Sunday 22nd March 2026

‘५ वर्षमा ५ वटा दिर्घकालीन काम, ५ ठूला भ्रष्टाचारीलाई जेल हाल्नुहोस्, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन’

7 years अगाडी

आज दिनभर नयाँ युगको चर्चा छ । सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरुक्षा योजना घोषणा गरेको छ । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ ।रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बीमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ ।यो प्रयास अत्यन्त राम्रो हो । यसको कार्यान्वयन चुनौती नै चुनौती छन्, जसलाई आउने कार्यक्रमहरुमा व्याख्या गरौँला । तर जुन तामझाम गरेर कार्यक्रमको घोषणा गरियो, त्यसको आवश्यकता थियो त ? एउटा ज्यादै राम्रो कार्यक्रमको शुभारम्भ मात्र हुँदा त्यसलाई नयाँ युगको शुरुवात भनिुन, अनि करोडौँ खर्च गरेर त्यसको विज्ञापन गरिनु, शहरका पोल पोलमा प्रधानमन्त्रीका फोटा टाँसिनुको सान्दर्भिकता हामीले चाही मरिकाटे पत्ता लगाउन सकेनौं ।

देशका प्रधानमन्त्रीले यसको प्रचार गर्नुको औचित्य पुष्टी गर्नुको साटो देखाउनै गरेको हो भन्दा हलमा हाँसो र ताली त बज्यो तर एउटा राम्रो कार्यको शुरुवात अनाहकमा विवाद र चर्चामा फस्यो पनि । जनाताले, प्रतिपक्षले, मिडियाले प्रश्न, आलोचना, जिज्ञासा किसिम किसिमिले गर्छन् तर देशको सरकार र सम्माननिय प्रधानमन्त्रीले ओँठे जवाफ फर्काउन जरुरी नै हुँदैन नी ।सरकार खोई भन्या होइन, लौ हेर भन्दा रमाइलो मानेर हाँसो गर्नु अरु बिषयमा ठीक भएपनि सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रमका लागि उपयुक्त होइन कि ? गम्भीर बिषयमा गम्भीर हुनैपर्छ, देशको सरकार र प्रधानमन्त्री हाँस्य कलाकार होइनन् जसको प्रत्येक डाइलगमा हल हाँसोले भरिन्छ ।

यथार्थ नभुलाँै कि यो एसियाको दोस्रो गरिब देश हो । यस देशमा प्रधानमन्त्रीको फोटो राखेर सरकारको प्रचार पत्रिका भरी, अनलाइन भरी, टोल टोलमा र पोल पोलमा जरुरी थिएन । फेरी पनि भन्छु सम्भवत यो कार्यक्रम कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मकै उत्कृष्ट उपलब्धी मध्य कै एक हुन सक्छ ।यसका चुनौती बारे नागरिकले प्रश्नहरु गर्न नै बाँकी छ । तर घोषण गर्दा नै पुर्ण सफलता हाँसिल गरे झै गरिएको तामझामलाई गज्जब भन्न चाँही ज्यान गएपनि सकिएन । पुन निर्माण सकियो भनेको भए, घरहरु उठ्यो भनेको भए, राष्ट्रिय गौरबका २÷४ आयोजना सकियो भनेर भन्न पाइएको भए, रेल तेल, पानी जहाज, फाष्ट ट्याक्क, सुरुङ मार्ग, फ्लाई ओभर, गाँउदेखि शहरसम्म अस्पताल, स्कुल, कलेज, युनिभर्सिटी, विमानस्थल, सहज पब्लिक ट्रान्सर्पोट, रंगशाला, सिचाँई योजना, हवाई योजना, कृषी, विज्ञान, सुचना प्रविधि सेटलाइट, भइदिएको भए हो, आजदेखि नयाँ युगको शुरुवात हुन्थ्यो ।

आधारभुत, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा नै चुनौती बनेका बेलामा युगै परिर्वतन भयो भनेर करोडाँैँ खर्च गरी प्रचार गर्दा त कुनै हाजमोलाले पनि पचाउन सकिएन । यी विज्ञापनमा सरकारको खर्च छैन भन्ने तर्क पनि गलत हुन आउँछ । सरकारको प्रचार निजी क्षेत्रले पैसा तिरेर किन गर्ने ?

सरकारले गरेको राम्रो कामको प्रचार जनताले गर्ने हो त्यो पनि एक सुका खर्च नगरी । पत्रपत्रिका, अनलाइन, टेलिभिजन, रेडियोमा होइन, घरघरमा सुनिनु प¥यो । सरकारको राम्रो कामको प्रचार । सरकार देखिन भन्या होइन, लौ हेर भन्दै विज्ञापन छपाएर सरकार जबरजस्ती देखाउन खोज्नु र प्राइभेट कम्पनीलाई त्यसको पैसा तिर्न लगाउनु गलत अभ्यासको शुरुवात हो ।एउटा अत्यन्तै राम्रो कामको शुभारम्भ गलत अभ्यासबाट गरिनु जरुरी नै थिएन । भोली प्रतिपक्षले त्यही निजी कम्पनीहरुलाई पैसा तिर्नुस् भनेर शेर बहादुर देउवाको फोटो टाँसेर कुनै अभियानको शुरुवात गर्न मिल्छ मिल्दैन र ती निजी कम्पनीहरुले कसरी नाइ भन्ने ?

प्राइभेट सेक्टरको पैसा खर्च नगरी सामाजिक सुरक्षा योजनाका बिषयमा बुझाउने बुँदाहरु राखेर सामाग्रीहरु प्रचार गर्न सकिन्थ्यो होला । तर त्यस हुन सकेन । यो फजुल खर्चले धेरै कुरा टथ्र्यो ।चोक चोकमा टाँसीएको प्रधानमन्त्रीको फोटो र नयाँ युगको शुरुवात देखेर एउटा आम जनताले के बुझ्ने ? बरु सामाजिक सुरक्षा योजनाको जानकारी र यो योजनाबाट लाभ लिन यो नम्बरमा फोन गर्नुहोला भन्ने सन्देश पोल पोल टाँसियो भने पो खर्चको अर्थ हुन्छ ।सम्माननिय प्रधानमन्त्री ज्यु, विजुलीको पोलमा फोटो टाँस्नै पर्दैन । पाँच वर्षमा ५ वटा ठूला, दिर्घकालीन काम फत्ते गर्नुहोस, ५ जना विग सट भ्रष्टाचारीलाई जेल हाल्नुहोस् । सरकारको विज्ञापन जनताले मुक्त कण्ठले गरिदिन्छन् । तपाईको फोटो जनताले मन मस्तिष्कमा टाँसेर राख्छन् । एक पैसा पनि नलाग्ने गरी युग युगसम्मका लागि । सामाजिक सुरक्षा एक उत्कृष्ट कदम हो, सरकारलाई धेरै धन्यवाद ।

          November 28, 2018 11:48 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...