Tuesday 17th March 2026

उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शनी

2 years अगाडी

काठमाण्डौ – वसन्तपुर दरबार क्षेत्रमा आज काठमाण्डौ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी पनि लोभिए ।

उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाण्डौको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एवम् मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो । काठमाण्डौको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए ।

कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताउनुभयो ।

प्रदर्शनीमा राखिएका सृजनामध्ये धेरैजसो बिक्री भएको उहाँले बताउनुभयो । प्रदर्शनीमा राखिएका सृजना कम्तीमा १० हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री भएको उहाँले बताउनुभयो । प्रदर्शनीको केही घण्टामै सृजना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताउनुभयो ।

प्रदर्शनीमा अग्रज कलाकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाउनुभएको थियो । केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्रसमेत उतारेका थिए । धेरैजसो सृजनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो । जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यमको प्रयोग गरी सृजना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको कलाकार डिबी राइले बताउनुभयो ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य, कलाकार एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डङ्गोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सृजना प्रदर्शन गरिएको थियो । उज्यालो

          November 26, 2023 3:14 am | लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...