कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा
म्याग्दी – कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज साेमवार म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा रहेकाे छ । इलाइट ट्रेकिङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो ।
काठमाण्डाैबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एअरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा आउनुभएको छ । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।
“हाम्रो आरोहण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछाैँ,” पुर्जाले भन्नुभयो “बन्दोबन्दीका सामग्रीहरू हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।”
यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।
नागरिक अभिनन्दन र बाजागाजासहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हाैँ’, उहाँले भन्नुभयो, ‘निर्मल विश्वकै साहसिक युवा हो ।’
दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।
समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ । उज्यालो
March 6, 2023 5:50 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..