फोजीको लागत बढी किन ?
काठमाडौँ — नेपाल टेलिकमले देशैभर विस्तार गर्न लागेको फोजी सेवा विस्तारमा लागत ‘किन बढी ?’ भन्दै सांसदहरूले चासो देखाएका छन् ।निजी दूरसञ्चार कम्पनी एनसेलले २ अर्ब रुपैयाँमा ल्याइसकेको सेवा सरकारी स्वामित्वको नेपाल टेलिकमले १९ अर्ब खर्च गर्न लागिरहेको भन्दै सांसदहरूले आपत्तिसमेत जनाए ।
शुक्रबार अर्थ समितिकोबैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, टेलिकम पदाधिकारीहरूसहितको छलफलमा सांसदहरूले आपत्ति जनाएका हुन् । एनसेलले धेरै सहरमा सेवा विस्तार गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले ढिलाइ गर्नुको कारण खोजी गरे । नेकपा सांसद घनश्याम भुषालले टेलिकमले फोजी विस्तार गर्न धेरै लगानी गर्नुको कारणबारे प्रश्न गरे । ‘अहिलेकै नेटवर्कलाई स्तरोन्नति गरेर सेवा विस्तार गर्दा सस्तो पर्ने रहेछ,’ उनले भने, ‘टेलिकमले किन १९ अर्ब खर्च गर्नुपरेको ?’
अधिकांश सांसदहरूले निजी दूरसञ्चार कम्पनी ऐनसेलको उदाहरण दिँदै फोजी सेवा विस्तारका लागि टेलिकमले बढी लगानी गर्न लागेको र ढिला सेवा विस्तारबारे विभिन्न आरोप लगाए । नेकपा सांसद रामकुमारी झाँक्रीले टेन्डर प्रक्रिया नै रोकेर फाइभजीको तयारी गर्नुपर्ने धारणा राखिन् । ‘भारतले सन् २०२० सम्ममा फाइभजी विस्तार गर्ने योजना बनाएको छ,’ उनले भनिन्, ‘हामीले फोजी विस्तार गर्दागर्दै अरू देशमा फाइभजी आइसक्छ ।’
उनले एनसेलले सेवा विस्तार गरेर धेरै प्रयोगकर्ता कमाएको भन्दै टेलिकमले फोजीमा गर्ने लगानीको प्रतिफल नपाउने दाबी गरिन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले टेलिकमको फोजी विस्तारको फाइल अख्तियारले अनुसन्धानका नाममा लामो समय राखेकामा चासो व्यक्त गरे ।
‘सरकारी टेन्डर किन सधैं अख्तियारलेअड्काउँछ ?,’ उनले प्रश्न गरे । पाण्डेले निजी सेवा प्रदायक एनसेलले धेरै सहरमा फोजी विस्तार गरेर बजारमा आधिपत्य जमाइसक्दा पनि टेलिकम फोजी विस्तारमा सुस्त भएको आरोप लगाए । ‘सरकार सधैं पछाडि किन ?,’ उनले भने, ‘एनसेलले दुई दर्जन सहरमा जम्मा २ अर्ब खर्चेर फोजी विस्तार गरेको सुनिन्छ, टेलिकमको लगानीकिन बढी ?’
पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने टेलिकमले फोजी विस्तारमा बढी लगानी गरेको आरोप लगाए । ‘लगानी बढी भयो भने सेवा महँगो हुन्छ,’ उनले भने, ‘सार्वजनिक खरिद प्रक्रियाका कारण यसो भएको भए सरकारलाई भन्नुपर्यो ।’ सांसदहरूको चासो र प्रश्नको जवाफ दिँदै टेलिकमलका नवनियुक्ति प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीले एनसेलको फोजी विस्तार र टेलिकमको फोजी विस्तार योजना फरक भएको उत्तर दिए । ‘एनसेलको फोजी र हाम्रो फरक हो,’ उनले भने, ‘एनसेलले आफ्नो थ्रीजी नेटवर्कलाई नै फोजीमा रूपान्तरण गरेको हो तर हामी पछिलाई पनि उपकरण काम लाग्ने गरी बनाउँदै छौं ।’
उनले ढिलाइबारे कानुनी बाध्यताका कारण सहमतिमा एक कम्पनीलाई कामको जिम्मा दिन नसकिने र प्रक्रिया अपनाउँदा ढिलाई हुने गरेको बाध्यता सुनाए । ६ हजार ७ सय ३६ वटा बीटीएस टावरमार्फत टेलिकमले फोजी विस्तार गर्न लागेको जानकारी दिए । फोजी विस्तारको क्रममा ६ सय ४० वटा थप टावर बनाउने, ट्रान्समिसनसहित फोजी उपकरण नयाँ राख्नु पर्दा लगानी महँगो पर्ने उनले बताए ।
‘हामीले राखेको नयाँ उपकरण भविष्यको लागि लगानी हो,’ उनले भने, ‘फोजीपछिको प्रविधिमा त्यसलाई स्तरोन्नति गर्न पनि मिल्छ ।’ उनले नेपाल टेलिकमलको पुरानै नेटवर्कमा अपग्रेड गरेको भए पनि १२ अर्ब खर्च लाग्ने विवरण पेश गरे । ‘पुरानै नेटवर्कमा फोजी अपग्रेड गरेको भए स्लो हुन्थ्यो र जम्मा १० लाख प्रयोगकर्ता मात्रै धान्न सक्थ्यो,’ उनले भने, ‘हाम्रो उद्देश्य मुख्य सहरमा मात्रै फोजी नभई सबै ठाउँमा फोजी पुर्याउनु हो ।’ फोजी विस्तारको क्रममागरिने संरचना सुधारले६५ लाख प्रयोगकर्तासम्म थेग्ने उनले बताए ।
बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् टेलिकम अध्यक्ष महेन्द्रमान गुरुङले फोजी विस्तारको लागि ३ वटा अवस्था परिकल्पना गरिएको बताए । ‘जतिसुकै नराम्रो अवस्था भए पनि फोजीमा गरिएको लगानी उठ्छ,’ उनले भने । नेपाल टेलिकमले परीक्षणको रुपमा काठमाडौं उपत्यकासहित पोखरामा २०७२ पुसमा फोजी सेवा सञ्चालन गरेको थियो ।
टेलिकमले सेवा सुरु गरेको ६ महिनापछि २०७३ जेठमा निजी सेवा प्रदायक एनसेलले फोजी सेवा सुरु गरेको हो । एनसेलले अहिले दुई दर्जन बढी प्रमुख सहरमा फोजी सेवा दिइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार एनसेलका फोजी ग्राहक १४ लाख छन् । टेलिकममा फोजी ग्राहक भने करिब ७ लाख हाराहारीमा मात्रै छन् ।
देशैभर फोजी विस्तारको लक्ष्यसहित टेलिलकमे अघिल्लो वर्ष ग्लोबल टेन्डर आह्वान गरेको थियो । नेटवर्क र कोर नेटवर्क विस्तारको काम गर्नका लागि छुट्टाछुट्टै टेन्डर आह्वान गरिएको थियो । टेलिकमले टेन्डरको मूल्यांकन सक्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डर प्रक्रियाको अनुसन्धान गर्ने भन्दै १० महिना काम रोकेको थियो ।
January 26, 2019 10:17 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..