कालु पाँडेको समाधिस्थलबाटै प्रधानमन्त्री ओलीले भने, ‘गोरखा’ कता पर्छ’
काठमाडौँ । चन्द्रागिरि–१ दहचोकस्थित काजी कालु पाँडेको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दा निकै गम्भीर देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनका क्रममा भने हर्षित थिए । उत्सवको उद्घाटनका लागि दहचोकको डाँडामा पुगेका प्रधानमन्त्री ओलीलाई आयोजकका तर्फबाट स्वयम्सेवकले ढाकाको टोपी उपहार दिए । लगत्तै उनले शिरमा रहेको भादगाउँले टोपी झिके र ढाकाको टोपी लगाए । अनि मञ्चाशीन व्यक्तितर्फ फर्केर भने, ‘राम्रो देखिएको छ ?’ त्यसपछि प्रधानमन्त्रीले पनि कार्यक्रमका अध्यक्ष हरिशरण थापालाई खादा लगाइदिए ।
प्रधानमन्त्री ओली २०७३ फागुन ९ गते निजी भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा पुगेका थिए । सोही समयमै उनले प्रत्येक फागुन ९ गते त्यस स्थानमा जाने उद्घोष गरेका हुन् । त्यसैअनुसार गतवर्ष प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयपछि आजकै दिन अर्थात् फागुन ९ गते त्यहाँ पुगेर कालु पाण्डेप्रति श्रद्धान्जलि व्यक्त गर्दै दोस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गरेका थिए ।
तेस्रो इन्द्रदह पर्यटन उत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कालु पाँडेको शालिकले इन्द्रदहको पहिचान नै छर्लङ्ग पारेको उल्लेख गर्दै दहचोकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । उनले कालु पाँडेको समाधीस्थल नेपालीका लागि तीर्थस्थल जस्तै पवित्र भएको उल्लेख गर्दै नेपाल एकीकरणका एक जना सारथी पाण्डेले ४४ वर्षको उमेरमा जीवन आहुती दिएर असाधरण योगदान गरेको बताए ।
‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनु पर्दैन, अडानमा बसे मात्र पुग्छ’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।’आफू समय कटाउन मात्रै कही नजाने स्पष्ट पार्दै उनले आफू जहाँ गए पनि विकासका निम्ति मात्र जाने र हरेक पाइला विकासका लागि अघि बढाउने बताए ।
आफू दुई वर्ष अघि यहाँ आउँदा कालु पाँडेको समाधिस्थल निकै जीर्ण अवस्थामा देखेको स्मरण गर्दै उनले अहिले ती जीर्ण सम्पदाको संरक्षण, संवद्र्धन र पुनः निर्माण सम्पन्न भएको पाउँदा खुसी व्यक्त गरे । प्रधानमन्त्रीले इन्द्रदहको विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कालु पाँडे ‘पाँडेको मात्र पाँडे’ नभएर राष्ट्रिय गौरवको व्यक्तित्व भएको बताए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रभित्र पर्यटकीय पूर्वाधार निर्माण गर्न नगरपालिका क्रियाशील रहने बताएका थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कालु पाँडेको समाधिस्थल नजिकै निर्माण गरिएको पूर्ण कदको शालिकको अनावरण गरेका थिए भने समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । कालु पाँडेको समाधिस्थलबाटै प्रधानमन्त्रीले ‘गोरखा’ कता पर्छ भनेर हेरेका थिए ।
तत्कालीन पृथ्वी नारायण शाहको सेनापति काजी कालु पाँडेको कीर्तिपुर युद्धका क्रममा ज्यान गएको थियो । उनै कालु पाँडेको इच्छा बमोजिम उनको शीरलाई गोरखाको मनकामना देखिने स्थान दहचोकको डाँडामा ल्याएर समाधिस्थ गरिएको इतिहासकारको भनाइ छ ।
उक्त पूर्णकदको शालिक ५५ वर्षीय विष्णु बरालले निर्माण गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यभित्र इन्द्रदह पनि समावेश गरिएको छ । कार्यक्रममा इन्द्रदह पर्यटन उत्सव तथा कालु पाँडेको समाधिस्थल पुनः निर्माण एवं पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई प्रधामन्त्रीले सम्मान गरेका थिए । उत्सवमा स्थानीय कलाकारले विभिन्न गीत सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कालु पाँडेको समाधिस्थल नजिकै पाँचतल्ले ‘भ्यू टावर’ निर्माण भइरहेको छ । प्रधानमन्त्री ओलीले गतवर्ष उक्त भ्यू टावरको शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ । आगामी फागुन ९ गते सो भ्यू टावरको समुद्घाटन गर्ने लक्ष्य राखिएको छ । भ्यू टावरबाट काठमााडौँ, धादिङ, नुवाकोट र गोरखालगायत विभिन्न जिल्ला हेर्न सकिने इन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले जानकारी दिए ।
उक्त भ्यू टावर निर्माण गर्न सोही क्षेत्रका सांसद श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख आर्थिक सहयोग गरेका समितिले जनाएको छ । प्रधानमन्त्री ओलीले गतवर्ष नै कङ्लकी–दहचोक सडकको स्तरोन्नति हुने घोषणा गर्नु भएकामा यस वर्ष धमाधम काम भइरहेको छ । यसैगरी यहाँस्थित मनकामना मन्दिरको पुनःनिमार्ण भइसकेको छ भने इन्द्र दहको पुनःर्निमार्णको काम भइरहेको छ ।
February 22, 2019 12:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी