Thursday 19th March 2026

वैदेशिक रोजगारका नाममा म्यानपावर व्यवसायीको ठगी धन्दा बढ्दै गइरहेको पाइएको छ

7 years अगाडी

काठमाडौं।वैदेशिक रोजगार विभागमा पीडितका व्यक्तिगत उजुरी भन्दा म्यानपावरले ठगेका उजुरी बढदै गएपछि म्यानपावरको ठगी बढ्दै गएको पाइएको हो।

म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारमा कामदार पठाउने क्रममा एउटा काम भनेर अर्को काममा पठाउने, श्रम समझदारी पत्र अनुरुप सेवा सुविधा काममा नहुने, श्रमिक परदेशमा अलपत्र परेको अवस्थामा उद्धारको पहल नगरी बेवास्ता गर्ने जस्ता विभिन्न ठगी म्यानपावर व्यपसायीले गर्दै आएको पाइएको छ।

वैदेशिक रोजगारमा जाने सोझा श्रमिकलाई पटक पटक ठगी गरेर व्यवसायीले दुख दिएको गुनासो विभागमा भेटिने पीडित नै गर्छन्। म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा परेका सयौँको संख्यामा उजुरीहरुले म्यानपावर व्यवसायीको डरलाग्दो ठगी तथ्य उजागर गरेको देखिन्छ।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिलाई हेर्दा साउन महिनामा १ सय १५ वटा उजुरी परेका छन्। भदौ महिनामा १ सय २९ वटा उजुरी परेका छन्। असोजमा १ सय ४२ र कात्तिकमा ४८ वटा गरेर ४ महिनाको अवधिमा जम्मा ४ सय ३४ वटा उजुरी परेका छन्। अरु महिनाको तुलनामा कात्तिक महिनामा उजुरीको संख्या कम भएपनि ठगी भने कम नभएको बताउँछन् विभागका निर्देशक भोलानाथ गुरागाईं।

कात्तिक महिनामा दशैं, तिहार, छठलगायतका पर्वका कारण विभाग बन्द रहेको हुँदा उजुरी संख्या घटेको निर्देशक गुरागाईंको बुझाइ छ। म्यानपावर कम्पनीले ४ महिनाको अवधिमा १५ करोड भन्दाबढी रकम ठगी गरेको दावी गरिएको छ।
एउटै म्यानपावर कम्पनी विरुद्ध १६ वटा उजुरी
चालू आर्थिक वर्षको चार महिनामा एउटै म्यानपावर कम्पनी विरुद्ध १६ वटा सम्म उजुरी परेको विभागले जनाएको छ। युवालाई रोजगारमा पठाउँदा लाखौँ पैसा खर्चेर गएपनि काम नपाइ अलपत्र परेर फर्कनु पर्ने, एउटा काममा भनेर अर्कै जटिल काममा पुर्याउने लगाएतका माध्यमबाट ठगी गरेपछि पीडितहरुले एउटै म्यानपावर कम्पनी विरुद्ध ४ महिनामा १६ वटा सम्म उजुरी परेको विभागले जनाएको छ।

आर्थिक वर्षको ४ महिनाको अवधिमा सुनेरा नेपाल इनकोअपरेट प्रालि (३६७ लाइसन्स नम्बर ) का नाममा १६ वटा उजुरी पीडितले दर्ता गराएको विभागले जानकारी दिइएको छ । चार महिनाकै अबधिमा एसोसियट्स वेलकम इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालि (लाइसन्स नं १०२२) विरुद्ध १५ वटा मुद्धा दर्ता भएको विभागले उल्लेख गरेको छ ।

यसैगरी विभागमा पाथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रालि (लाइसन्स नं ६०७ ) का नाममा १४ वटा उजुरी परेका छन् । डाइनामिक ग्लोबल एचआर प्रालि लाइसेन्स नं ७३१  का नाममा १२ वटा उजुरी विभागमा दर्ता भएका छन्। ५० वटा भन्दाबढी म्यानपावर कम्पनी विरुद्ध विभागमा पीडितको उजुरी आउने गरेको विभागले जानकारी दिएको छ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार म्यानपावर कम्पनी विरुद्ध पीडितका उजुरी परेपछि एक पटक म्यानपावरलाई सचेत गराइ जरिवाना गर्ने र दोस्रो पटक जरिवाना तथा जेल सजाए सम्मको कारबाहि र तेस्रो पटक धरौटी जफत गर्ने समेत व्यवस्था उल्लेख छ। विभागमा पीडितका उजुरीहरु आएको अवस्थामा विभागले म्यानपावर र पीडित पक्षलाई प्रत्यक्ष रुपमा भेट गराई दुवैको राय बुझी पीडित पक्षलाई राहत उपलब्ध गराउन सहयोग गर्दै आएको छ।

म्यानपावर कम्पनी विरुद्ध पीडित पक्षको उजुरी परेपछि विभागले म्यानपावरलाई विभागमा बोलाउने र पीडितको उद्धार गर्न को लागि चेतावनी दिने गरेको बताएको छ। म्यानपावरले तत्काल पीडितको उद्धार गर्न अटेर गरेमा म्यानपावर कम्पनी को कारोबार नै रोक्का समेत गर्दै आएको छ।

          December 10, 2018 12:39 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...