विदेशी चलचित्रकर्मीकाे रोजाइमा नेपाल
काठमाण्डाै – केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खला (सिरिज) को छायाङ्कन हुनेक्रम बढिरहेको छ ।
अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । २०७८ सालमा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत् नेपालको राम्रै चर्चा भयो ।
त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाण्डाैमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाण्डाैदेखि पोखरासम्म छायाङ्कन गर्नुभयो ।
नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताउनुभयो । ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ’, संयोजक रेग्मीले भन्नुभयो ।
उहाँसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन् ।
शुक्रवार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ । व्यवस्थापक आचार्यका अनुसार याे चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ ।
‘मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ । यहाँ बीस दिन छायाङ्कन गर्ने उहाँहरुको योजना छ । यसले नेपालको पर्यटन प्रवर्द्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ’, उहाँले भन्नुभयो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत् नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताउनुभयो । ‘विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ’, पाण्डेले भन्नुभयो ।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायाङ्कन भएका छन् । पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृङ्खला र वृत्तचित्र छायाङ्कन गरिएका छन् । उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन् । उज्यालो
June 10, 2023 10:16 pm | चलचित्र,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन