Sunday 13th October 2024

अरूको कुरा सुन्ने, आफ्नो कुरामा अडिग नरहने कारणले पनि सम्बन्ध बिग्रन्छ

1 year अगाडी

महिला आयोगमा घरेलु हिंसा र लैङ्गिक हिंसाका उजुरीहरू धेरै आउँछन् । त्यसभित्र आर्थिक, मानसिक, यौनिक विभिन्न किसिमका उजुरी छन् । महिला हिंसाभन्दा पनि घरेलु हिंसाका उजुरी धेरै आउने गरेका छन् ।

यस्ता घटनामा दाइजो नल्याएको, रक्सी खाएर श्रीमानले श्रीमतीलाई दुःख दिने, घरबाट निकाल्ने तथा बाह्य वैवाहिक सम्बन्धका घटनाहरू धेरै हुने गरेका छन् । तर हामीकहाँ भर्खरै भएको एउटा केसमा भने वैदेशिक रोजगारीमा गएका श्रीमानको श्रीमती परपुरुषसँग लागेको थाहा पाएर श्रीमानले मिलेर बसौँ भन्दा पनि मिल्न नसकेको घटना आयो ।  हामीले दुवैलाई सम्झायौँ । तर केही उपाय नलागेपछि कानुनी बाटो अवलम्बन गर्नका लागि हामीले पठाएका छौँ ।

आयोगमा धेरै आउने अर्को घटना भनेको दाइजोसम्बन्धी हो । त्यसमा पनि विशेषगरी मधेस प्रदेशका घटना धेरै छन् । छोरीलाई बैंक, फाइनान्सबाट पैसा झिकेर दाइजो दिने तर त्यो ऋण तिर्न नपाउँदै अर्को दाइजो माग्ने अनि पढाउँछु भनेर नपढाउने, विदेश लैजान्छु भनेर नलैजाने र दुर्व्यवहार गर्ने गरिएको पाइन्छ । तराई क्षेत्रमा बाबुआमाले भनेको छोराले धेरै मान्ने र श्रीमतीले भनेको नमान्ने गरेको धेरै केसहरू पनि आउँछ आयोगमा । घर निकाला गर्ने केस भने विवाहेतर सम्बन्ध र श्रीमानले धेरै रक्सी खाएर सधैँ झगडा पर्न थालेपछि सुरु हुन्छ । यस्तो अवस्थामा केटाकेटीलाई तनाव हुन्छ । यस्तोमा बाबुले पनि राम्रो नगर्ने, आमाको पनि कमाउने उपाय नहुँदा बच्चाको पढाइ तथा पोषणमा असर पर्न जान्छ । यस्तोमा धेरै परिवारले केटाको भन्दा केटीको दोष देखाउने हुन्छ ।

‘लिभिङ टुगेदर’ को समस्या

यस्तै लिभिङ टुगेदरको समस्या पनि धेरै छ । यस्तोमा केटाको सम्पत्ति छ भने केटाको सकाउने, केटीको छ भने केटीको सकाउने गर्ने गरेको पाइन्छ । लामो समय सँगै बस्ने तर विवाह दर्ता पनि भएको हुँदैन अनि अन्तिममा छुटिने बेलामा मिलाइदिनुपर्यो भनेर आयोगमा आउँछन् । यस्तोमा त हाम्रोमा कानुन पनि छैन । यस कारण कानुनी उपचारमा जाँदा पनि उपचार पाउने अवस्था छैन । यस्तोमा केटाले भन्दा पनि केटीले सम्बन्ध राख्नु अगाडि विवाह दर्ता गर्ने हो कि, बस्ने हो कि होइन भनेर स्पष्ट भए समस्या आउँदैन थियो ।

लिभिङ टुगेदरमा बच्चा जन्मिहाल्यो भने जन्मदर्ता नगरिदिने अर्को समस्या छ । जब बच्चा स्कुल जान्छ, त्यस बेला स्कुलले जन्म दर्ता खोज्छ । त्यस्तै श्रीमती माइतीमा नागरिकता नबनाई आएको रहेछ भने उसको नागरिकता नै नबनाइदिने अवस्था छ । नागरिकता नभएपछि सिम झिक्नदेखि लिएर बैंकमा खाता खोल्नसम्म सक्ने स्थिति हुँदैन । सामान्यतया दैनिक १५/२० वटा यस्ता समस्या आयोगमा आउने गरेका छन् ।

घरेलु हिंसा ऐनले सँगै बसेको जोडी भन्ने शब्द पनि समेटेको छ । शब्दका हिसाबले घरेलु सम्बन्ध भएकाले गरेको हिंसा भने पनि सँगै बसेको जोडीलाई हामी सँगै राखेर छलफल गराउँछौँ । यस्तो केसमा केही यत्तिका वर्ष बसेको बापत क्षतिपूर्ति गरोस् भन्ने पनि हुन्छन् । इमानदार र पैसा भएको मान्छे छ भने जे जति छ दिएर समाधान गर्ने पनि गरेको छ । यसमा केही नभएको, केटीकै खाएर बस्ने कोही मान्छे छ भने उसले ल्याएर दिने कुरा पनि हुँदैन । एकथरी महिला भने अब कुरा नमिल्ने रहेछ भनेर छोडिदिने पनि हुन्छन् । तर कोही महिला छोड्दिनँ भन्ने पनि हुन्छन् । यस्तोमा कानुनले उसले केही कुरा पाउने आधार नै छैन भनेपछि दुःख दिने उपाय चाहिँ हुन्छ ।

विभिन्न माध्यमबाट उजुरी

आयोगको ११४५ नम्बरको हेल्पलाइन सेवामार्फत हिंसा पीडित महिलाले उजुरी गर्न, उजुरी टिपाउन तथा फोनबाट कानुनी सल्लाह लिन सक्छन् । अनलाइन तथा इमेलबाट पनि उजुरी गर्न मिल्छ । पीडित स्वयंले आयोगमा आएर पनि उजुरी गर्न सक्ने व्यवस्था छ ।

कोही भने उजुरी गरिसकेपछि त्यत्तिकै छोडिदिने पनि हुन्छन् । कतिपय अवस्थामा मान्छे विदेशमा छ भने उसलाई झिकाउन तथा ल्याएर छलफल गराउन पनि सकिँदैन । मान्छे यहाँ नभए पनि सम्बन्धविच्छेद गर्नुपर्ने अनि अंश लिनुपर्नेछ भन्ने लागेकाले पनि देशका जुनसुकै ठाउँबाट पनि उजुरी दर्ता गराउन सक्छन् ।

महिलालाई दुःख दिने श्रीमान्, सासू, नन्द, आमाजू जो कोही हुन सक्छन्, उनीहरूलाई ल्याएर दुई पक्षबीच छलफल गराउँछौँ । कोही बलात्कार भएर आएको भए हाम्रो क्षेत्राधिकार नभएका कारण यहाँ यसरी जानुहोस् भनेर आवश्यक सहयोग गर्छौँ । कोही हिंसा सहँदा सहँदा मानसिक रोगी भइसकेको अवस्थामा उनीहरूलाई मनोसामाजिक परामर्श गर्छौँ । मनोसामाजिक परामर्शपछि कानुनी परामर्श दिन्छौँ ।

कानुनी मुद्दामा जादिनँ भन्नेलाई पीडित पक्षलाई ल्याएर छलफल गराउँछौँ । कसैको घरमा बस्ने अवस्था छैन भने हामी सेल्टरको पनि व्यवस्था गर्छौँ  । सकभर हामी तीन÷चार वटा तारिख दिएर छलफल गराएर मिलाउनतिर लाग्छौं । केही भएन भने मात्र हामी कानुनी उपचारका लागि पठाउँछौँ । अत्यावश्यक अवस्थामा हामी निःशुल्क कानुनी सेवा दिन्छौँ तर सक्षम छ भने त्यसो गर्दैनौँ । मान्छे आएर छलफलमा बस्दा उसलाई साँँच्चै निःशुल्क कानुनी सेवा उपलब्ध गराउनुपर्ने भन्ने लागेमा मात्र हामी यस्तो सुविधा दिन्छौँ ।

झगडा त सम्पन्न परिवारमा पनि हुन्छ, त्यस्तो अवस्थामा उनीहरूलाई निःशुल्क कानुनी सेवा दिने भन्ने हुँदैन । हामीले कानुनी सहायता दिएर अदालतमा पठाउने कुरामा ७७ वटै जिल्लाको नेपाल बार एसोसिएशनसँग समन्वय गरेर मुद्दा दायर गर्ने र बहस गर्ने काम हुन्छ । यसका लागि हामीले केही शुल्क पनि दिने गरेका छौँ । काठमाण्डौ उपत्यकाको हकमा हामीले कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) सँग पनि समन्वय गरेका छौँ ।

सेल्टरका लागि हामीले तीन/चार वटा संस्थासँग समन्वय गर्ने गरेका छौँ । पीडितले तालिम लिएर दुई/तीन महिनामा केही गर्न सक्छन् भनेर हामी उनीहरूलाई त्यस्तो संस्थामा पठाउँछौँ । सक्षम मान्छेहरूले भने हाम्रो सहयोग लिन पनि रुचाउँदैनन् । उनीहरू हामीले सेवा दिने भन्दा महँगा र राम्रा वकिल राखेर मुद्दा लड्छन् ।

पुरुषका कुरा पनि सुनिन्छ

सम्झाउने, बुझाउने मान्छे नभएका कारण पनि कतिपय सम्बन्ध बिग्रेको हुनसक्छ । यसमा मध्यस्तता गर्ने र मध्यमार्गी उपाय यसरी अपनाउँदा हुन्छ भनेर सम्झाउँदा पनि मिल्ने हुन्छ । कतिपय मानिसहरू अब महिला आयोगमा आइसक्यो, मेरो पनि इज्जत जान्छ भनेर पनि मिल्ने गरेका छन् । सम्बन्ध नै सुध्रेर सँगै बस्ने भन्ने चाहिँ कम छ । तर यहाँ उजुरी परिसकेपछि पैसा दिने, सम्पत्ति दिने अनि क्षतिपूर्ति दिने काम भने भएको छ । अदालत जाँदा पनि अदालतले अन्तरिम संरक्षणात्मक आदेश दिएर क्षतिपूर्ति भराइदिने हुँदा पनि क्षतिपूर्ति दिन धेरै तयार भएको देखिन्छ ।

विवाहेतर सम्बन्धको कुरा गर्दा महिला आयोग भएका कारण हामी महिलाको मात्र उजुरी लिन्छौँ । तर महिलाको उजुरी लिने भन्दैमा पुरुषको कुरा नकारात्मकरूपमा लिने पनि होइन । पुरुषलाई पनि महिलाले पीडित बनाएको हुनसक्छ । कहिलेकाहीँ महिलाले अन्यायमा परेको भनेर उजुरी लिएर आए पनि महिलाको गल्तीका कारण पुरुषले न्याय पाएको अवस्था पनि छ । पुरुष हुँदैमा शतप्रतिशत गल्ती हुन्छ भन्ने हुँदैन । उजुरी महिलाले दिए पनि हामी पुरुषको कुरा पनि सुन्छौँ । पुरुषले न्याय पाएका पनि धेरै उदाहरण छन् । महिला आयोग भन्दैमा पुरुषले आफ्नो कुरा राख्नै जान नपाइने, नसक्ने भन्ने होइन ।

सामाजिक सञ्जाल अनि एकै ठाउँमा बसेर मान्छेको घरव्यवहार नचल्ने भएर बाहिर गएर काम गर्न परेपछि विवाहेतर सम्बन्ध बढेको छ । वैदेशिक रोजगारी अनि यहीँ पनि फरक प्रकृतिको कामले समस्या बढेको छ । घरमै बस्दा एकआपसमा नबोलिकन पानी, चियाका लागि म्यासेज पठाउनेसम्मका सामाजिक सञ्जालका दुरुपयोगले पनि यस्तो समस्या बढाउने गरेको छ । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा पनि यस्ता खालका सम्बन्ध बढ्दै गएका हुन् ।

घरेलु हिंसाका उजुरी धेरै

गएको पाँच/छ वर्षको कुरा गर्दा महिला हिंसा, घरेलु हिंसा बढेको भन्दा पनि उस्तै अनुपातमा देखिन्छ । लकडाउनको बेला भने घरेलु हिंसा धेरै भयो भन्ने खालका उजुरी परेको थियो । काम नभएर घर बसेपछि झगडा धेरै हुने रहेछ । हामीकहाँ वर्षकाे १२/१४ सय जति उजुरी आउँछन् ।

अहिले सामाजिक सञ्जालमा पीडितले न्याय पाएको र पीडकले सजाय पाएको पनि धेरै घटना बाहिर आएका हुन्छन् । तर यति भएर सबै थाहा हुँदाहुँदै पनि मान्छेलाई आफूलाई नपरि थाहा हुँदैन भने जस्तै भएको छ । यस्ता घटना धेरै बाहिर आइसक्दा पनि चेतना किन नआएको भन्ने कुरामा हामी पनि सोचिरहेका हुन्छौँ ।

आयोगमा आउनेमा उच्च तहका मानिस कम छन् । मध्यमभन्दा पनि निम्न मध्यम तहका धेरै मानिस आयोगमा उजुरी लिएर आउने गरेको पाइन्छ । यसो हेर्दा जहाँ अभाव त्यहाँ तनाव भने जस्तो देखिन्छ । खान, लाउन नपाउँदा अभावमा झन् धेरै झगडा भएको पाइयो । त्यस्तै दलित र गैरदलितको विवाहको समस्या पनि त्यत्तिकै आउने गरेको छ । घरमा भित्र्याएन, बच्चा जन्मियो अब उचित क्षतिपूर्ति चाहिन्छ भन्ने जस्ता धेरै केस आउने गरेका छन् । हाम्रो अन्तिमसम्मको प्रयास भनेको मिलाउने नै हो । कुनै उपाय लागेन भने मात्र कानुनी प्रक्रियामा पठाउने हो ।

पीडकमाथि पटक–पटक उजुरी परेको भन्ने त्यस्तो छैन । एक जना महिलाले श्रीमान् अर्को केटीसँग लाग्यो भनेर उजुरी गरिन् अनि अर्को केटीलाई पनि झिकाउन आवश्यक पर्‍याे भने झिकाएर कुरा गर्ने चाहिँ हो । परिवार सबैमाथि उजुरी गर्न सक्छ तर एउटै व्यक्तिमाथि पटक–पटक उजुरी परेको भने छैन ।

कोही केटाले मेरो गल्ती थिएन तर त्यत्तिकै केटीले उजुरी गरी भनेर आउँछ भने केटीले पनि खान, लाउन दिएन, बालबच्चा हेरेन भन्ने हुन्छ । अब यस्तोमा केटाले खान, लाउन दिनुपर्छ भने केटीले पनि बालबच्चा हेर्नुपर्ने हुन्छ । केटाले पनि यसो गर्नुको कारण भन्ला । दुवै पक्ष अदालत जालान् तर फैसला नहुँदासम्म त केटीलाई हेरविचार गर्नुपर्ने दायित्व त केटा मान्छेको हो । यस्तोमा मध्यस्तकर्ता भएर अदालतको आदेश नआउँदासम्म यसो गर भन्ने हो । यदि दुवै पक्षको गल्ती पनि छैन तर कुरा पनि मिलिरहेको छैन भने हामी मिलापत्र गराउन सक्छौँ ।

प्रेम विवाहमा घरपरिवार पहिले नै थाहा हुने हुँदा सबै कुरा पूरा गर्छु भनेर विवाह गर्ने तर पछि भने नगर्ने हुनाले बेमेल हुन्छ । मागी विवाहमा कसैले कुनै अपेक्षा गरेको हुन्छ, त्यो पूरा भएन भने सम्बन्ध बिग्रन्छ । यसमा दाइजो वा केटा डाक्टर, इन्जिनियर भनेर विवाह गरेको तर होइन रहेछ भने पनि सम्बन्ध बिग्रन सक्छ । मागी विवाहमा कहिलेकाहीँ उमेरको कारणले पनि समस्या आउन सक्छ । सम्बन्ध बिग्रनुमा विश्वास नहुनु नै सबैभन्दा प्रमुख कुरा हो । अरूको कुरा सुन्ने तथा आफू आफ्नो कुरामा अडिग नरहने कारणले पनि सम्बन्ध बिग्रन्छ ।

सम्बन्ध बनाउन दुवै जिम्मेवार

सम्बन्ध बिग्रन नदिनका लागि पहिले कुरा भनेको श्रीमान्, श्रीमतीले आफूलाई अरूले भन्ने वातावरण नै दिनु भएन । श्रीमानले श्रीमतीलाई हेँला, होचोको भावले हेर्नु हुँदैन । श्रीमती पनि सक्षम छ नभेर आदर सम्मान गर्ने अनि श्रीमतीले पनि श्रीमानप्रति विश्वास गर्ने तथा आफ्नो काम सही ढङ्गले गर्ने हाे भने सम्बन्धमा खटपट आउँदैन । उनीहरूले त्यस्तो व्यवहार गर्दैनन् भने परिवार तथा समाजले खेल्ने मौका पाउँछन् ।

परिवारले पनि श्रीमान्, श्रीमती मिलेसम्म सहयोग गर्छन्, मिलेनन् भने त एउटाको पक्षमा लागेर अर्कोलाई खेदो खन्ने काम गर्छन् । समाज त झन् सधैँ कहाँ ठाउँ पाउँ भनेर बसेको हुन्छ । सम्बन्ध राम्रो बनाउन, सुमधुर बनाउन यसको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने लाग्छ ।

हाम्रो समाजको कुरा गर्दा सबै नराम्रो नै छन् भन्न पनि मिल्दैन । एकअर्कालाई मिलाऔँ, सहयोग गरौँ भन्ने पनि हुन्छन् । बिग्रेको सम्बन्धलाई सुधार गर्ने प्रयत्न गरौँ भन्ने पनि हुन्छन् । एकथरी काम नहुने, बेरोजगार जस्ता मान्छेहरू भने कुरा काट्ने, बिगार्ने हुन्छन् । समाजका राम्रा, नराम्रा दुवै पक्ष बराबरी छन् ।

पहिला एउटा केसका बारेमा उजुरी परे पनि कुरा बुझ्दै जाँदा अरू कुरा भएको पनि थुप्रै उदाहरण छन् । हामीले छलफल गर्दा पहिला पीडितलाई बोल्न दिने अनि उसको कुरा सकिएपछि पीडकलाई आफ्नो सफाइ राख्न दिने गर्छाैँ । त्यसपछि अर्को पक्षलाई आफ्नो भनाइ राख्न दिने गर्छाैँ । सबै पक्षले एकै पटक बोल्न थाल्यो भने त दिनभर जान्छ अनि कहिलेकाहीँ त प्रहरी नै बोलाउन पर्ने पनि हुन्छ । छलफल गर्दै गएपछि समाधान निस्किन्छ ।

यस्ता कुराहरूमा मुख्य कुरा मानिसबाट कहिलेकाहीँ गल्ती भए पनि एक पटक गल्ती भएपछि अब त्यस्तो गल्ती नगर्ने भन्ने स्वीकारोक्ति हुनुपर्‍याे । महिलाहरूले पनि उजुरी लिएर आउने मात्र होइन, आफू पनि सबल र सक्षम छु, पुरुषले हेरेन भने गरी खान सक्छु भन्ने किसिमको आत्मविश्वास हुनुपर्‍याे । सशक्तीकरण, रूपान्तरण र जनचेतना आफैँभित्र जागरण गराउन सके यस्ता समस्या समाधानमा सजिलो हुन्छ । उज्यालो

          June 6, 2023 4:33 pm | विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...