

भारतीय पर्यटकले भरिभराउ नेपालगन्जका होटल, विमानस्थल व्यस्त

काशीराम शर्मा,काठमाडौँ । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन्। नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन्। होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको सङ्ख्या बढ्दै गएको काफ्ले बताउँछन् । “पर्यटकको सङ्ख्या बढेसँगै यहाँ होटल तथा अन्य व्यवसाय फष्टाएको छ”, उनले भने ।
मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले रु एक लाखभन्दा बढी खर्च गर्ने गरेका छन् । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यासँगै स्तरीय होटलसमेत बढेका छन्। हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्री बढ्न सक्ने देखिन्छ । पाँच महीनासम्म चल्ने मानसरोवर यात्रामा जानेको सङ्ख्या बढ्दै गएको छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।
नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजालगायत होटल सञ्चालनमा छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम खालका होटल भरिभराउ छन् । नेपालगञ्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक नेपालगञ्ज आउने गरेका छन्।
गत वर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेको तथ्याङ्क छ । यस वर्ष यो सङ्ख्या बढेर करीब २५ हजार पुग्ने अनुमान गरिएको छ । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गहुँदै काठमाडौँ र त्यहाँबाट नेपालगञ्ज आउने गरेका छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगञ्ज नाकाबाट समेत पर्यटक भित्रिने गरेका छन् । होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल मानसरोवरका यात्रुले होटल भरिभराउ रहेको बताए । अधिकांश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गरेको उनले बताए ।
नेपालगञ्ज र काठमाडौँबाट मानसरोवर जानका लागि पर्यटकले रु पाँच लाखदेखि रु सात लाखसम्म खर्च गर्ने गरेका छन् । विभिन्न ट्राभल एजेन्सीमार्फत आएका पर्यटक नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै जाने गरेका छन् । मानसरोवर जाने पर्यटकले तीन सातासम्मको प्याकेज मिलाउने गरेको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउँछन् ।
नेपालगञ्ज विमानस्थल व्यस्त : तीर्थयात्रीका कारण नेपालगञ्ज विमानस्थल व्यस्त बनेको छ । मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याइ छ।तीर्थयात्री ओसार्नकै लागि नेपालगञ्ज विमानस्थलमा ताराका दुई, सीताका दुई, सिम्रिकका दुई र नेपाल वायुसेवा निगमको एक जहाजले दैनिक २० उडान भर्ने गरेको छ। सिमकोट विमानस्थलमा सिम्रिक, डाइनेस्टी, फिस्टेल, माउन्टेन एयरका हेलिकप्टरले हिल्सासम्मको उडान भर्दै आएका छन्। नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक करीब ४०० सम्म भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट पुग्ने गरेका छन् । “भारतीय तीर्थयात्रीको चाप बढेको छ। यात्रुको चापका कारण नेपालगञ्जमा जहाज थप्ने तयारीमा छौँ”, उनले भने । “मौसम तथा आवश्यकताअनुसार उडान हुँदै आएको छ”, उनले भने।
June 22, 2019 12:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

