Wednesday 7th January 2026

चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित

1 day अगाडी

सरकार, दल र निर्वाचन आयोगको निरन्तर सक्रियताले फागुन २१ गतेको चुनावलाई सुनिश्चित गरेको छ । चुनाव होला र भन्ने शंका सकिएका छन् । निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएपछि दलहरू प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू रणनीति बुन्दैछन् । चुनाव लक्षित राजनीतिक ध्रुवीकरण बढेको छ । नयाँ र वैकल्पिक शक्तिहरू एक हुँदैछन् । स्थापित दलहरू चुनावी गठबन्धन निर्माणमा व्यस्त छन् । भदौ २३ र २४ को नवयुवा विद्रोहपछि एक–अर्काबाट टाढिएका शीर्ष नेताको भेटघाट बाक्लिएको छ । सरकार र दलबीचको तिक्तता मेटिएको छ ।

यसअघि पुराना नेताहरूको मुख पनि नहेर्ने अभिव्यक्ति दिएकी प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेपछि साँच्चै नै चुनावको वातावरण बन्न थालेको थियो । चुनावको विरोध गरिरहेका नवयुवाहरूसँग पनि सरकार छलफलमै छ । नवयुवाका धेरै वटा समूह त फागुन २१ को चुनाव सफल बनाउने अभियानमा होमिएर कोही पार्टीमा पसेका छन् भने कोही स्वतन्त्र रूपले मतदाता जागरुक बनाउने काममा सक्रिय छन् ।

सरकार र पार्टीहरूबीचको दुरी घटेपछि नेताहरू चुनावी अभियानमा निस्कने तयारीमा देखिन्छन् । सोमवार मात्रै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । यसअघि नेताहरूले स्थानहद लगाएर चुनावमा जाऊ भन्नु हातखुट्टा बाँधेर दौडिनुजस्तै भएको टिप्पणी गर्दै आएका थिए । चुनावी वातावरण नबिग्रियोस् भनेरै जाँचबुझ आयोगले ओलीलाई सिंहदरबार डाक्नुको साटो निवासमा गएर बयान लियो, त्यो मध्यमार्गले पनि सरकार र दलहरूबीचको द्वन्द्व घटाउन सहयोग पुगेको छ ।

निर्वाचन आयोगका कामले गति समातेका छन् । दलहरूले पठाएको समानुपातिक बन्दसूची रुजु गरेर आयोगले दललाई नै सच्याउन पठाएपछि समानुपातिकतर्फको मतपत्र छपाइको काम शुरू हुँदैछ । चुनावी आचारसंहिता लागू गर्ने चरणमा पुगेको छ । निर्वाचन प्रहरीको भर्ना खुलाउने तयारी भैरहेको छ । चुनाव नजिकिँदै गरेको योबेला जे–जे तयारी र सक्रियता हुनुपर्ने हो, ती सबै काम भैरहेका छन् ।

पटक–पटकको राजनीतिक अस्थिरता र अन्योलले आजित भएका आमनागरिक अब चुनावबाटै राजनीतिक स्थिरता निस्कन्छ भन्नेमा आशावादी छन् । त्यसैले मतदाताको ध्यान पनि फागुन २१ मै केन्द्रित भएको छ । सरकार र निर्वाचन आयोगको तयारी तथा दलहरूका चुनाव केन्द्रित अभियानले फागुन २१ को चुनाव सुनिश्चित गरेपछि अब मौसमले के भन्छ बाहेक चुनावको द्विविधा सकिएको छ ।

कसैकसैलाई प्रतिनिधिसभा पुनर्स्थापनाको आश बाँकी भए पनि पुनर्स्थापनाको माग गर्ने एमालेको आँखा सर्वोच्च अदालतबाट हटेर निर्वाचन आयोगमा केन्द्रित देखिन्छ । एमाले नेताहरू उम्मेदवार छनोट, कार्यकर्ता व्यवस्थापन, मतदाताको हिसाबकिताब र सम्भावित गठबन्धनको जोडघटाउमा व्यस्त देखिन्छन् । कांग्रेसका नेताहरू पार्टीभित्रको विवाद समाधान र चुनावी तयारीमै लागेका छन् । त्यसैले प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने आश गर्नेहरू आफैँ निराश देखिन थालेका छन् ।

चुनावी वातावरण सुनिश्चित भएपछि नेताहरू दिल्ली दौड लगाउन व्यस्त छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारतबाट फर्किएलगत्तै नेकपा संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दुई दिने दिल्ली यात्रा सकेर सोमवार राति फर्कनुभएको छ । दाहाल काठमाण्डौ फर्किएकै दिन कांग्रेस नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा दिल्ली पुग्नुभएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्ले पनि केही दिनमै दिल्ली जाँदै हुनुहुन्छ । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको छ । कांग्रेस नेत्री आरजु राणा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा दिल्ली गएको आम बुझाइ छ ।

अप्ठेरो र जटील राजनीतिक अवस्थामा वाम र प्रजातान्त्रिक दलका नेताहरू कुनै न कुनै बहाना बनाएर भारत जान्थे र दिल्लीको सरोकार सुन्दै राजनीतिक विमर्श गर्थे । भारतको सहयोगमा १२ बुँदे सम्झौता यसैगरि भएको थियो । त्यो सम्झौताका हस्ताक्षरकर्ता नेपाली कांग्रेस, एमाले र माओवादी मिलेर २०६२–६३ को आन्दोलन गरे । गणतन्त्रको स्थापना गर्ने तीन वटै मुख्य दलहरू नवयुवा आन्दोलनपछि देशभित्र कमजोर भएका छन् । यी तीन दल कमजोर हुँदा काठमाण्डौका भारतको उपस्थिति कमजोर भएको दिल्लीको राजनीतिक बुझाइ स्वाभाविक छ । भदौमा भएको नवयुवा आन्दोलनपछि भएको विध्वंशको भित्री तयारीबारे नेपालका सत्ताझैँ भारतको सत्ता पनि अनभिज्ञ नै देखिएको थियो ।

अहिले राजनीतिक ध्रुवीकरण तीव्र भैरहँदा फेरि दिल्ली दौड बाक्लिनु देशमा उत्पन्न जटिल राजनीतिक परिस्थितिबाट निस्कने प्रयास हो वा भारतले पुराना नेताहरू मार्फत नयाँ राजनीतिक खिचडी पकाउन थालेको हो, त्यो थाहा पाउन पनि चुनावकै नतिजा कुर्नुपर्नेछ । उज्यालो

          January 6, 2026 4:30 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...