सरल कर्जा : वैदेशिक रोजगारीबाट फर्किएका पुरुष बढी आकर्षित, महिलाको उपस्थिति न्यून
काठमाडौं। वैदेशिक रोजगारबाट फर्किएका कुनै निश्चित सीप भएका कामदारलाई सरकारले उपलब्ध गराउने सरलकर्जामा पुरुष कामदारको उपस्थिति उल्लेख्य रहेको छ भने महिला कामदार आकर्षित भएका छैनन्।दिनमा ५ सय भन्दा बढी सेवाग्राही फारम भर्नका लागि आएपनि सरल कर्जाका लागि फारम भर्ने महिलाको संख्या भने २० जना पनि नपुगेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ।
सरलकर्जाका लागि मंगलबारसम्म ८ हजार ८ सयले फारम भरिसकेको र बुधबार बेलुकासम्म १० हजार युवाहरुले सरलकर्जा फारम भरिसक्ने बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए। उनले वैदेशिक रोजगारबाट फर्किएर नेपालमै व्यवसाय गर्न चाहने महिलाको संख्या निकै कम भएको जनाए।
के भन्छन् महिला श्रमिक ? : बोर्डको बाहिर फारम भर्नका लागि उभिएका महिला कम संख्यामा भएपनि आफ्ना लागि नभएर आफन्तका लागि फारम भरिदिन बोर्डमा आएको बताउँछन् सरकारले उपलब्ध गराउने १० लाखसम्मको सरलकर्जाले के गर्ने भन्ने अलमलमै महिला श्रमिक रहेका छन्। काठमाडौमा भेटिएकी पार्वती रायमाझी मलेशियाबाट फर्किएकी हुन्। सरकारले फारम भर्ने जति सबैलाई सरलकर्जा उपलब्ध गराउन सक्ला त भन्ने चासोको विषय बनेको छ । यसबेला फारम भर्ने युवाहरु आफैँ ढुक्क देखिँदैनन्
उनी मलेशियामा गारमेन्ट कम्पनीमा धागो काट्ने काम गर्ने गर्थिन्। कम्पनीमा काम र कमाइ पनि राम्रो भएको बताउने उनी कम्पनी नै बन्द भएपछि नेपाल फर्किएकी हुन्। पार्वतीले भनिन्, ‘सरकारले १० लाख ऋण त दिन्छ फेरि नेपालमा बसेर के गर्नु, केमा लगानी गनुर्, कसरी ऋण तिर्नु?’ आफूले के गर्ने भन्ने विषयमा नै आफू अलमल परेको बताउने उनी फेरि पनि वैदेशिक रोजगारीमै जाने सोच रहेको बताउँछिन्।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलमा दुवई जान पुनः श्रम स्वीकृतिका लागि पुगेकी खोटाङकी रोशनी बान्तावाले पनि सरकारले उपलब्ध गराउने सरलकर्जाका बारेमा जानकारी त पाएकी छन् तर उनलाई सरलकर्जा लिएर नेपालमै आफ्नो सीपको प्रयोजन गर्न भने त्यति चाख लागेन। विदामा नेपाल आएको बताउने उनी फेरि दुवई जानका लागि पुनः श्रम स्वीकृति लिन पुगेकी थिइन्।
रोशनीले भनिन्, ‘म दुवईमा व्युटीसियन काम गर्छु कमाइ पनि एकदम राम्रो छ। नेपालमा व्युटी पार्लर खोलेपनि राम्रो चल्ने नचल्ने टुंगो हुँदैन। फेरि एकदुई पटक विदेश जाउँ भनेर श्रम स्वीकृति लिन आएकी हुँ।’ रोशनीले दुवई जानुभन्दा अगाडि कोटेश्वरमा एउटा व्युटी पार्लर समेत खोलेकी थिइन्। व्युटीसियन सम्बन्धी सीप राम्रो भएकालाई दुवईमा कमाइ पनि राम्रो हुने सुनेपछि उनी पार्लर बेचेर दुवई पुगेकी हुन्।
उदयपुरकी दिलमाया बस्नेत कतार गएर आएकी गएकी थिइन्। फेरि कतार नै जानका लागि पुन श्रम स्वीकृति लिन श्रम कार्यालय पुगेकी उनले पनि कतारमा राम्रो काम र कमाइ भएको बताइन्। दिलमायाले भनिन्, ‘श्रीमान् सडक दुर्घटनामा परेर अपांग हुनुभयो। तीनजना छोराछोरी छन्। घरमा आम्दानीको बाटो नभएपछि आफैँ कामका लागि कतार पुगेँ।’
कतारमा दिलमायाको काम पनि राम्रो छ कमाइ भने उनी ४० हजारसम्म कमाइ हुने बताउँछिन्। आफूसँग कुनै सीप नभएपनि उनी कतारमा पेपर फोल्डिङ काम गर्छिन्। नेपालमा सरकारले उपलब्ध गराउने सरल कर्जा ढुक्कसँग पाइने र नेपालमै व्यवसाय गर्न पाइने कुरामा विश्वास नहुँदा आफू वैदेशिक रोजगारीका लागि नै फेरि पनि जाने तयारीमा रहेको उनले बताइन्।
सरलकर्जा उपलब्ध गराउन सरकारलाई चुनौतीपूर्ण
महिला कामदारको सरलकर्जामा न्यून आकर्षण भएपनि पुरुष कामदार भने सरल कर्जामा निकै आकर्षित देखिएका छन्। यसबेला वैदेशिक रोजगारीबाट फर्किएका युवा सरल कर्जा फारम भर्नका लागि बैदेशिक रोजगार प्रवद्र्धन बोर्र्डमा निकै ठूलो संख्यामा लाइन लागिरहेका देख्न सकिन्छ।
सरल कर्जा फारमको म्याद पुस मसान्तसम्म भएकोले अन्तिम समयमा निकै भीडभाड बोर्डमा लाग्ने गरेको छ। सरकारले सोचेभन्दा निकै ठूलो संख्यामा युवा कर्जा लिएर नेपालमै व्यवसाय गर्न आकर्षित देखिन्छन्। यो विषय सरकारलाई भने निकै चुनौतीपूर्ण देखिएको छ। सरकारले फारम भर्ने जति सबैलाई सरलकर्जा उपलब्ध गराउन सक्ला त भन्ने चासोको विषय बनेको छ । यसबेला फारम भर्ने युवाहरु आफैँ ढुक्क देखिँदैनन्। लाइनमा बसेकाहरु भनिरहेका हु्न्छन्, ‘हामीलाई यो दुःख मात्र आखिर ऋण पाउने चाँही होइन होला?’
सरलकर्जा बोर्डले उपलब्ध गराउने नभएर सरकारले उपलब्ध गराउने बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले बताउँदै आएका छन्। युवाहरुले बनाएको व्यवसायिक योजनाका आधारमा सरकारले सरलकर्जाका लागि युवालाई छनोट गर्ने बताएको छ। नेपालमा नै केही व्यवसाय गर्छु भन्ने युवाजति सबैलाई कर्जा उपलब्ध गराउनु सरकारका लागि चुनौतीपूर्ण रहेको छ।
January 10, 2019 11:08 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान