मौनताको इतिहास चिरेर महिला बोल्न खाँचो छः करिश्मा
सञ्चिता घिमिरे/ललितपुर, मङ्सिर । चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन् ।दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उनी खुलेरै भन्न थालेकी छिन् । उनी जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उनको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी उनी गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी छिन् ।
आमाले भोगेको समस्याका बारेमा उनले भनिन्, ‘एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उहाँको अधिकार खोज्न सकिएन ।’ जीवन निर्वाहका लागि आमासंगै आफू पनि कठिन परिश्रम गरेको स्मरण गर्दै नायिका मानन्धरले आमालाई आर्थिक सहयोग गर्न आफू सानै उमेरमा प्रति महीना तीन सय कमाउनका लागि मजदूरी गरेको खुलासा गरिन् ।
चौध वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मानन्धरले १८ वर्षको हुँदा विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिइन् । श्रीमान्भन्दा आफू धेरै कान्छी भएकाले उनको आँखामा सधैँ केही नजान्ने भइन् । ‘अहिलेसम्म पनि श्रीमान्का आँखामा आफू त्यही १८ वर्षीया करिश्मा केही नजान्ने रहेकी छु’, उनले भनिन्, ‘यतिसम्म कि बैंकको चेकमा सही गर्दा हतारिएर श्रीमान्ले तिमी जान्दैनौँ भन्ने गर्नुहुन्छ ।’
कामको दौडानमा यी दुई दशकमा उनले कहिल्यै पछाडि फर्किएर हेरिनन् । ‘गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा श्रीमानले आफ्नो मतदाता नामावली राजविराजबाट नसारेको कुरा बोल्नुभयो, मिडियामा पनि यो विषय निकै चर्चित बन्यो, कतिपयले उहाँको समर्थन गरे भने धेरैले घरका कुरा बाहिर निकालेको भन्दै आलोचनासमेत गरें’, नायिका करिश्माले भनिन् । उनले भनिन्, ‘अहिलेसम्म महिलाको इतिहास भनेको मौनताको हो, त्यसलाई चिरेर बोल्न खाँचो छ ।’
चलचित्रको पर्दामा सधैँ एकपछि अर्काे सफलता हात पारेकी नायिका करिश्मालाई त्यसले मात्रै सन्तुष्टि दिएन । चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनले पढाई बीचमा नै छाड्नुपरेको बताइन् । जीवनभर आफूलाई त्यही ‘स्कुले केटी’ ले पछ्याइरहेको उनले बताइन् । सधैँ पछ्याइरहने केटीलाई विपनामा पाउनका लागि उनले विद्यालयमा भर्ना भइन् । सर्ट र फ्रक लगाएर झोला बोक्दै विद्यालय जान थालिन् । अहिले उनी ९ कक्षामा अध्ययनरत् छिन् । अरुले के सोच्छन्भन्दा पनि आफू के चाहन्छु भन्ने सोचेर विद्यालय भर्ना भएको नायिक करिश्मा बताउँछिन् ।
उनले भनिन्, ‘सिनेमामा सफल नायिकाका रुपमा मात्र होइन, करिश्मा मानन्धरले जीवनमा सेल्स गर्लको समेत अनुभव बटुलेको छ ’जीवनका चार दशक मौनतामा बिताउँदा मानन्धरलाई कहिल्यै आनन्द भएन । आफूले बाल्यकालदेखि भोगेका पीडा अचेल उनी खुलेर बोल्छिन् । आफूले जीवनमा भोगेका पीडा र हिंसाका बारेमा खुलेर बोल्दा आनन्दको अनुभूति हुने गरेको नायिका करिश्माको भनाइ छ । ‘आफूले चाहेका कुरा गर्न र बोल्न पाउँदा हिजोआज म ढुक्कसँग निदाउन सक्छु’, उनले भनिन् ।केही दिन पहिले ललितपुरमा नायिका मानन्धरले सबै महिलालाई पीडा नसहन र हिंसाका बारेमा खुलेर बोल्न आग्रह गरिन् । महिला हिंसाविरुद्धका सोह्रदिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले खुलेर बोल्न शुरु गर्दै अरुलाई पनि प्रेरित गरेकी थिइन् ।
November 30, 2018 10:02 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता