाख ३७ हजार ४८० रकम राजश्ववापत उठेको छ।

निकुञ्जका टिकट बुकिङ इन्चार्ज रमेश चौधरीका अनुसार प्रवेश शुल्क तथा जङ्गल सफारी, क्याम्पिङ, जङ्गल ड्राइभिङ, अवलोकन, अध्ययन भ्रमण, विद्यालयका बालबालिकाको शैक्षिक भ्रमणवापत चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु तीन करोड एक लाख १० हजार ९४१ राजश्ववापत उठेको छ। नेपाली, विदेशी तथा सार्क मुलुकका गरी करीब २२ हजार पर्यटकले आर्थिक वर्ष २०७५/७६ को वैशाख मसान्तसम्म निकुञ्ज भ्रमण गरेका छन्। पछिल्लो तथ्याङ्कअनुसार बर्दियामा ८७ पाटेबाघ छन्। बर्लिनमा भएको पर्यटन मेलाले बर्दिया राष्ट्रिय निकुञ्जलाई एशियाकै पहिलो प्राकृतिक गन्तव्यको घोषणासमेत गरेको थियो। प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्। रासस

          May 14, 2019 10:16 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...