Monday 16th March 2026

भूकम्पको धक्का ! नेपालमा किन आइरहन्छ लगातार ?

7 years अगाडी

भूकम्पसँग नेपालीको नराम्रो सम्बन्ध रहेको छ । २०७२ बैशाख १२ गतेको भुइँचालोले नेपालीलाई रुवाएको थियो ।त्यो दुःखदायी भूकम्पले चार वर्ष पूरा गर्न अब दुई महिना मात्र बाँकी छ । तर पछिल्लो एक महिनामै काठमाडौं केन्द्रविन्दु भएर दुईचोटि साना झट्का आए । कम्पन भलै हल्का होस्, हाम्रो मन हल्लाउन पर्याप्त छन् ।

गत शनिबार साँझ ८ बजेर ३४ मिनेटमा चार म्याग्निच्युडको भुइँचालोले काठमाडौंवासीलाई तरङ्गित बनायो । केन्द्रविन्दु कीर्तिपुर आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि माघ ८ गते थापाथलीलाई केन्द्र बनाएर ३.३ म्याग्निच्युडको भुइँचालो गएको थियो । मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी यी दुवै धक्कालाई गोरखा भुइँचालोकै निरन्तरता बताउँछन् ।

चार वर्षसम्म गोरखा भुइँचालोको खट्खट् आइरहनुले के संकेत गर्छ ? के यो स्वाभाविक हो ? के गोरखा भुइँचालोको तरंग सकिएको छैन ? नसकिएको भए कति दिन रहन्छ ?
यो बुझ्न, यी सानातिना धक्कालाई २०७२ सालकै निरन्तरता वा ‘परकम्पन’ किन भनिएको हो बुझ्नुपर्छ । एकचोटि ठूलो भुइँचालो आएपछि त्यसपछिका सबैलाई परकम्पन भन्ने हो त ? होइन । त्यसो हो भने त १९९० सालपछिका सबै भुइँचालो परकम्पन हुने भए ।

नेपाल भुइँचालोको जोखिममा छ भन्ने हामी सबैलाई ज्ञात भइसक्यो । हामीले थाहा पाउने गरी वा नपाउने गरी खुसुखुसु भुइँचालो आइरहेकै हुन्छ । कति धक्का केन्द्रको रेकर्डमा समेत रहँदैन ।

२०७२ बैशाख १२ गते ७.६ म्याग्निच्युडको ठूलो धक्का आउनुअघि पनि यस क्षेत्रमा सामान्य झट्का आइरहन्थे । जसले सर्वसाधारणलाई त्रसित बनाउने गरेको छ । जबसम्म यी सानातिना झट्का २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म यसलाई परकम्पनकै रूपमा हेरिन्छ ।
केन्द्र प्रमुख अधिकारीका अनुसार गोरखादेखि दोलखासम्म आइरहेका धक्का अहिले पनि सामान्यभन्दा चार गुणा बढी छ । यो बैशाख १२ को भुइँचालोले प्रभाव पारेको क्षेत्र हो ।

उनको भनाइलाई केन्द्रको तथ्यांकले पुष्टि गर्छ । पुस २६ गते रामेछापमा ४.५ म्याग्निच्युड र त्यसअघि पुस ७ गते सिन्धुपाल्चोकमा ४.७ म्याग्निच्युडको भुइँचालो गएको केन्द्रको रेकर्डमा छ ।‘भुइँचालोको संख्या र शक्ति घट्दै गए पनि धक्का जारी छ । काठमाडौंबाहिर त हल्का हल्का धक्का आइरहेकै छन्, यहाँ हामीले चाल नपाएका मात्र हौं,’ अधिकारीले भने, ‘काठमाडौं नै हल्लाउने गरी परकम्पन आएपछि मात्र हामी चनाखो हुन्छौं ।’

अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०–१५ वर्ष जारी रहने उनले बताए । करीब १० हजार जनाको ज्यान लिएको गोरखा भुइँचालोको यतिका वर्षसम्म निरन्तर धक्का आउनुको कारण के ? गोरखा भुइँचालोलाई ‘अधकल्चो भुइँचालो’ भनिन्छ । भुइँचालोको शक्ति पूरै निख्रिएको थिएन। भूगर्भ्विद्का अनुसार ठूलो धक्का आउँदा चुरे फेदमा जमिन चिरा परेर शक्ति निष्कासन हुनुपर्छ । यसको तरंग भने काठमाडौं हुँदै दोलखासम्म पुग्यो, तर चुरे फेदको जमिन चिरा पार्न सकेन ।

त्यो बेला जमिन चिरा परेको भए सम्भवतः गोरखा भुइँचालोको असर पूरै निख्रिन्थ्यो । हामीले यति लामो समय झट्का खाइरहनुपर्ने थिएन । २०७२ को भुइँचालो त्यति शक्तिशाली हुँदाहुँदै अधकल्चो हुनुको कारण के त ? यो प्रश्नको जवाफ बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले दिएका छन् । अन्तर्राष्ट्रिय जर्नल ‘नेचर जियोसाइन्स’ मा छापिएको उनीहरूको लेखले वैशाख १२ को भुइँचालो तरंग कहाँ पुगेर अड्कियो भनी व्याख्या गरेको छ ।

गोरखा र सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएका भुइँचालो तरंग काठमाडौंको दक्षिणी भू–सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको उक्त जर्नलमा छ । त्यो चिरा सतहसम्म आइनपुग्नु र त्यसको शक्ति काठमाडौंमुनि थुप्रिनुले यो क्षेत्र अहिले पनि भुइँचालो जोखिममा छ भनी इलियटले उल्लेख गरेका छन् ।

खानी तथा भूगर्भ विभागका वैज्ञानिक यसको पुष्टि गर्छन् । विभागले भुइँचालो गएको केही साताभित्रै नेपालका विभिन्न ठाउँमा राखिएका जिपिएस स्टेसनबाट तथ्यांक निकालेको थियो । जिपिएस आँकडाअनुसार भुइँचालो दरार काठमाडौंको दक्षिणी भू–सतहमुनि अड्किएको देखियो ।

यसलाई सजिलो गरी बुझ्न कपडा उधारेको उदाहरण लिउँ । तपाईंले कपडाको थान च्यातेको देख्नुभएकै होला। कपडा उधार्दा सुरुमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ । कपडा उध्रिने शक्तिलाई भुइँचालो तरंग मान्ने हो भने त्यो काठमाडौंमुनि आएर अड्कियो । यहाँबाट दक्षिण सर्न सकेन। दक्षिण सरेर चुरे फेदसम्मै पुगेको भए अझै भयावह भुइँचालो जान सक्थ्यो। बीचमै अड्कियो, ठूलो जनधन क्षति टर्यो । भविष्यलाई खतराको घन्टी बनेर भने झुन्डिएकै छ ।

जिपिएसबाट हेर्दा अहिले पनि त्यो शक्ति जस्ताको तस्तै छ। दक्षिण सरेको छैन । त्यो कहिले निष्कासन हुन्छ र भुइँचालोको झट्का कहिले बन्द हुन्छ यसै भन्न सकिन्न । यो शक्ति कसरी निष्कासन होला त भन्ने प्रश्नमा नेपाली भूगर्भ वैज्ञानिकले चार सम्भावना देखाउँदै आएका छन् ।

पहिलो, अड्किएको चिरा विस्तारै फुक्दै जानेछ र सानो–सानो भुइँचालोबाट शक्ति ‘रिलिज’ हुनेछ । काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँचालाले यहाँ गाँठो परेको चिरा उधार्दै चुरे फेदसम्म पुर्याइदिन सक्छ ।यसो भइदिए साना म्याग्निच्युडका भुइँचाला लामो समय गइरहनेछन् ।

शनिबारको धक्का त्यसैमध्ये एक हुनसक्छ। यही गतिमा शक्ति निख्रिन धेरै वर्ष लाग्न सक्छ, तर कम जोखिमपूर्ण हुन्छ । दोस्रो, बैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पुर्याइदिनसक्छ र भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुनसक्छ ।

जिपिएसबाट प्राप्त तथ्यांकअनुसार काठमाडौंमुनि अड्किएको चिरालाई चुरे फेदसम्म पुग्न लगभग ७ म्याग्निच्युडकै धक्काको खाँचो पर्छ । यसको अर्थ, त्यो बराबरको शक्ति भू–सतहमुनि जम्मा भएर बसेको छ भन्ने हो । यति ठूलो शक्ति एकैचोटि बाहिर आउनु जोखिमपूर्ण हुनेछ ।बेलायती वैज्ञानिक जन इलियटले आफ्नो शोधमा यही अवस्था खुलाउँदै काठमाडौंमा ‘अर्को ठूलो भुइँचालो जोखिम’ देखाएका छन् ।

उनले भनेजस्तो एकैचोटि ठूलो भुइँचालो जान्छ भन्ने ठोस आधार केही छैन । बरु नेपालको भुइँचालो इतिहासले यसरी जम्मा भएको शक्ति स–साना धक्काबाट लामो समय लगाएर ‘रिलिज’ हुने सम्भावना बढी देखाउने भूगर्भ्विद् बताउँछन् ।तेस्रो, काठमाडौंमुनि अड्किएको शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउनसक्छ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ । बरु पिप भरिएको पिलोजस्तो ५०–६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समयपछि बाहिर आउँछ ।

जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ। २०४५ को भुइँचालो यसैगरी निकै तलबाट आएकाले कम क्षति भएको थियो । चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति स्वतः बाहिर निस्कन्छ र खतरा टर्छ ।

उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्षदेखि ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो गएको छैन । त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदो त्योसँगै काठमाडौंमुनि जम्मा भएको शक्ति बाहिर आउनसक्छ । साना–साना भूकम्पका धक्कासँगै सर्वसाधारणमा त्रास फैलिने गरेको छ । भूकम्प आउनेबारे यकिन गर्न सकिने कुनै प्रविधि नभएकाले पनि यसबारे अन्योल रहने गरेको छ ।

          February 22, 2019 11:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...