४ वर्षपछि बल्लतल्ल तातोपानी नाका खुल्दै, मे दिवसमा तातोपानी नाका खोल्ने चिनियाँ तयारी
सिन्धुपाल्चोक – ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले तीव्रता दिएको छ ।
अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ ।उनका अनुसार सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको छ ।बसपार्कदेखि मितेरी पुलसम्मको एक किलोमिटर सडक भोटेकोसी नदीबाट २० मिटर वाल उठाएर पुनर्निर्माण गरिँदै छ । वैशाख पहिलो हप्तासम्म सो सडक निर्माण सम्पन्न गर्ने लक्ष्य सिआरसिसीले लिएको मगरले बताए ।
पुनर्निर्माणमा नेपाली र चिनियाँ गरी करिब १२ सय मजदुर सक्रिय रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलका डिएसपी कृष्ण गुरुङले बताए । ‘मितेरी पुलको पुनर्निर्माणमा चिनियाँ मात्रै संलग्न छन्,’ उनले भने, ‘चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले मितेरी पुल बनाउन सुरु गरेको छ ।’ यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
चिनियाँ कम्पनीले भोटेकोसीमा वैकल्पिक ब्रिज बनाई भोटेकोसी नदीको बहावलाई एकातिर तर्काएर मितेरी पुल निर्माणमा दिनरात लागिपरेको उनले बताए । आगामी मे दिवसको दिन (०७६ वैशाख १८) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ कामलाई तीव्रता दिइएको चिनियाँ भनाइ उद्धृत गर्दै डिएसपी गुरुङ र अध्यागमनका प्रतिनिधि मगरले बताए । तर, मे १८ मै नाका खुल्नेबारे चीनको औपचारिक भनाइ आएको छैन । उनीहरूका अनुसार खासातर्फ सडक र सुरुङमार्ग सम्पन्न भइसकेको छ ।
दर्जन बैठक, आधा दर्जनपटक अनुगमन – भूकम्पपछि बन्द नाका चार महिनापछि १५ साउन ०७२ मा एक हप्ताका लागि खासा क्षेत्रमा अड्किएका ३ सयभन्दा बढी नेपाली कन्टेनर भ्यान नेपाल पठाउन खुलाइएको थियो । त्यसपछि २३ साउनबाट चीनले पूर्ण रूपमा नाकामा सिल गरेको छ । सो नाका बन्द भएपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमासुरक्षा र नाका खुलाउने सम्बन्धमा ४३ महिनामा एक दर्जन बैठक र आधा दर्जन स्थलगत अनुगमन भएका छन् ।
भूकम्प गएको नौ महिनापछि तिब्बतका सिडिओ पेङ लु वी, तिब्बत सुरक्षा प्रमुख गाओ वान्हा र जनमुक्ति सेनाका कोलोनेल वाङसँग तत्कालीन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसी र नेपाली सेनाका कर्णेल उमेश कार्कीले संयुक्त रूपमा बैठक बसेर नाकाबारे विस्तृत छलफल गरेका थिए । त्यसको एक वर्षपछि नेपाल र चिनियाँ अधिकारीबीच खासामा पुनः छलफल भएको थियो ।
खासामा भएको बैठकमा तत्कालीन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नेतृत्वको टोलीसमक्ष चिनियाँ राजनीतिक कमिसार कर्णेल वाङ ज्याङ जुले संयुक्त सुरक्षा संयन्त्र (ज्वाइन्ट कमान्ड मेकानिजम)को एजेन्डा प्रस्तुत गरेका थिए । यस्तो हरेक बैठकमा चिनियाँ अधिकारीले ‘क्रस बोर्डर क्राइम’ नियन्त्रण गर्न मिलेर काम गर्नुपर्ने बताउँदै आएका छन् ।
०७५, भदौ १७ गते ल्हासास्थित महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको पहलमा चीनबाट भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङ्लिउको नेतृत्वमा २० भन्दा बढी चिनियाँ सरकारी अधिकारी भ्रमणमा आएका थिए । चिनियाँ टोलीमा डेपुटी डाइरेक्टर जनरल अफ द कमर्स डिपार्टमेन्ट अफ टिबेट अटोनमस रिजनका पिङ्वाङ, डेपुटी डाइरेक्टर ल्यान्ड एन्ड रिसोर्सेज जिओलोजिकल एन्ड एन्भाइरोन्मेन्ट सेक्सन अफ टिबेट अटोनमस रिजनका काइ याङ लाउ यातायात, अध्यागमन र भन्सार विभागलगायत तिब्बत सरकारका वरिष्ठ अधिकारी संलग्न थिए ।
नेपालबाट रोड मेन्टेनेन्स डिभिजनका शिवप्रसाद नेपाल, दोलखा डिभिजन प्रमुख अशोक तिवारी, अर्थ मन्त्रालयका झक्कप्रसाद आचार्य, भन्सार विभागकी उपमहानिर्देशक मनमाया पंगेनी, गृहबाट मुरारी वस्ती, भौतिक पूर्वाधार तथा यातायातका गोपाल सिग्देल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कमल श्रेष्ठलगायत निरीक्षणमा आएका थिए । गत बिहीबार भन्सार विभागकी उपमहानिर्देशक मनमाया पंगेनी र चिनियाँ भन्सार विभागकी उपमहानिर्देशक भाइसी नेतृत्वको टोलीले नाकाको संयुक्त रूपमा अनुगमन गरेका थिए । सो टोलीले पनि पुनर्निर्माण तीव्र रूपमा भइरहेकाले मे १८ मा नाका खुल्ने सम्भावना रहेको निष्कर्ष निकालेको छ ।
January 21, 2019 12:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..