

१० महिनामै भित्रियो साढे १३ खर्ब रेमिटेन्स

वैदेशिक रोजगारिमा जाने नेपालीको सख्या बढेपछि
विदेशबाट रेमिटेन्स आउने क्रम बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा करिब साढे १३ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
चालु आर्थिक वर्षको वैशाखसम्म विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आवकोे सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। यो वर्षको वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रूपैयाँ विप्रेषण आएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड रूपैयाँ थियो। गत आवसँग तुलना गर्दा पोहोरभन्दा यो वर्षको वैशाखमा करिब ४९ अर्ब रूपैयाँ धेरै रेमिटेन्स आएको छ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई नौ अर्ब ९६ करोड पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या चार लाख पाँच हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार तीन सय १४ जना रहेका छन्।
अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ७३ हजार तीन सय सात र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार तीन सय अन्ठानब्बे रहेको थियो।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था अनुसार अर्थतन्त्रका बाह्य सूचकमा सुधार रहेको छ।
मुलुकमा विदेशी विनिमयको सञ्चिति २५ खर्ब रूपैयाँ बढी पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा चालु आवको वैशाख मसान्तसम्मा विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेको छ। २०८२ वैशाख मसान्तमा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ रहेको थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ। २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ।
चालु आव २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न प¥याप्त रहने देखिएको छ। २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेको छ।
यसैगरी चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ८९ करोडले बचतमा रहेको छ।
त्यसैगरी समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच अर्ब २६ करोड रूपैयाँ रहेको थियो। यसैगरी समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) सात अर्ब पाँच करोड रहेको थियो।
त्यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोड रूपैयाँले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २३ करोडले बचतमा रहेको छ। त्यसैगरी यो अवधिमा निर्यात व्यापारमा उल्लेखनीय सुधार भएको छ। चालु आवको १० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा दुई खर्ब १७ अर्ब ९१ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोशाक, जुस, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ।
महँगी घट्यो
राष्ट्र बैंकका अनुसार महँगी घटेको छ। यो वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो।
यसरी हेर्दा पोहोरभन्दा अहिले महँगी घटेको देखिन्छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ। नागरिक
June 11, 2025 9:05 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

१० महिनामै भित्रियो साढे १३ खर्ब रेमिटेन्स

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

