

सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको बताउनुभयाे । यही साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । अहिले सरकारले त्यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । त्यस प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् ।
सुन प्रकरणलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । देश विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताउनुभएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गर्नुभएको छ । उहाँले यस प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।
सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उहाँको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिनुभएको थियो ।
यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । त्यही क्रममा आज पनि बैठक बसेको हो ।
केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । त्यस विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै आउँदाे मङ्सिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको साङ्गठनिक संरचनालाई चुस्त बनाउने समेत तयारी गरिएको छ । उज्यालो
July 31, 2023 3:39 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी

भारतमा रहेका नेपालीलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे

ओमानमा भिसाविहीन श्रमिकलाई आममाफी, तीन महिनाभित्र स्वदेश फर्कनुपर्ने

