

सीप सिकेर जाँदा वैदेशिक रोजगारी अविस्मरणीय रह्यो

धनराज सापकोटा/रत्नगर, चितवन । अहिले म ३२ वर्ष भएँ । म सन् २००८ मा यूएई गएको थिएँ । त्यहाँ सात वर्ष काम गरेर फर्किएँ । र फेरि २०१५ मा कतार गएँ । कतारमा ३ वर्ष काम गरेर म नेपाल फर्किएँ । मैले मेरो जीवनका १० वर्ष परदेशी भूमीमा बिताएँ । धेरैको परदेश बसाइको अनुभव नरमाइलो हुने गर्छ । तर मेरो भने फरक भयो । दुई देशको बसाइ अविस्मरणीय भयो । १२ कक्षा पढ्दा पढ्दै हो म यूएई गएको । १९ वर्ष लागेको थिएँ । घरमा त्यस्तै त हो विभिन्न समस्या थियो । मनमा लाग्यो अब मैले कमाउन पर्छ । तर विदेश जाने भनेर यसै गएर हुँदैन । काम गर्न त हातमा केही सीप हुन पर्यो नि भन्ने लाग्यो ।
त्यसैले मैले नारायणघाटमै नेशनल कलेज अफ टेक्नोलिजीमा तीन महिना ईलेक्ट्रिसियनको सीप सिकेँ । हातमा सीप भएपछि ढुक्क हुनेरहेछ । यूएईबाटै अन्तर्वार्ता लिन आएका थिए । मैले ढुक्कका साथ अन्तर्वार्ता दिएँ । पास पनि भएँ । कम्पनीले हुन्छ भनेपछि मात्र म विदेश गएको थिएँ । सीप सिकेर गएकाले पनि हो कि मैले त्यहाँ पुगेपछि सम्झौता अनुसार नै काम र तलब पाएँ । ‘भर्जर एट डेल्पोरेट’ कम्पनीमा ७ वर्ष काम गरेँ । बन्दै गरेका घरहरुमा ‘वायरिङ’को काम गर्नुपथ्र्यो । तीन वर्ष काम गरिसकेपछि मेरो प्रमोशन भयो । कम्पनीले मलाई ‘चार्ज ईन ह्याण्ड’ अर्थात सुपरभाइजर बनायो । त्यसपछि ३० जना कामदारको ‘ग्रुप लिडर’ भएर मैले काम गर्नुपथ्र्यो । ग्रुपमा बंगाली, पाकिस्तानीदेखि भारतीयहरु थिए । सबैले मैले भनेको मान्थे । काम गर्न खुब रमाइलो हुन्थ्यो ।
मैले आफ्नो टिममा काम गर्नेहलाई काम लगाउन जानेको थिएँ । कहिले चिसो खान दिन्थेँ, कहिले खाजा खुवाउँथे । ‘चार्ज इन ह्याण्ड’ भइसकेपछि हातभन्दा पनि दिमाग चलाउन पर्थ्याे । पोस्ट बढेसँगै मेरो तलब पनि २ सय दिर्हाम बढ्यो । त्यसपछि पनि फेरि एक पटक बढाएर मेरो तलब १३ सय दिर्हाम पुगेको थियो । सात वर्षको यूएई बसाइमा मैले लगभग १५/१६ लाख रुपैयाँ जति कमाएको थिएँ । त्यहिबेला चितवनको सौराहामा पनि १२ धुरजति जग्गा किनेँ । योबीचमा म तीन पटक नेपाल आएको थिएँ ।यूएईमा राम्रो काम हुँदाहुँदै पनि कतारबाट राम्रो अफर आएकाले म फर्किएर कतार गएको हुँ । कामदार माग गरिएको इण्डीयन टाटा ग्रुपको कम्पनी ‘भोल्टाज’को लागि रहेछ । कम्पनीबाटै अन्तर्वार्ताको लागि मानिसहरु यूएर्ई आएका थिए । अन्तर्वार्ता दिएपछि म पास भएँ । आफू काम गरिरहेको कम्पनीमा राजीनमा दिएर म कतार लागेँ ।
जे होस तीन वर्ष मात्र बसेर पनि कतारको बसाई अविस्मरणीय भयो । त्यहाँ पनि सुपरभाइजरको काम थियो । कम्पनीले बल्बदेखि एलईडी उत्पादन गथ्र्यो । कमाइ पनि राम्रै हुन्थ्यो । महिनाको एक डेढ लाख रुपैयाँ हुन्थ्यो । त्यतैको कमाइले नै मैले दुई तले पक्की घर बनाएँ । बिहे गरेँ । तीन वर्ष कतारमा काम गरेर सन् २०१८ सालको सुरुसुरुमा म बिहे गर्न नेपाल आएको थिएँ । बिहे गरेर कतार गएको एघार दिनपछि फेरि नेपालमै फर्किनुपर्यो । कतारले ६ वटा कम्पनीलाई नाकाबन्दी गरेपछि त्यसैको चपेटामा मैले काम गर्ने कम्पनी पनि परेको थियो ।मैले काम गर्दै आएको ‘भोल्टाजको प्रोजेक्ट’ पनि सकियो । त्यसपछि धेरै मानिस नचाहिने भयो भनेपछि कम्पनीले तपाईंहरु जानुस् भनेर हामीहरुलाई पठाएको थियो ।
त्यही कम्पनीमा हामी डेढसय जति साथीहरु थियौँ, कम्पनीले काम नभएपछि सबैलाई पठाइदियो । कोही आफ्नो घरतिर फर्के कोही अन्तै काम गर्न थाले । म पनि घर फर्किएँ । नत्र म अहिले पनि उतै हुन्थेंं होला ।मलाई अन्तै कम्पनीमा काम गर्न जाने मन लागेन । विदेशमा काम गर्न थालेको पनि लामो समय भइसकेको थियो । मेरो लागि त लामो छुट्टी मिलेको जस्तो भयो । घर गएर आफ्नै देशमा केही गरौँ न भन्ने लाग्यो । त्यसपछि म नेपाल फर्किएँ । अहिले नेपाल आएको दुई वर्ष हुन थाल्यो । गाउँघरमा ‘वायरिङ’को काम गरिरहेको छुँ । यता पनि काम भ्याइनभ्याइ नै छ । महिनाको ३५/४० हजार रुपैयाँ त सजिलै कमाउँछु । श्रीमती बोर्डिङ स्कुलमा पढाउँछिन् । छोरी ९ महिनाकी भइन् । हामी एकदमै खुशी छौं । अब सौराहमै ठूलो बिजुली पसल खोल्न मन छ । दुईचार जनालाई रोजगारी पनि दिन पाए हुन्थ्यो भन्ने लागेको छ ।
July 3, 2019 5:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

कार्बन व्यापारका लागि स्पष्ट नीतिगत व्यवस्था गरिने

