Tuesday 17th March 2026

वैदेशिक रोजगारीमा ६ महिना : ९ सय श्रमिकबाट ४२ करोड ठगी

7 years अगाडी

काठमाडौं। वैदेशिक रोजगारीका नाममा चालु आर्थिक वर्षको ६ महिनामा ४२ करोड ४४ लाख २६ हजार भन्दाबढी रकम ठगिएको छ।
वैदेशिक रोजगार विभागमा ९ सय ५१ जनाले ठगी विरुद्ध उजुरी गरेका छन्। वैदेशिक रोजगार विभागमा श्रमिक ठगिएका उजुरी हरेक दिनजसो ३० वटाभन्दा बढी नै आउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले ६ महिनाको अबधिमा ७ करोड ६४ लाख ४ हजार ९६ रुपैयाँ पीडितहरुलाई विगो भराएको तथ्यांक छ।

सबैभन्दा बढी म्यानपावरमार्फत नै ठगिन्छन् श्रमिक  : वैदेशिक रोजगारीमा जाने क्रममा ठगिने श्रमिकमा सबैभन्दा बढी म्यानपावर कम्पनीमार्फत नै ठगिने गरेको पाइएको छ। विभागका अनुसार म्यानपावर मार्फत चालु आर्थिक वर्षको ६ महिनामा ५५४ ठगिका उजुरी परेका छन्। व्यक्तिगत ठगी विरुद्ध ३९७ वटा उजुरी परेका छन्। व्यक्तिगत र संस्थागत गरेर ९ सय ५१ जना श्रमिक ठगिएका छन्। वैदेशिक रोजगारीका लागि जाने श्रमिक सबैभन्दा बढी म्यानपावर कम्पनीमार्फत ठगिँदै आएका छन्।

चालु आर्थिक वर्षको ६ महिनामा ४२ करोड ४४ लाख २६ हजार भन्दाबढी रकम ठगिएको छ। वैदेशिक रोजगार विभागमा ९ सय ५१ जनाले ठगी विरुद्ध उजुरी गरेका छन् विभागका निर्देशक भोलानाथ गुरागाईँ भन्छन्, ‘म्यानपावरमार्फत ठगिएका उजुरी धेरै आउने गरेका छन्, हामीले म्यानपावरमार्फत ठगिएका उजुरी हेरेर म्यानपावरलाई विभागमै बोलाए पीडितसँगै राखेर पीडितका लागि क्षतिपूर्ति दिलाउँदै आएका छौँ।’

वैदेशिक रोजगारीका क्रममा म्यानपावरमार्फत श्रमिक ठगिनु भनेको कुनै नौलो विषय भने होइन। श्रमिक म्यानपावरबाट ठगिने क्रम झनझन् बढ्दै गएको पाइएको छ तर विभागको काम भने ठगिएका श्रमिकको उजुरी दर्ता गर्ने र म्यानपावरलाई बोलाएर पीडितसँग कुराकानी गराउन मै सीमित छ।

दिनदिनै श्रमिक आँखै अगाडि ठगिएपनि सरकारले ठगीमा संलग्न म्यानपावर कम्पनीलाई उचित कारवाही गर्न नसक्दा श्रमिकले सास्ती खेप्नुपरिरहेको छ। गत वर्ष यसै समयमा म्यानपावरबाट भन्दा व्यक्तिगत रुपमा ठगिनेको संख्या बढी थियो। व्यक्तिगत तवरबाट ठगीनेको संख्या १ हजार १५ थियो भने म्यानपावरमार्फत ठगिएको ९ सय ४१ वटा उजुरी परेको थियो।

उजुरी संख्या र ठगि रकममा ५० प्रतिशतले कमी
गत आर्थिक वर्षको यसै समयमा वैदेशिक रोजगारीका नाममा ठगी विरुद्ध झण्डै २ हजारको संख्यामा उजुरी परेको थियो। चालु वर्षको ६ महिनामा ९ सयको हाराहारीमा उजुरी परेको छ।

त्यस्तै अघिल्लो वर्षको तुलनामा ठगिएको रकममा पनि कमी आएको छ। अघिल्लो वर्ष यसै अबधिमा वैदेशिक रोजगारका क्रममा ९४ करोड ५६ लाखभन्दा बढी रकम ठगिएको दावी गरिएको थियो।

तर यस आर्थिक वर्षमा भने ४२ करोड रकम ठगि भएको दावी गरिएको छ। चालु वर्षको ६ महिनाको अबधिमा गत वर्षको तुलनामा ५० प्रतिशतले ठगिमा कमी आएको पाइएको हो।

अत्याधिक रकम असुली कम रकम लिएको रसिद दिएर ठग्ने क्रम बढ्दो
वैदेशिक रोजगारीका लागि सरकारले मलेशिया, साउदी, कतार लगाएतका खाडी मुलुकमा १० हजार लागत तोकेको छ। जुनसुकै म्यानपावर तथा व्यक्तिगतमार्फत वैदेशिक रोजगारीका लागि जाँदा सरकारले तोकेको लागतभन्दा बढी रकम असुल्दै आएका छन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरु पनि सरकारले तोकेको रकम भन्दा कयौँ गुणा रकम बुझाएर चुपचाप जान बाध्य छन्। सरकारले नितिमात्र बनाउँदा र नियमन गर्न नसक्दा श्रमिकहरु ठगिनेक्रम बढिरहेको छ।

विभागका निर्देशक भोलानाथ गुरागाईँ भन्छन्, ‘श्रमिक चुपचाप म्यानपावरले जति भन्यो त्यति पैसा बुझाएर गइरहेका हुन्छन् नेपालबाट विदेश गएर काम राम्रो भयो भने थाहै हुन्न।’

वैदेशिक रोजगारीमा जानका लागि श्रमिकले पैसा बुझाएर पनि विदेश जान नपाएपछि र विदेश गएर पनि काम नपाएर अलपत्र परेर फर्र्र्र्किएपछि मात्र विभागमा गुनासा आउने गरेका छन्। १० हजार लागत तोकिएका देशमा १ लाख देखि ३ लाखसम्म र युरापियन मुलुकमा १० लाखभन्दाबढी रकम म्यानपावरले असुल्दै आएका छन्।

बढी रकम असुलेपनि सरकारले तोकेको रकम लिएको प्रमाण दिने र ठगिएपछि उजुरी गर्दा पीडितले प्रमाणका आधारमा मात्रै क्षतिपूर्ति पाउने हुदाँ पीडित थप मारमा परेका छन्। श्रमिकहरुमार्फत पैसा असुलेर विदेश नपठाउने र पठाएपनि सम्झौता अनुसारको काम कमाइ तथा सेवा सुविधा नहुने हुँदा श्रमिक सास्ती खेप्न बाध्य छन्।

६ महिनामा वैदेशिक रोजगारीका नाममा ठगिएका व्यक्तिगत तर्फका ७८ वटा मुद्धा अदालतमा दायर गरिएका छन्। १० करोड रकम अदालतमा विगोदावी कायम गरिएको छ। विभागले ८ वटा म्यानपावरलाई जरिवाना गरेको छ। ठगीमा संलग्न म्यानपावर कम्पनी विरुद्ध १९ लाख जरिवाना विभागले गरेको छ।

          February 1, 2019 11:01 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...