Wednesday 18th March 2026

कोरियामा पाँच वर्ष काम गरेँर स्वदेशमै खोले काँटी उद्योग

7 years अगाडी

बनियानी । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ ।

कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गरेका हुन । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताए ।

“कोरियामा पाँच वर्ष काम गरेँ”, उनले भने, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उनको लक्ष्य छ ।

उद्योगमा हाल रु १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र रु चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए । उद्योगबाट उत्पादित काँटी रु ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ ।

चापागाईंले भने, “मैले कोरियाको पानीजहाज बनाउने कम्पनीमा फलामसम्बन्धी काम गरेँ, त्यहाँ सिकेको सीप अहिले स्वदेशमा प्रयोग गर्दैछु ।” उद्योग स्थापना गर्नुपूर्व भारतको कलकत्तामा कच्चा पदार्थ तथा समबन्धित उपकरणबारे जानकारी लिएको उनले बताए ।

कोरिया छँदा आफूले मासिक रु तीन लाखसम्म कमाइ गर्ने गरेको बताउँदै उनले भने, “स्वदेश आएपछि पुनः एक पटक जाने सोच बनाएँ, भिसा पनि लाग्यो तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो ।” मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनको भनाइ थियो । उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन् ।

स्नातकसम्मको अध्ययन पूरा गरेका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिन्छ ।”

उद्योगलाई विस्तार गर्ने योजनामा रहनुभएका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरीद गरिसकेको बताए ।

          January 4, 2019 11:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...