जाजरकोटमा १३ महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा
जाजरकोट । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि लिने गरेको थियो ।
गत वर्षको जेठ दोस्रो सातादेखि बन्द रहेको हवाईसेवा हालसम्म सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन् । साढे चार करोड लागतमा चार वर्ष अघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो । उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीय यात्रु तथा विरामी समस्यामा परेको स्थानीय गोपाल रेग्मीले बताए । विमानस्थलबाट हुने हवाई सेवा बन्द भएपछि सिकिस्त बिरामी र जटिलखालका गर्भवती महिलालाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लैजानुपर्ने बाध्यता रहेको चौरजहारी अस्पतालका प्रशासक डीलवहादुर गिरीले बताए । दुर्गममा स्वास्थ्य सुविधा राम्रो नहुने हुँदा जटिल खालका बिरामीलाई तत्काल जहाजबाट सुविधा सम्पन्न अस्पतालमा लैजान सजिलो हुन्थ्यो । हवाई सेवा बन्द भएपछि अशक्त र विरामीले निकै सास्ती पाउने गरेका छन् । उनले भने, “तत्काल चौरजहारीमा हवाई उडान सुरु गरेर सेवा सुचारु गर्न सरकार सँग माग गर्दछु ।”
यसअघि चौरजहारीवाट नेपालगञ्ज र काठमाडौँ उडान भर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले सेवा परिवर्तन गरेर प्रत्येक बुधबार काठमाडौँ–नेपालगञ्ज–चौरजहारी र प्रत्येक बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरेको थियो । रुकुमको सल्ले विमानस्थलमा उडान थप गरेको र चौरजहारीमा १३ महिना अघि उडान कटौती गरेर सेवा बन्द गरेको थियो । निगमले सेवा बन्द गरेपछि यस क्षेत्रका बासिन्दा निकै मर्कामा परेको चौरजहारी नगरपालिका नगरप्रमुख विशाल शर्माले बताए । चौरजहारीमा हवाई सेवा शुरु गर्न विभिन्न निकायमा पहल गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरे । उडान बन्द हुँदा डोल्पाको शे–फोक्सुन्डो जाने पर्यटक समेतलाई समस्या परेको उनको भनाइ छ ।
नेपाल वायुसेवा निगम चौरजहारीका इञ्चार्ज सुरेन्द्र नेपालीले जहाजको कमी भएका कारण हवाई सेवा लामो समय बन्द भएको बताए । अहिले पनि उडान तालिका कटौती भएको छैन । नेपाल वायुसेवा निगमसँग एउटा मात्र जहाज भएकाले समस्या भएको हो थप अर्को जहाज ल्याउने प्रक्रियामा छ । आउने बित्तिकै सेवा आरम्भ हुन्छ । उनले एक वर्षदेखि तीनजना कर्मचारी कामविहीन भएको बताए ।
June 26, 2018 11:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: