Friday 19th July 2024

उबेलाको दशैँ सम्झँदा पनि अहिले त्यसै आनन्द लागेर आउँछ

9 months अगाडी

हाम्रो पालोमा करिब एक महिना अगाडि घर लिप्ने माटो ल्याएपछि दशैँ शुरु हुन्थ्यो । घर लिप्नलाई आमा, दिदीहरुले माटो ल्याउनुहुन्थ्यो । करिब दुई घण्टा ठाडो उकालो गएपछि बल्ल माटो लिने ठाउँ आउँथ्यो । करिब १०/११ वर्षको हुँदा झण्डै दुई मानो जति माटो बोक्दा लडेर ढाडमा चोट लाग्यो । त्यो अहिले पनि दुख्छ कहिलेकाहीँ ।

आठ सालको जन्म हो । त्यस हिसाबले अहिले ७२ वर्षको भएँ । नाम भने विष्णुप्रसाद तिमल्सिना । घर नुवाकोट जिल्ला । पहिलेको कुमरी गाविस । अहिले भने बेलकोटगढी नगरपालिका वडा नम्बर २ । त्यो बेलाको दशैँ सम्झँदा पनि अहिले त्यसै आनन्द लागेर आउँछ । अहिलेका भुरालाई त त्यो हिसाबले दशैँ नै आउँदैन कि जस्तो लाग्छ । अरु कुराले होइन । खान लाउन त हाम्रो पालोको भन्दा मिठो, राम्रो पाएका छन् । तर, फूलपातीका अघिल्लो दिनसम्म स्कुल जानुपर्छ । अनि दशैँको बिदामा पनि टन्न होमवर्क हुन्छ । अनि भुरालाई के को दशैँ आउनु ।

स्कुल भनेर हाम्रो पालोमा अहिलेको जस्तो स्कुल थिएन । स्कुलमा अहिलेको जस्तो पढाइ नभएर जजमानी गर्ने कुरा सिकाउने, पढाउने चलन थियो । हाम्रो पालोमा घटस्थापनाको दिन बिदा हुँदैनथ्यो । त्यसदिन स्कुलमा गएर कसरी जमरा राख्ने भन्ने सिकाउनुहुन्थ्यो गुरुहरुले । त्यसकारण पनि बिदा हुने भन्ने कुरै भएन । घटस्थापनाको भोलिपल्टदेखि पूर्णिमाको भोलिपल्टसम्म बिदा हुन्थ्यो । स्कुल कहिले खोल्ने भनेर कटवालले गाउँको अग्लो डाँडोमा गएर कराउँथ्यो । गुरुले भनेको फलानो दिनदेखि स्कुल लाग्छ फलानो दिनदेखि जानु है भनेर कराउँथ्यो । दुई पटकभन्दा कटुवालले कराउँदैनथ्यो । गहिरोमा भएका कतिपय घरका मान्छेले थाहा नपाउन सक्थो । उनीहरुलाई अरुहरुले भन्दिन्थे स्कुल जान एक/डेढ घण्टा लाग्थ्यो । बर्खामा खोलो आएर स्कुल जानै पनि सकिँदैनथ्यो ।

दशैँका लागि माटो ल्याउँदा आइतवार वा मङ्गलवार पारिन्थ्यो । पराल अथवा छ्वाली छाएको पाली हुन्थ्यो । पाली मुनि पिँढीमा ल्याएर माटो राखिन्थ्यो । रातो माटो मात्र नभएर कमेरो पनि ल्याउने चलन थियो । कमेरोले पिँढीको आधिआधि पोत्ने चलन थियो । अनि पालीको केही माथि कमेरोले पोतेर त्यसमाथि फेरि रातोमाटोले पोत्ने चलन थियो । यति गरेपछि बल्ल दशैँ शुरु हुन्थ्यो । हामीकहाँ पहिले रातोमाटोले मात्र पोत्ने चलन थियो । पछि कमेरोले पनि पोत्न थालेको हो । पहिले चाहिँ कमेरोले पोत्दा पिर्छ भनेर नपोतेको भन्नुहुन्थ्यो बुबाले । पछि त्यो चलन हट्यो । घटस्थापनाको १५ दिन अघि त अनिवार्यरुपले घर पोतेर सकाउनै पर्थ्याे । गाउँमा सबैको घर लगभग १५ दिन अगाडि नै पोतिसकेको हुन्थ्यो ।

हाम्रो घरमा १०/१२ जना मानिस हुन्थे । चिउरा पनि लगभग एक महिना अगाडि नै कुट्ने चलन थियो । चिउरा कुट्न गाउँकै मान्छेलाई दिने चलन थियो । चिउरा कुटेपछि दुई तला माथि बुइगलमा घ्याम्पोमा राख्ने चलन थियो । ताकि केटाकेटी माथिसम्म गएर खान नसकुन । गाली गर्थे, कुट्थे त्यसो हुनाले आँट आउँथेन चोर्ने । तर, यति हुँदा पनि साथीहरुले भने चोरेर ल्याउँथे । हामी भने चिउरा कुट्न दिएको ठाउँमै गएर ढिकीले कुट्दै गरेको लट्टा परेको भुसै सहितको चिउरा खान्थ्यौँ । दशैँको लागि धान पनि एक महिना अगाडि नै कुट्ने चलन थियो । धान भने घरकै ढिकीमा कुट्ने चलन थियो । ढिलो हुने हुँदा रातभर धान कुट्ने गरिन्थ्यो ।

त्यतिबेला झण्डै छ मुरी धान आउँथ्यो होला । तर, अहिले त्यही खेतमा ७० मुरी त धान आउँछ । रोप्न १२/१५ जना लाग्थ्यो । देशी मल हाल्ने चलन थिएन । चलन थिएन भन्दा पनि पाइँदैनथ्यो । आएकै थिएन । गाईवस्तुकै मल मात्र हाल्ने चलन थियो । देशी मल ३०/३२ सालतिर आएको जस्तो लाग्छ । कोही समय धान दशैँ अगाडि नै पाक्थ्यो भने कहिले पछि पाक्थ्यो । दशैँ अगाडि धान काट्ने हुँदा भने कामको चापाचापले काटेर छोडेको धानका बालामात्रै चोरेर पनि लैजान्थे ।

हाम्रोतिर चंगा उडाउने चलन थिएन । हामीले त्यस्तो देखेनौँ । बरु हामीले त उत्तिसको पात, पिपलको पात, चिलाउनेको पात हावाले उडाएको भने देख्यौँ । हामीले दशैँमा नयाँ लुगा हाल्ने भनेको खाडीको कपडाको लुगा हुन्थ्यो । कपडा अलिअलि सेतो हुन्थ्यो । केटा मान्छेहरुले कमिज सुरुवाल लगाउने चलन थियो । टोपी छोड्ने भन्ने नै हुँदैनथ्यो।

एक पटक के भयो भने टाउकोमा टोपी छुट्दैनथ्यो । व्रतबन्ध भइसकेको थियो । टाउकोमा टोपी नै भएको याद नै भएन । धोती लगाए पनि टोपी लगाएर भान्सामा झुक्किएर गइएछ । बुबाले गालामा हानेको झापड अहिले पनि बङ्गारा नै दुखे जस्तो लाग्छ ।

महिलाहरुले कालो रंगको फरिया बनाउन वनमा गएर अमला ल्याएर त्यसको बोक्रा ढिकीमा कुटेर, खँडकुलोमा पकाएर त्यसमा कपडा हालेपछि सबै कालो रंगको हुन्थ्यो । यसरी कपडा रंगाइन्थ्यो । टाँसिएको अमलाको बोक्रा सुकाएपछि झर्थ्याे । कपडा भने कालै रंगको हुन्थ्यो । दिदीहरुलाई फरिया र गुन्यूचोली हाल्दिन्थे ।

१७ वर्षको उमेरमा एक पटक बुबाले दशैँका लागि भनेर ६० रुपैयाँ दिएर किनमेल गर्न काठमाण्डौ असनमा पठाउनुभयो । नुन, तेल लुगाफाटा सबै थिए त्यसमा । तर, त्यो बेलामा १० रुपैयाँ नपुगेको जस्तो लाग्छ अहिले सम्झँदा । पसलेले फलानोको छोरो रहेछ बुबालाई भन्देउ है भनेर लगेको पनि छ । पछि बुबाले आएर त्यो पैसा तिर्नुभयो ।

घरमा १०/११ वटा दुहुनो नटुट्ने हुनाले दशैँकै लागि भनेर घिउ बनाउने भन्ने हुँदैनथ्यो । घिउ सधैँ बनाइन्थ्यो । घिउ बेच्ने चलन पनि थियो । मानाको एक रुपैयाँ थियो घिउको । खाने तेल किन्न पर्यो भने घिउ बेचिन्थ्यो । नत्र घिउकै भुटन हुन्थ्यो । दशैँको लागि यसो चाहिन सक्छ भनेर तेल किन्ने चलन थियो । हामी माछामासु नखाने हुनाले तेलको चलन पनि त्यति थिएन ।

जमरा बुबाले राख्नुहुन्थ्यो । जौ, मकै गहुँ सबै मिसाएर राख्ने चलन थियो । पूजा गर्ने ठाउँमा बालुवा अनि चोखो माटो लगेर जमरा राखिन्थ्यो । फूलपातीको दिनमा नै हामीकहाँ केराको पातमा नौ थुप्रो चामल, चिउरा राखेर पूजा गरिन्थ्यो । एक/एक सुका भेटी राख्ने चलन थियो । कालरात्रिको चलन हामीकहाँ छैन । अष्टमीको दिन नौ वटा हतियारलाई पूजा गर्ने चलन थियो । अष्टमीको दिन अरुकोमा मार हाने पनि हाम्रोमा भने घिरौँलो, कुभिण्डोको मार हान्ने चलन थियो । अरुबेलामा जाने घरमा पनि दशैँमा मासु पकाउन थालेपछि हामी जाँदैनथ्यौँ ।

गाउँमा दशैँमा लिंगे पिङ हाल्ने चलन थियो । घरमै ठूला रुख भएकाले घरमै पनि पिङ हाल्थे । पछि जाँते पिङ हाल्ने चलन पनि आयो । बहिनीलाई जाँते पिङ हाल्देको सम्झना छ ।

टीकाको दिन सबै पूजाआजा गरेपछि टीका लगाउने चलन थियो । अक्षता मुछ्ने, चामल पिनेर चन्दन बनाएर घरको जेठो मान्छेबाट टीका लगाउने चलन थियो । हामीले पहिले बाको हातबाट टीका लगाउँथ्यौँ । अनि ठूलोबाकहाँ टीका लगाउन जान्थ्यौँ । बा पनि हामीलाई टीका लगाइदिइ सकेपछि ठूलोबाकहाँ टीका लगाउन जानुहुन्थ्यो । टीका लगाउन जाँदा बारीकै केरा लिएर जाने चलन थियो । ठूला मान्छेले अलि धेरै र सानाले थोरै लिएर जाने चलन थियो ।

नुवाकोटकै पनीपौवामा हो हाम्रो मामाघर । मामाघर पुग्न झण्डै तीन घण्टा हिँड्नु पर्छ । मामाहरु थिएनन् । हजुरबा र हजुरआमा मात्र हुनुहुन्थ्यो । टीकाको दिन घरमा टीका लगाएपछि गइन्थ्यो मामाघर । खोला तरेर जानुपथ्र्यो । मामाघरमा दूधभात, तरकारी, चिउरा खानदिने चलन थियो । कोही बेलामा भने दिदीहरु पनि जान्थे । तर, टाढा अनि बस्तुभाउलाई घाँस काट्न पर्ने हुनाले बुबाले त्यहाँ दिने पैसा मै दिन्छु घाँस काट भनेर भनेको पनि याद छ । टीका भने पूर्णिमाको दिनसम्मै लगाउने चलन थियो । टीका लगाउन आएका पाहुनालाई बिहान आए खाना खान दिने चलन थियो । तरकारी, दहीदूधको चलन थियो । गाउँघरमा जुवातास खेल्ने चलन थिएन । झण्डै २०/२२ वर्षको हुँदा कतैकतै खेल्छन् भन्ने सुनेको हो ।

अहिले पनि बुबाले जसरी जमरा राख्नुहुन्थ्यो त्यसरी नै राख्ने चलन छ । सिमेन्टको घर भएको हुनाले पोत्ने चलन हरायो । टीका घरको जेठोबाट थापेपछि अरुकोमा जाने चलन छ । यसरी दशैँको पुरानो चलनदेखि नयाँसम्मको अनुभव भएको छ । आखिर कुरो समयकै रहेछ । उज्यालो

          October 21, 2023 5:21 pm | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...