

नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

काठमाडौं– पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ। आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्। नागरिक दैनिकमा खबर छ
मलेसियालि विदेशमन्त्री साइफुद्दीनले बंगलादेशी कामदारका लागि गतवर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्ट महिना भित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उदृतगर्दै बंगलादेशका संचार माध्यमले भनेका छन्- ‘विदेशी कामदार आपूर्ति गर्ने विषयमा प्रधनमन्त्री महाथिरले नै एउटा प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। मलाई लाग्छ त्यहि नेतृत्वले कामदार आपूर्तिको विषयमा भविष्यमा थप निर्णय गर्नेछ। बंगलादेशकालागि एउटा नयाँ अवसर खुल्दैछ।’
बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक-पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो।
मलेसियाले बंगलादेश खोलेको खण्डमा त्यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ। ‘मलेसियाले बंगलादेशी कामदार लिन सुरु गर्यो भने नेपालीले पाउँदै आएको कोटा काटिने निश्चित छ। त्यसको प्रत्यक्ष असर नेपालीले पाउँदै आएको रोजगारीमा मात्र नभइ समग्र अर्थतन्त्रमा पर्छ’ एक रोजगार व्यवसायीले भने-‘त्यो भन्दा पहिला नेपालबाट कामदार जाने प्रक्रिया सुरु गर्न आवस्यक छ।’
श्रम सम्झौता भएको ८ महिना बित्दा समेत कामदार जाने प्रक्रिया सुरु नहुँदा त्यसले दुई देशको कुटनीतिक सम्बन्धमै असर पर्ने भन्दै सरकारलाई यथासक्य छिटो निर्णय लिन सुझाउँछन् वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ। ‘हाम्रो अडानले वर्षौ सम्म हुन नसकेको श्रम सम्झौता त भयो। तर हाम्रै अडानका कारण नेपालीले पाउँदै आएको रोजगारी नखोसियोस। धेरै कुरा श्रम सम्झौता अघि नै टुंगिनु पर्थ्यो तर थोरै काम गरेर धेरै कुराको जिम्मा हामीले सम्झौतापछि बन्ने प्राविधिक समितिलाई जिम्मा दियौं। दुई देशका प्राविधिक बसेर टुंग्याइसकेको कुरालाई लिएर बिबाद गर्नु राम्रो होइन। अब त्यो बिबादको फाइदा अरु देशले नलिउन। त्यसमा नेपाल सरकार समयमै सजग बन्नुपर्छ। एउटा निर्णय गरेर कामदार जाने बाटो खोल्नु नै अहिलेलाई सबैको हित हुन्छ’ गुरुङले भने।
बंगलादेशबाट कामदार लिने सबै प्रक्रिया नखुलाइएको भए पनि मलेसियाले अन्य देशबाट कामदार आपूर्ति गर्दा अपनाएको प्रक्रिया नै बंगलादेशमा पनि अपनाउने बुझिएको छ। अर्थात नेपाली कामदार आपूर्ति गर्दा विगतमा अपनाइएको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणकै माध्यमबाट कामदार आपूर्ति हुनेछन्। २०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रिया तथा स्वास्थ्य परीक्षण गर्दै आएका संस्था एकतर्फी रुपमा खारेज गरे सँगै नेपालीका लागि मलेसिया रोजगारी बन्द छ। नेपालले एकतर्फी रुपमा बन्द गरेको मलेसिया रोजगारी खुलाउन २०७५ कार्तिक १२ गते दुई देशबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।
नेपालीपक्ष नयाँ प्रक्रियाबाट कामदार लिनुपर्छ भन्ने अडानमा छ भने मलेसियाले विगतको प्रक्रियामा कुनै फेरवदल नहुने प्रस्ट पारिसकेको छ। दुई देशबीच भएको श्रम सम्झौतामा कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने भएपछि प्रक्रियाले कुनै असर नगर्ने मलेसियाली अधिकारीले बताउँदै आएका छन्। मलेसियाले विगतको भिसा प्रक्रिया परिवर्तन नगर्ने निश्चित देखिएपछि नेपालीपक्ष अहिलेलाई मलेसियाले लागु गरेको भिसा प्रक्रियालाई स्वीकार्न करिव-करिव राजि भएको श्रम मन्त्रालय स्रोतले बतायो। तर विगतमा स्वास्थ्य परीक्षण गर्दै आएका संस्थाको संख्यामा वृद्धि हुनुपर्ने अडानमा श्रम मन्त्रालय टसमस नभएपछि स्वास्थ्य संस्था सुचिकृत हुने मापदण्ड पठाएको थियो। त्यहि मापदण्डकै आधारमा श्रम मन्त्रालयले ९९ सयवटा स्वास्थ्य संस्थालाई सुचिकृत गरेर तिनको नामावाली मलेसिया पठाएको छ। तर मलेसियाले भने स्वास्थ्य संस्था थप्ने/नथप्ने कुनै जवाफ पठाईसकेको छैन।
July 9, 2019 5:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

