Tuesday 30th April 2024

उकुसमुकुस गर्मी : बालीनाली सुक्न थाले, घरभित्रै बस्न पनि गाह्रो

11 months अगाडी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–२ दुम्कौलीका किसान बाबुराम कँडेलका मकैमा ठिक्क धानचमरा लाग्ने समय भयो । तर, खान हुने बेलाका मकै गर्मीले मर्ने हुन् कि भन्ने चिन्तामा हुनुहुन्छ कँडेल ।  गर्मीले मकै सुक्न थालिसके ।

उहाँ भन्नुहुन्छ, ‘यसपाली अचम्मै गर्मी भयो । यस्तो गर्मी भएको थाहा छैन ।’ दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगिसकेको छ ।

उहाँले टनेल हालेर काँक्रो खेती पनि गर्नु भएको छ । गर्मीले काँक्राका पात पहेँला भएका छन् । जोगाउनै कठिन भएको छ । खेतीपाती गर्न बारीमा जानै मुश्किल छ । ‘तर, पनि किसान मान्छे बारीमा नगइ कसरी हुन्छ र,’ कँडेल भन्नुहुन्छ, ‘बिहान बेलुका यसो एक/दुई घण्टा भए पनि गएर काम त गर्नैपर्छ ।’

दुई वटा लैनौ भैँसी पनि छन् बारीमा मलका लागि । तर, अहिले ती भैँसीलाई पनि धेरै गर्मी भएर नुहाउन इनारमा कति पानी छ भनेर हेर्नुपर्ने हुन्छ । एउटा भएको इनार त्यसमा पनि दिनमा १५/२० मिनेट पानी आउँछ । अब त्यो पानी बस्तुभाउलाई पुर्‍याउने हो कि तरकारीलाई गर्मीबाट जोगाउने हो कँडेल सोच्न बाध्य हुनुहुन्छ ।

खेतबारीमा काम गर्नका लागि सकभर आफैँ गर्ने आवश्यक पर्दा मान्छे बोलाउने उहाँलाई अहिले गर्मीले मान्छे पाउन पनि मुश्किल छ । ‘पहिलो त अहिले ज्यादै गर्मीले मान्छे आउनै मान्दैैनन् । आए पनि यसो एक/दुई घण्टा काम गरेर भागिहाल्छन्,’ कँडेल भन्नुहुन्छ ।

देवचुली नगरपालिका–२ का वडाध्यक्ष शरदप्रसाद घिमिरेका अनुसार वडाले गर्मीबाट जोगिन जनचेतना जगाउने काम गरेको छ । अरु थप राहतका काम भने केही भएका छैनन् । ‘के गर्ने भन्ने खास जानकारी छैन त्यसैले राहत के दिने, कसरी दिने कस्तो दिने भन्ने ज्ञान नै छैन, के दिनु ?’ उहाँ भन्नुहुन्छ, ‘राहत दिने भन्ने त्यस्तो निर्णय भएको छैन । के कसरी गर्ने भन्ने छलफलमा छौँ ।’

उहाँ आफ्नो जानकारीमा भएसम्म २०३६ सालपछि पहिलो पटक यति गर्मी भएको भन्नुहुन्छ । ‘भारतीय कामदार पनि गर्मी हुँदा उताबाट यता आउने भन्थे अहिले त उनीहरु नै गर्मी भन्छन्,’ उहाँ भन्नुहुन्छ, ‘वडा पनि १०–५ खोले पनि नागरिक नै आउँदैनन् । भित्र बस्न पनि गाह्रो छ ।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–२ दुम्कौलीमा अहिले सबैभन्दा धेरै ४४ डिग्री सेल्सियस रेकर्ड तापक्रम मापन भएको छ । ४० डिग्रीभन्दा माथि तापक्रम रहेको रौतहटको चन्द्रपुरमा पनि गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर संजयकुमार काफ्लेलाई गर्मीका कारण नगरपालिकाका दैनिक कामकाज कसरी गर्ने भन्ने चिन्ता छ । अरु कार्यक्रमलाई केही थाँती राखे पनि नागरिकका नियमित दैनिक कामकाज जसरी पनि गर्नुपर्ने बाध्यता छ । सेवा लिनका लागि नागरिकलाई नगरपालिकामा आउन गाह्रो छ भने कर्मचारी तथा जनप्रतिनिधि पनि कार्यालय पुग्न तथा काम गर्नै गाह्रो छ ।

अहिले रौतहटको तापक्रम ४२/४३ डिग्री सेल्सियस रहेको छ । गर्मी अझै बढ्नसक्ने र तराईमा तत्काल पानी नपर्ने मौसमविद्ले बताएका छन् । यस्तोमा तराई मधेसको जनजीवन एकदमै कष्टकर बनेको छ ।

मेयर काफ्ले भन्नुहुन्छ, ‘गर्मीले जनजीवन एकदमै प्रभावित भएको छ । बाहिर निस्कनसक्ने अवस्था छैन । तापक्रम ४२/४३ डिग्री सेल्सियस छ । ‘लू’ को हावा चलेको छ । मानिसको आवतजावत छैन।’

गर्मीका कारण विद्यालय बन्द छन् । विद्यार्थीको पढाइ भएको छैन । घरमा पनि एकदमै गर्मीको राप आउने कारणले बस्न सक्ने नै अवस्था छैन । सहरोन्मुख नगर भए पनि गर्मीका कारण चन्द्रपुरमा चहलपहल ठप्प छ । व्यापारिक क्रियाकलाप पनि पहिले जति हुन्थ्यो त्यति हुन सकेको छैन ।

मेयर काफ्ले भन्नुहुन्छ, ‘मान्छे हिँड्न सक्ने अवस्था छैन । चहलपहल ठप्प छ । अरु काम पनि बन्द जस्तै छ ।’

गर्मीका कारण नगरका विद्यालय बन्द छन् । पहिले मौसमको अवस्था हेरेर अघिल्लो हप्ता बुधवारसम्मका लागि बन्द गर्ने भनिएका विद्यालय फेरि बन्द हुन पुगेका छन् । विद्यार्थीहरु विद्यालयसम्म पुग्न सक्ने अवस्था नै नभएका कारण विद्यालय बन्द गर्नुपरेको मेयर काफ्ले बताउनुहुन्छ।

गर्मीका कारण बाहिर काम गर्ने वातावरण नभएपछि मजदूरको अवस्था झनै दयनीय भएको छ । यस्तोमा नगरपालिकाले पनि केही सहयोग गर्ने तथा त्यहाँका समाजसेवीले पनि सहयोग गरेकोले कोही भोकै बस्नुपरेको अवस्था भने छैन ।

मेयर काफ्ले भन्नुहुन्छ, ‘लकडाउनको बेलामा पनि कोही भोकै नभएको ठाउँ हो यो । फलानाको घरमा खान छैन भनेपछि मान्छेहरुले सहयोग गर्ने सहयोगी भावना छ । भोकै मनुपर्ने अवस्था छैन ।’

बिहान १० बजेसम्म केही काम भए पनि दिउँसो काम ठप्प छ । तर, गर्मीका कारण बिहान पनि काम लगाउने र काममा जानेको संख्या पनि कम छ । गम्भीर बिरामी नभए पनि टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या भएका बिरामीको चाप भने अस्पतालमा बढेको बताउनुहुन्छ मेयर काफ्ले ।

चन्द्रपुर तीन किसिमको जोखिम भएको नगरपालिका हो । जाडोमा शीत लहर, गर्मीमा ‘लू’ अनि बर्खामा बाढी पहिरो । यसकारण पनि विपद् व्यवस्थापनका लागि नगरपालिकाले एक करोड रुपैयाँको कोष खडा गरेको मेयर काफ्लेले बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘हामीले शीतलहरमा, बर्खामा विपद्को पैसाले लुगाफाटो दिने, टेण्ट दिने, गरेका छौँ । गर्मी यस वर्ष जस्तो अघिल्लो वर्ष नभएकोले खास तयारी भने थिएन । तर, पनि केही पर्‍याे भने सहयोग गर्ने गरीको तयारी भने छ ।’

गर्मीका कारण कसैको ज्यान गएको वा उपचार नपाएको भन्ने अवस्था भने नगरमा छैन । नगरले गर्मीबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा नागरिकलाई जानकारी दिने गरेको छ । अहिले गर्मीका कारण वडा नम्बर दुईमा भने कलहरु सुकेकोले पानीको समस्या रहेको छ । ट्यांकरको पानी त्यति सफा नभएका कारण ट्यांकरबाट पानी भने वितरण नगरिएको बरु पानी आउने धारबाट मिलेर पानी खाइरहेको अवस्था रहेको पनि मेयर काफ्लेले जानकारी दिनुभयो ।

अत्यधिक गर्मीका कारण लामखुट्टेसमेत मरेर अहिले झुल हाल्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । धेरै गर्मीका कारण सर्प पनि बाहिर निस्कन नसक्ने अवस्था भएको हुँदा नगरमा अहिले समस्या पनि देखा परेको छैन ।

संघीय सरकारबाट पनि यस्तो गर्ने भन्ने केही निर्देशन नआएको तथा विपद्का लागि भनेर त्यस्तो सहयोग पनि केही नआएको मेयर काफ्लेले बताउनुभयो ।

सरकारले बाढी, पहिरो तथा डुबान, शीतलहर आदिलाई विपद्का घटना मानेर पीडितलाई सहयोग उपलब्ध गराए पनि गर्मी तथा ‘लू’लाई भने विपद् अन्तर्गत नराखेका कारण कसरी राहत दिने भन्ने बारेमा अलमल रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनु भयो । उज्यालो

          June 11, 2023 3:31 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...