

मलेसिया जान घरबाट हिँडेका श्रीमानको मृत्युको खबर आयो

इलाम – गएको आइतबार धादिङको आदमघाट नजिकै बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको बससँगै पवित्रा मगरको सपना पनि त्रिशूली नदीमा डुब्छ भन्ने के थाहा र !‘राम्रो काममा लागि मलेसिया जाँदैछु, राम्रोसँग घर सम्हाल्नु’ भनेका श्रीमान् कहिल्यै नफर्कने बाटो लाग्छन् भन्ने कल्पनासमेत थिएन । तर दैवको अघिल्तिर के लाग्थ्यो र ! काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस त्रिशूली नदीमा खस्दा मलेसिया जान त्यही बसमा चढेका पवित्राका श्रीमान् शेखर मगर पनि खस्नुभयो । घटनास्थलमा नै पाँच जनाको ज्यान गयो ।
घटनास्थलमै ज्यान गुमाउनेको सूचीमा पहिलो नम्बरमा नाम थियो, पवित्राका श्रीमान् शेखरको । मलेसिया हिँडेका इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर १ लप्सिबोटेका शेखरको जीवन यात्रा त्यहीँ नै टुङ्गियो ।झापाबाट गाडी चढ्नुअघि शेखरसँग पवित्राको फोनमा कुरा भएको थियो । फोनमा शेखरले भन्नुभएको थियो, ‘मेरो ४ः३० बजे गाडीको टिकट छ, यस वर्ष राम्रो कामका लागि विदेश जाँदैछु, म घरखर्चका लागि पैसा पठाइहाल्छु, बरु कृषि विकास बैंकमा खाता खोल्नु ।’
‘घर राम्रोसँग हेर्नु, बालबच्चाको ख्याल गर्नु भन्नुभएको थियो, म त काठमाण्डौ पुगेर फोन गर्नुहोला भन्ने सोचिरहेको थिएँ, एकैपटक बस दुर्घटना भएको खबर पो आयो,’ पवित्राले आँसु पुछ्दै भन्नुभयो । श्रीमान् चढेको बस त्रिशूलीमा खस्यो भन्ने खबर उहाँले आइतबार बिहान ९ बजेतिर सुन्नुभयो । आफन्तलाई शेखरको बारेमा बुझ्न लगाउनुभयो । सबैले ‘घाइते भएको र उपचार भइरहेको’ खबर दिए ।
कुन अस्पतालमा उपचार भइरहेको होला ? के के भएको होला ? पवित्राको मनमा आँधी चलिरहेको थियो । आफन्तले भने वीर अस्पतालमा उपचार हुँदैछ । उहाँ शुभ खबर सुन्न आतुर हुनुहुन्थ्यो ।तर भोलिपल्ट उज्यालो नहुँदै उहाँको आशाको त्यान्द्रो चुँडियो । श्रीमानलाई जीवितै भेट्ने आश पालेर भगवान पुर्कार्दै बसेकी पवित्राले सोमबार बिहान उज्यालो नहुँदै घटनास्थलमै मृत्यु भएको खबर सुन्नुभयो ।शेखरको यो मलेसियाको दोस्रो पटकको यात्रा थियो । २०६७ सालमा पहिलो पटक शेखर मलेसिया जानु भएको थियो । त्यसपछि साउदी पनि जानुभएको थियो । जेठ ९ गतेको थियो, उहाँको मलेसियाको उडान । सेक्युरिटीको काममा मलेसिया जान लाग्नुभएका ३८ वर्षीय शेखर र परिवारको सपना त्रिशूली नदीमै डुब्यो ।
बिरामी भतिज लिन गएका विशाल कहिल्यै नफर्कने भए शेखरसँगै यात्रामा रहनु भएका इलाम कन्यामका अर्का एक युवाको पनि त्यही दुर्घटनामा ज्यान गयो । यसअघि हेटौंडामा भएको अर्को दुर्घटनामा घाइते भएका भाइलाई भेट्न र सँगै लिएर आउन काठमाण्डौ हिँडेका विशाल गिरी (कुमार)ले भाइलाई भेट्न पाउनुभएन । दुर्घटनामा घाइते भएका भाइलाई भेट्न जाँदा दुर्घटनामै परेर विशालको ज्यान गयो ।
गएको शनिबार काठमाण्डौबाट जनकपुरको लागि छुटेको ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाण्डौको लागि छुटेको ना ७ ख २०५७ नम्बरको बस हेटौंडामा एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । त्यही परी वैदेशिक रोजगारीका लागि हिँडेका सरोज गिरी घाइते हुनु भएको थियो । दुर्घटनामा परी घाइते भएका भाइ सरोजलाई लिन गएका सूर्योदय नगरपालिका ७ कन्याम पाल्टागेका ३० वर्षका विशालको मृत्युले गिरीको परिवार विक्षिप्त अवस्थामा छ । विशाल मलेसियाबाट दुई महिनाको छुट्टिमा आउनु भएको थियो ।
May 22, 2019 1:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

