काठमाडौँ — इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २ सय डलर पुग्न सक्ने भन्दै विश्वलाई तयार रहन भनेको छ । नाकाबन्दी गरिएको खाडी क्षेत्रमा थप तीन वटा जहाजहरूमाथि आक्रमण भएपछि इरानले यस्तो बताएको हो । एक ब्यारेलमा करिब १५९ लिटर तेल समावेश हुन्छ ।
इरानले नै हर्मुज आसपासको समुद्री माइन (पानीमुनि बम) बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी आक्रमणमा परेर ध्वस्त भएकामध्ये १६ वटा जहाज माइन लेयर्स ( पानीमुनि बम बिछ्याउने काममा संलग्न) रहेको पश्चिम एसिया हेर्ने अमेरिकी सैनिकको दस्ता युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।
सोमबार झण्डै १२० डलर पुगेको तेलको मूल्य अहिले ९० डलरको आसपासमा कारोबार भइरहेको छ । मूल्यमा आएको गिरावटपछि लगानीकर्ताहरू ट्रम्पले युद्ध रोक्न र ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सक्षम हुनेमा आशावादी रहेको संकेत गरिएको छ । तर, सरकारहरू अझै पनि कडा कदम चाल्नेबारे छलफल गरिरहेका छन् । अहिलेसम्म युद्ध रोकिने कुनै संकेत देखिएको छैन भने ‘स्ट्रेट अफ हर्मुज’ साँघुरो जलमार्गबाट जहाजहरू सुरक्षित रूपमा चल्न सक्ने आधार छैन । यो जलमार्गबाट विश्वको पाँच भागको एक भाग तेल ओसारपसार हुन्छ । जुन इरान-इजरायल युद्धका कारण नाकाबन्दीको सिकार भएको छ ।



