Thursday 26th March 2026

तेह्रथुममा सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

7 years अगाडी

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ। टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो।
सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत त्यत्तिकै छाडेको छ। दुई वर्षमा काम सक्ने गरी रु दुई करोड १३ लाखमा ठेक्का लिएको उक्त कम्पनीले शुरुमा करीब छ महीना ढिला गरेर काम थालेको थियो। काम थालेपछि स्थानीयवासी बीच सिमा विवाद देखिएपछि अहिले टावर निर्माणका लागि सम्झौता भएको म्यादसमेत सकिएको छ। दुई जिल्लाका बासिन्दाको आपसी मतभेदका कारण यो पर्यटकीय क्षेत्रको विकास रोकिएको स्थानीयवासी छिरिङ लामाले बताए।

टावर निर्माणस्थल तेह्रथुमको लालीगुराँस नगरपालिका-१, साविक बसन्तपुर-४ मा पर्ने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले भ्यूटावर निर्माण थालेका थिए। पर्यटन मन्त्रालयको सहयोगमा बन्न लागेकोे सो टावरको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रूपमा शिलान्यास गरेका थिए तर भ्यूटावर निर्माण शुरु भएपछि उक्त जमीन सङ्खुवासभामा पर्ने र सो योजना सङ्खुवासभाले पाउनुपर्ने माग गर्दै स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताले काममा अवरोध पुर्याएका थिए। भ्यूटावर निर्माण र जमीनभन्दा पनि जनप्रतिनिधिको आँखा त्यसबाट आउने राजस्वमा परेको हो। लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने भएकाले जमिन जसको भए पनि निर्माण नरोक्न आग्रह गरे। निर्माण कम्पनीका सुपरभाइजर पुष्प गुरागाईँले भने मौसमका कारण वर्षामा काम गर्न नसकिएको र अब विवाद मत्थर भई काम गर्ने वातावरण बने पुनः काम सञ्चालन हुने बताए। चार तलाको सो भ्यूटावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यूप्वाइन्ट बनाउने योजना छ।

          October 11, 2018 11:18 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...