Monday 21st July 2025

कुन उमेरमा बिबाह, कुन उमेरमा बच्चा जन्माउनु ठिक ?

6 years अगाडी

झापा । नेपालमा सरकारले बाल विवाहमाथि रोक लगाएको भए पनि पुर्ण रुपमा रोकिने अवस्था देखिएको छैन । नेपालमा अहिले पनि विभिन्न कारणले गर्दा बाल विवाह गर्नेहरुको ठुलो जमात रहेको छ । नेपालमा कानुनले महिलाको विवाहयोग्य उमेर १८ वर्ष तोकेको छ तर अहिले पनि तराई तथा गाउँघरतिर १५–१६ वर्षमै विवाह गरिदिने चलन रहेको छ । अहिले पनि कतिपय ठाउँमा बालविवाह कायम रहनुमा पुरातन मान्यता, चेतनाको कमी, गरिबी, परम्परा, धर्म–संस्कृतिजस्ता कारणलाई दोषि मानिएको छ ।

अझै पनि महिनावारीको सुरुवातलाई विवाह योग्य उमेर मान्ने मानसिकता कतिपय आमाबुवामा छ । जब कि यो उमेरमा महिलाको शारीरिक विकास तथा अन्य कुरामा परिपक्वता आइसकेको हुँदैन । कम उमेरमा विवाह गर्दा अपरिपक्वताले समस्या निम्त्याउँछ । घरपरिवारले विवाह भएको १–२ वर्षमै सन्तानको चाहना गरेका हुन्छन् । यसले गर्दा विवाह भएको १–२ वर्षमा सन्तान भएनन् भने आइभीएफ (टेस्टट्युब) मा जाने प्रवृत्ति शहरमा बढ्दै गएको छ । छिटो विवाह गर्दा शारीरिक बनावटमा असर पर्छ । कतिपयले महिनावारी समयमै हुन्छ तर गर्भ रहेन भनेर पनि गुनासो गर्छन् ।

महिनावारी ठीक हुँदैमा हरेक महिना अण्ड निस्कन्छ भन्ने हुँदैन । यसले गर्दा गर्भाधान हुन सक्दैन । आमा बन्न महिला आफै शारीरिक तथा मानसिक रूपमा तयार हुनुपर्छ । गर्भावस्थामा शरीरमा आउने परिवर्तनका बारेमा कुनै जानकारी नहुँदा अप्ठ्यारो सिर्जना हुनसक्छ ।यो अवस्थामा पनि केही सामान्य तथा असामान्य जटिलता देखा पर्छन् । यतिबेला खान मन नलाग्ने, अल्छी लाग्ने आदि समस्या आउँछन् । जुन कुरा कम उमेरमै गर्भवती भएका महिलाले बुझेका हुँदैनन् । यस्ता कुरामा ध्यान नदिँदा, खानपान तथा मानसिक रूपमा उथलपुथल भए गर्भमा रहेको शिशुमा असर पर्ने जानकारहरु बताउँछन् ।

अहिले धेरैजना करिअर तथा अध्ययन केन्द्रित भएकाले ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजननमा भने असर पुग्नसक्छ । ३५ वर्षभन्दा ढिलो सन्तान जन्माउन चाहने महिलामा बच्चा बस्न गाह्रो हुने तथा बच्चा बसे पनि आमा तथा गर्भस्थ शिशु दुवैको स्वास्थ्य जोखिम धेरै हुन्छ ।यस्ता महिलाले जन्माउने शिशुमा डाउन सिन्ड्रोम देखापर्न सक्छ । पेटमा शिशु हुर्कने सम्भावना पनि कम हुन्छ । ढिलो विवाह गर्ने महिलाको पनि प्रि–म्याचोर डेलिभरी (समय नपुगी डेलिभरी) हुनसक्छ वा शिशु स्वस्थ हुँदैन । ढिलो सन्तान जन्माउँदा नर्मल डेलिभरी हुने सम्भावना कम हुनुका साथै गर्भ तुहिने सम्म हुनसक्छ ।

अर्को तर्फ स्वस्थ शिशुको जन्म नहुने सम्भावना पनि उत्तिकै हन्छ । गर्भावस्थामा मधुमेह तथा रक्तचाप देखापर्न सक्छ । कतिपय अवस्थामा आमाले बच्चा जन्माउन नसकेर मृत्युसम्म भएका खबरहरु पनि आइरहेका हुन्छन् । हामीले समस्या र चुनौतीका विषयमा चर्चा गर्यौ अब सन्तानका लागि उपयुक्त उमेरका बारेमा चर्चा गरौं ।२० देखि ३० वर्षको उमेरमा सन्तान जन्माउनु उपयुक्त हुन्छ । दम्पतीले यही उमेरमा सन्तानको योजना बनाउँनुपर्छ । २० देखि ३० वर्षका महिलाको तुलनामा छिटो विवाह गरेका महिलाको गर्भावस्था तथा प्रसवका बेला आउने जटिलताका कारण मृत्यु हुने सम्भावना धेरै हुन्छ । उनीहरूले जन्माएका शिशु मृत जन्मने वा जन्मिएको केही समयमा मृत्यु हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

हरेक दम्पतीले परिपक्व भएपछि मात्र सन्तानको प्लानिङ गर्नु बुद्धिमानी हुन्छ । तयारी गरेको तीन–चार महिनादेखि फोलिक एसिड सेवन गर्नुपर्छ । गर्भवती हुनुअघि प्रि–प्रिग्नेन्सी स्क्रिनिङ गराउनु उपयुक्त हुन्छ । रगतको हेमाटोलोजी जाँच, दिसा–पिसाब, भिटामिन डी लेबल तथा अल्ट्रासाउन्ड गराउनुपर्छ ।यसैगरी अहिले धेरै महिलामा थाइराइडको समस्या हुन्छ भने कतिपयलाई मधुमेह पनि हुन्छ । यसको जाँच पनि गराउनुपर्छ । चिकित्सकको सल्लाहबमोजिम थाइराइड तथा मधुमेह भएका महिलाहरूले औषधि सेवन गरी गर्भ हुर्काउन सहज हुन्छ । गर्भावस्थाको सुरु तथा अन्तिमको तीन महिना भने विशेष सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ । गर्भावस्थामा थाक्ने गरी कुनै काम गर्नुहुँदैन । गह्रौं भारी उचाल्नुहुँदैन । लामो यात्रा गर्नु हुँदैन । गर्भावस्थाका दौरान पौष्टिक आहार खानुपर्छ । यतिबेलामा महिलालाई परिवारका सदस्यहरूले पनि अन्य बेलाको भन्दा धेरै सहयोग गर्नुपर्छ ।

          July 5, 2019 11:14 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...