Friday 13th March 2026

मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’

2 hours अगाडी

काठमाण्डाै – नेपालमा भित्रिने रेमिट्यान्स र इन्धनको प्रमुख स्रोतका रूपमा रहेका मध्यपूर्वी देशमा पछिल्लो समय विकसित तनावका कारण देशको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट देखापर्न सक्ने जोखिम बढेको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज गरेको कार्यक्रममा भोलि आउन सक्ने सङ्कटबाट जोगिन जतिसक्दो छिटो पूर्वतयारीका काम अघि बढाउन सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

अमेरिका/इजरायल–इरान तनावकाबीच विश्वव्यापी ऊर्जा सङ्कट गहिरिँदै गएको र त्यसबाट नेपालजस्ता रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका तथा आयातित इन्धनमा भर पर्नुपर्ने देशहरू बढी प्रभावित हुने आँकलन छ ।

मध्यपूर्वमा द्वन्द्व बढ्दै गएमा पेट्रोलियम पदार्थको अभाव, नेपाली श्रमिकको रोजगारी कटौती र त्यसबाट रेमिट्यान्स घट्न गई नेपालीको चुलोचौकामा समेत नकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताउनुभयो । ऊर्जा र खाद्य सुरक्षामा नेपालले मुख्य ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

पेट्रोलियम पदार्थसहितका दैनिक अत्यावश्यक वस्तुको उचित मौज्दात राख्ने र त्यसको व्यवस्थापनमा मेहनत गर्न भट्टले सरकारलाई सुझाव दिनुभयो । पेट्रोलियम पदार्थको आयातमा नेपाल पूर्णरूपमा भारतमा निर्भर रहेको अवस्थामा भारतमै पेट्रोलियम पदार्थको अभाव देखिँदा त्यसको प्रभाव स्वतः नेपाली बजारमा पर्ने उहाँको भनाइ छ ।

मध्यपूर्व र खाडीका देशमा लाखौँ नेपाली श्रमिक कार्यरत छन् । नेपालबाट दैनिक १ हजार ५०० जनाभन्दा धेरै युवा रोजगारीका लागि खाडीका देश जाने गरेका छन् ।

श्रम आप्रवासन क्षेत्रका जानकार रामेश्वर नेपालले अहिले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकलाई सरकारले तत्काल उद्धारको पहल गर्नुपर्ने बताउनुभयाे । श्रम विज्ञ नेपालले मध्यपूर्वमा पछिल्लो तनावले धेरै नेपाली समस्यामा परेका बताउनुभयो ।

सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउँदै आएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । अहिलेसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा नाम दर्ता गराइसकेको अवस्थामा सरकारको प्रयास सकारात्मक भए पनि उद्धार कार्यमा प्रभावकारी काम गर्न नसकेको श्रमविज्ञ नेपालले टिप्पणी गर्नुभयो ।

उहाँले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको पनि बताउनुभएको छ । सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको तर कसरी सुरक्षित हुने, कहाँ के भइरहेको छ ? भन्नेतर्फ जानकारी नगराएकोमा श्रमविज्ञ नेपालले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।उज्यालो

          March 13, 2026 11:49 pm | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...