

प्रधानमन्त्रीले राष्ट्रिय हितमा केन्द्रित भएर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्नुपर्छ’

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।
यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतवार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग सुझाव लिनुभएको हो । प्रधानमन्त्रीले आफूलाई सबैले राष्ट्रको हितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भारत भ्रमणको बारेमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, दलका नेता, विज्ञहरूको सुझाव लिने क्रम चलिराखेको छ । उहाँहरूले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनुभएको छ ।’
छलफलका क्रममा नेताहरूले भने राष्ट्रिय हितलाई सर्वोपरि ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन बुझेर अघि बढ्नुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले त्यसमा दुई देशबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुने गरी छलफल गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले ईपीजी प्रतिवेदन बुझ्ने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भू–भाग नेपालले उपयोग गर्न पाउने गरी छलफल गर्न पनि पार्टीको तर्फबाट सुझाव दिइएको उहाँकाे भनाइ छ ।
राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ भारतसँग आफ्ना कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको कांग्रेस नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनुभयो । उहाँले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा पनि भारतसँग गम्भीरतापूर्वक छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मसम्मानमा चोट नपुर्याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बताउनुभयो । उहाँले आपसी हितका विषयमा कुरा गरेर विश्वासको वातावरण सृजना गर्न पनि आफूले परामर्श दिएको बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई देशबीचको सीमा विवाद समाधान हुने गरी तथ्यहरूसहित भारतसँग छलफल गर्न आफूले सुझाव दिएको बताउनुभयो । उहाँले विगतमा गरिएका समझदारी कार्यान्वयनको विषयमा पनि छलफलमा जोड दिनुपर्ने बताउनुभयो । उज्यालो
May 29, 2023 12:25 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

