

सङ्खुवासभा अस्पतालमा विशेषज्ञ सेवा सुरु, बाहिर ‘रेफर’ हुने बिरामीकाे सङ्ख्या घट्याे

सङ्खुवासभा – केही दिन अगाडि निमोनियाबाट सिकिस्त हुनुभएकी सङ्खुवासभाको चिचिला गाउँपालिका २ दिदिङकी सरस्वती राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा नयाँ जीवन पाएझैँ भयाे । १५ वर्षीया सरस्वती निमाेनियाका कारण जीवन र मरणको दोसाँधमा हुनुहुन्थ्यो । जिल्ला अस्पताल सङ्खुवासभामा आठ दिन आईसीयू (सघन उपचार कक्ष) र भेन्टिलेटरमा राखेर उपचार गरेपछि उहाँले नयाँ जीवन पाउनुभएको हो । उहाँकाे उपचार बाल रोग विशेषज्ञ डा. दीपेन्द्र राईको नेतृत्वकाे टाेलीले गरेकाे हाे ।
त्यसैगरी हात भाँचिएर हाडजोर्नीको समस्याबाट पीडित सभापोखरी गाउँपालिका ६ का ११ वर्षीय सिद्धार्थ विश्वकर्माले जिल्ला अस्पताल सङ्खुवासभामा नै उपचार पाएपछि राहत महसुस गर्नुभयो । जिल्ला अस्पताल सङ्खुवासभामा पहिलो पटक कसैकाे हाडजोर्नीको शल्यक्रिया गरिएको हो ।
यी माथिका दुई घटना प्रतिनिधि मात्रै हुन् । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको जिल्ला अस्पतालमा पहिलो पटक आईसीयू, भेन्टिलेटर, हाडजोर्नीलगायतका नौ वटा विशेषज्ञ सेवा थप भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । जिल्लामा नै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आएपछि सरस्वतीकाे र हाडजोर्नी सेवा सुरु भएपछि विश्वकर्माले सेवा लिनुभएको हो । अहिले जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा डा. भीम लामाले हेर्दै आउनुभएको छ भने हाडजोर्नी विशेषज्ञ डा. गौरव भण्डारी, जनरल फिजिसियन स्मृति आचार्य र बाल रोग विशेषज्ञ डा. दीपेन्द्र राईले ओपीडीबाहेकको समय १ देखि ५ बजेसम्म विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सेवासमेत दिँदै आइरहनुभएको छ । जिल्ला अस्पताल सङ्खुवासभाका प्रशासन प्रमुख दिपेश श्रेष्ठले सरकारी अस्पतालाई गरिबको अस्पताल र नमुना अस्पताल बनाउन लागिपरेको बताउनुभयो । जिल्ला अस्पताल सङ्खुवासभामा पहिलो पटक विशेषज्ञ सेवासहितको सघन उपचार सेवा सुरु भएपछि स्थानीयवासीले धेरै पैसा खर्चेर अन्यत्रै जानुपर्ने बाध्यता हट्दै गएकाे प्रशासन प्रमुख श्रेष्ठको भनाइ छ ।
त्यस्तै अस्पतालमा प्रयोगशालामा कल्चर सेवा सुरु भएसँगै रगत र पिसाब जाँच गरेर किटाणु पत्ता लगाएर प्रभावकारी औषधि प्रयोग गरी निको बनाउन सजिलो हुने अस्पताल व्यवस्थापनकाे भनाइ छ ।वि.सं.२०३३ सालमा स्थापना भएको सङ्खुवासभा जिल्ला अस्पताल १५ बेडको थियो । अहिले स्तरोन्नति गरी ५० बेडको अस्पताल बनाइएको छ । अस्पतालको भौतिक संचरना निर्माणाधीन अवस्थामा रहेकाले पुरानै भवनमा सेवा सञ्चालन भइरहेको छ ।
अस्पतालमा भौतिक परिवर्तन मात्रै भन्दा पनि विशेषज्ञसहित गुणस्तरीय सेवा दिन आफूहरू लागिपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । उहाँले आईसीयू, भेन्टिलेटर सेवा, एनआईसीयू, सिकिस्त बिरामीहरूका लागि ‘हाई डिपेन्डेन्सी युनिट’ (एचडीयू सेवा), हाडजोर्नी शल्यक्रिया सेवा सुरु भएपछि धेरै जटिल प्रकारका बिरामीहरूले सेवा पाएको महसुस गरेको बताउनुभयो । अहिले जिल्ला अस्पतालबाट बाहिर रेफर हुने सङ्ख्यासमेत कम भएको अध्यक्ष शाक्यको भनाइ छ ।
कुनिना सार्वजनिक शैक्षिक गुठीद्वारा विशेषज्ञ चिकित्सकलाई मासिक तीन लाख रुपैयाँ र अरुण तेस्रो जलविद्युत् परियोजनाबाट भेन्टिलेटरलगायतका विशेषज्ञ चिकित्सक सेवा सञ्चालनका लागि उपकरण सहयोग भएपछि विभिन्न सेवा दिन सम्भव भएको अस्पताल प्रशासनको भनाइ छ ।
अहिले अक्सिजन प्लान्ट निर्माणपछि यही अक्सिजन उत्पादन सुरु गर्न थालिएको छ । गरिब तथा असहाय बिरामीका लागि सामाजिक सेवा इकाइका साथै स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गरी नमुना सरकारी अस्पताल बनाउने प्रयास भइरहेको अध्यक्ष शाक्यको भनाइ छ ।
जिल्ला अस्पताल सङ्खुवासभा (खाँदबारी) मा सरकारी र अन्य साझेदार संस्थाको पहलमा विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरिएको र दिगो व्यवस्थापनका लागि विशेष योजना बनाएर नागरिकलाई राहत महसुस गराउन पहल भइरहेको अस्पतालले जनाएकाे छ ।
अहिले जिल्ला अस्पतालमा बिरामीकाे चाप पनि बढेकाे छ । सङ्खुवासभाको दुर्गम किमाथाङ्कादेखि भोजपुर जिल्लाबाट पनि बिरामी यहाँ आउने गरेका छन् । साभार उज्यालो
November 25, 2021 11:50 pm | समाचार,स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

