Tuesday 17th March 2026

हिमपात, असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात बन्द

7 years अगाडी

बैतडी । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो।

हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।

लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाइएको छ। जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् भने यहाँ सञ्चालित रेडियो प्रसारण तथा अन्य सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन्।

यसैबीच बैतडीमा बुधबार पनि असिना, वर्षासँगै हिमपात भएको छ। हिमपातले यहाँका राजमार्गसमेत अवरुद्ध भएका छन्। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ। अनारखोली, खोड्पेलगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जनाकारी दिए।

यसका साथै मोतीनगर, ढोल्यामोड, बित्थड, देउलेकलगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। यसअघि मङ्गलबार पनि हिमपात भएको थियो। हिमपातले मङ्गलबार पनि राजमार्ग अवरुद्ध भएका थिए। हिमपातले अत्यधिक चिसो बढेकाले जनजीवन पनि प्रभावित भएको छ। रासस

          January 24, 2019 1:19 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...