Thursday 7th August 2025

पर्वतारोहण सङ्घको अत्याधुनिक भवन तयार

6 years अगाडी

काठमाडौं। पर्वतारोहणसम्बन्धी व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङघ (एनएमए) को आफ्नै भवन तयार भएको छ। विगत तीन वर्षदेखि मासिक एक लाख ३५ हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको सङ्घले नयाँ केन्द्रीय सचिवालयको अत्याधुनिक भवन बनाएको हो।

आगामी साउनदेखि नयाँ भवनमा कार्यालय हुने संस्थाका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले जानकारी दिए। सङ्घले पुरानो भवन रहेको १४ आना जग्गामा सरकारी मापदण्ड अनुरुप सुविधा सम्पन्न भवन बनाएको छ। मूल्य अभिवृद्धि करसहित आठ करोड ८१ लाख १६ हजार लागतमा बनेको साढे पाँचतले भवनको भुँईतला र पहिलो तला व्यावसायिक प्रयोजनमा दिइने प्रमुख प्रशासकीय अधिकृत सिन्दुराकारको भनाइ छ।

बैठक हल, लाइब्रेरी, पर्वतारोहण प्रशिक्षक हल, सम्मेलन कक्ष रहने भवन अहिले बनिरहेका समकालीन भवनमध्येको उत्कृष्ट भवन बनेको सङ्घले दाबी गरेको छ। आर्थिक रुपमा सबल बनाउने उद्देश्यले भवनका केही तला भाडामा दिन लागिएको जनाइएको छ। पिक व्यवस्थापनमा केही कटौती भएपछि सङ्घले आत्मनिर्भरताका लागि पनि व्यावसायिक प्रयोजनमा भाडामा दिन लागेको जनाएको छ।

अहिले पिकको रोयल्टी ४५ प्रतिशत मात्र खर्च गर्न पाउने प्रावधान छ। सङ्घको पोखरा सचिवालय पनि आफ्नै भवनमा छ। काठमाडौँमा १२ र पोखरामा २२ जना कर्मचारी छन्। सङ्घले पाँच हजार ८०० मिटरदेखि छ हजार ५०० मिटरसम्मका २७ वटा चुली ‘पिक’ व्यवस्थापन गर्दै आएको छ। थप पिक व्यवस्थापनका लागि पनि पहल गरिएको संस्थाले जनाएको छ।

पिकको रोयल्टी बापतको रकम पर्वतारोहणसम्बन्धी जनशक्ति उत्पादन, गन्तब्य प्रवद्र्धन लगायतमा काम गर्दै आएको छ। पर्वतारोहणसम्बन्धी आधारभूत र विकसित तालीम सञ्चालन गर्दै आएको छ। सन् १९९७ देखि तालीम शुरु गरेको सङ्घले हालसम्म विभिन्न तालीम गरेर दुई हजार ३०० हाराहारीमा जनशक्ति उत्पादन भइसकेको जनाएको छ।

‘माउन्टेनरिङ’ सम्बन्धी बेसिक र एड्भान्स कोर्ष, अन्तर्राष्ट्रियस्तरको ‘माउण्टेन गाइड’, ‘माउन्टेन लिडर कोर्ष’, ‘रक क्लाइम्बिङ’, ‘रेस्क्यू’लगायतका तालीम सञ्चालन गर्दै आएको छ। पर्वतीय वातावरणको संरक्षण, स्थानीय विकास, पदयात्राको मर्मत तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग भाइचारा वृद्धिका काम पनि गर्दै आएको सङ्घले जनाएको छ।

          June 22, 2019 2:17 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...