Saturday 27th April 2024

मिस्टर आरजे : बैदेशिक रोजगारीमा ठक्कर खाएपछि र्‍यापको स्वाद फेर्ने ठिटो !

5 years अगाडी

मिस्टर आर जेको इन्ट्री भएसी डान्स फ्लोर सब खाली छोड्देउ

नाच्नेहरु सँगै नाचौँ ननाच्नेले ताली ठोक्देउ

आफ्नै मनको मालिक म दुनियाँको किन सुनुँ

डीजे यही म्यूजिक बजा, जबसम्म म चेञ्ज नभनुँ ।

काठमाडौं। सफल भएरमात्रै जीवनका असफलतासँग बदला लिन सकिन्छ। सफल त्यसलाई मानिन्छ जसले कयौँ असफल प्रयासपछि पनि आफूले तोकेको उद्देश्य पूरा गर्न सक्छ। जसले र्याप गीत सुन्छ र्याप गीतलाई मन पराउँछ उसका लागि यी सफल व्यक्तित्व परिचित छन्।यो कथा चर्चित सफल र्‍यापर मिस्टर आर जे उपनामले परिचित राजेन्द्र भट्टको हो। बाल्यकालदेखि नै गीत संगीतमा रुची राख्ने राजेन्द्र भट्ट अर्थात् मिस्टर आर जे पछिल्लो समयका निकै चर्चामा रहेका र्‍यापर हुन्।

छोटो समयमा नै र्याप संगीतमा चर्चा बटुल्न सफल भट्टको चर्चासँगै व्यस्तता पनि चुलिएको छ। बाल्यवस्थादेखि नै संगीतमा रुची भएको बताउने भट्टले आफूले यो सफलता प्राप्त गर्छु भनेर सायदै सोचेका थिए। निरन्तरता र लगनशीलताकै कारण उनी अहिले चर्चामा छन्। र्‍याप संगीतको दुनियामा पृथक पहिचान बनाउन उनले नेपाली लोक गीतमासमेत र्‍याप मिसाएर नयाँ ट्रेन्ड भित्र्याएका छन्। चलनचल्तीमा रहेको र्यापभन्दा फरक शैली अपनाएका कारण उनी आफूलाई दर्शक तथा स्रोताले मन पराएको तर्क गर्छन्।

फेरिएको परिचय र सांगीतिक यात्रा

कञ्चनपुर जिल्लाको एक सामान्य परिवार। बुवा केशवदत्त र आमा लीलादेवि भट्टका कान्छो छोरा हुन् राजेन्द्र। बाल्यकालदेखि गायनमा रुची। राजेन्द्र एक आम पृष्ठभूमिबाट उदाएका हुन्।‘मैले ७ महिनासम्म खाडी मुलुक जाने भनेर भिषा लगाउने प्रयास गरें, तर लागेन। कतै भिषा रिजेक्ट भो कतै लागेर पनि पैसामा कुरा नमिलेर म गइँन।’ उनी भन्छन्, ‘भिषा लागेर पैसामा कुरा नमिल्दा दुई वर्षसम्म मेरो पासपोर्ट नै जफत भएर बस्यो।’

घर नजिकैको विद्यालय जमुना प्राविबाट प्राथमिक तहको शिक्षा पछि माध्यमिक र उच्च तहको शिक्षाका लागि उनी दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस पुगे। पढाइमा अब्बल भए पनि अतिरिक्त कृयाकलापमा उनको रुची थिएन। थियो त एउटै रुची, त्यो हो गायन।

पहिलो पटक साथीहरुले थाहै नदिइ विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी गराएको क्षण सम्झँदै उनी भन्छन्, ‘विद्यालयको वार्षिकोत्सव मनाउने तयारी भैरहेको थियो। हामी सिनियर भएकाले सबै जिम्मेवारी हामीलाई दिइएको थियो। त्यसै कारण कोही नाच्ने, कोही गाउने, कोही कविता भन्ने सबैलाई एकएक जिम्मेवारी दिइयो।

त्यति बेला मेरा तीनजना मिल्ने साथीहरु थिए। त्यसमध्ये एकजनाले मलाइ थाहै नदिई मेरो नाम टिपाइदिएछ। त्यही बेलामा पहिलो पटक स्टेज चढेर कविता भनेको थिएँ। त्यसपछि पनि मैले त्यस्ता कार्यक्रमहरुमा सहभागी भने भइनँ।’

गीत गुनगुनाउने, शब्दहरु कोर्दै जाँदा गीत संगीतमा रुची बढ्दै गयो। संगीतको रुचीका कारण यसमा लाग्न सजिलो हुन्छ भनेर उनले रेडियोमा काम गर्ने सोच बनाए। ती पुराना दिन सम्झिँदै भट्ट भन्छन्, ‘त्यतिबेलासम्म सामाजिक सञ्जाल फेसबुक पनि लोकप्रिय बन्दै गएको थियो।

फेसबुकमा मैले स्टाटस लेख्दा गजल, कविता नै लेख्थेँ।’ उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियो नागरिकबाट उनको स्वर बाहिरियो। रेडियोका आरजेको परिचय पछि उनको करियर बनेर उभारिएला भन्ने उनले अनुमान गरेकै थिएनन्। उनको औपचारिक सांगीतिक यात्रा विसं २०६७ सालबाट सुरु भयो।

उनले सन्तोष नाम गरेका साथीसँग मिलेर एउटा एल्बम निकाले। त्यो नै उनको पहिलो एल्बम थियो। तर त्यो एल्बम बजारमा आएन। पछि उनले गृहजिल्लाबाटै शब्द तथा संगीत गरेर स्वरका लागि गीतहरु काठमाडौं पठाउन थाले। उनले गृहजिल्लाबाटै ३/४ गीतमा शब्द तथा संगीत गरिसकेका थिए।

विदेश यात्रा असफल भएपछि र्‍यापमा सफल

सुरुका दिनमा गीत गाउने भन्दा शब्द र संगीत गर्थे उनी। तर त्यसबाट मात्रै उनी सन्तुष्ट थिएनन्। उनी सम्झन्छन्, ‘संगीतबाट खासै कमाई हुँदैनथ्यो। कहिलेकाहीँ त लाग्थ्यो संगीत चट्टै छोड्दिउँ।’ उनले त्यो कोशिश नगरेका पनि होइनन्। तर लत नै लागेपछि कसको के लाग्छ र! स्नातकसम्मको अध्ययन सकेर विदेश जाने मनसायले काठमाडौं प्रवेश गरे।

भट्ट सम्झिन्छन्, ‘मैले ७ महिनासम्म खाडी मुलुक जाने भनेर भिषा लगाउने प्रयास गरें, तर लागेन। कतै भिषा रिजेक्ट भो कतै लागेर पनि पैसामा कुरा नमिलेर म गइँन।’ उनी भन्छन्, ‘भिषा लागेर पैसामा कुरा नमिल्दा दुई वर्षसम्म मेरो पासपोर्ट नै जफत भएर बस्यो।’ उनले सुनाए, ‘त्यो बीचमा पनि संगीतको काम भने जारी नै राखें।’

डर पछिको जित

उनको पहिलो र्‍याप हो ‘चक्काजाम’। पहिलो गीत बजारमा आउँदा उनी डराएका थिए। उनी भन्छन्, ‘फरक शैलीको र्‍याप थियो, दर्शकले रुचाउँछन् या नाइ भन्ने साह्रै डर थियो।’ उनी अगाडि सम्झिन्छन्, ‘गीत त गरियो तर त्यसको भिडियो बनाउने हिम्मत भएन। अहिले पनि मेरो पहिलो र्‍याप गरेको गीतको स्टुडियो मेकिङ मात्रै छ।’ बजेट अभावकै कारण भिडियो बनाउन नसकेको उनी बताउँछन्।

यस्तो र्‍याप भएन, र्‍याप पनि कँही बुझिनेगरि गाउने हो? र्याप भनेको त अंग्रेजी टोनमा हुनुपर्छ, नबुझिने हुनुपर्छ, नाच्ने खालको र्‍याप हुँदैन भनेर कुनै अग्रजले हटाइदिएको नमिठो अनुभव उनले सुनाए।

भन्छन् ‘एक त बजेट भएन, बजेट कतैबाट जुट्थ्यो पनि होला तर यस्तो किसिमको र्‍याप मन नपराएर गाली पो गर्छन् की भन्ने डर त्यो भन्दा ठूलो थियो।’ उनले सुनाए, ‘गाली खाएपनि पैसा तीरेर किन गाली खाने भनेर भिडियो बनाउन आँट आएन।’ ३/४ गीतमा र्‍याप गरेको र त्यहाँबाट आएको प्रतिकृया भट्ट सम्झन्छन्।

यस्तो र्‍याप भएन, र्‍याप पनि कँही बुझिनेगरि गाउने हो? र्याप भनेको त अंग्रेजी टोनमा हुनुपर्छ, नबुझिने हुनुपर्छ, नाच्ने खालको र्‍याप हुँदैन भनेर कुनै अग्रजले हटाइदिएको नमिठो अनुभव उनले सुनाए। पछि उनले ‘नाँच माया’ बोलको गीतमा स्वर दिए।

भन्छन्– ‘यो नै मेरो जीवनमा परिवर्तन ल्याउने गीत हो। यो गीत बजारमा आइसकेपछि अहिलेसम्म त्यसकै सफलताले यहाँसम्म डोर्याएको छ।’ भट्टले अहिलेसम्म झण्डै १ सय ५० गीतमा शब्द र संगीत गरेका छन् भने झण्डै सय गीतमा स्वर दिएका छन्।

          August 1, 2019 12:43 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...