Monday 16th March 2026

शाेकमा डुब्याे दार्चुला : जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै सनाखत भयाे

7 years अगाडी

दार्चुला – दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दार्चुलाका नौ जना र बैतडीका दुई जना यात्रु छन् ।

सशस्त्र प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नम्बर २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनकी १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, त्यसै ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पुर्‍याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

जीप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिस गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताउनुभयो ।

चार दिनअघि त्यस क्षेत्रमा पहिरोमा परि एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ ।

क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताउनुभयो । त्याे सडकखण्ड उकालो छ । ‘पहिरो आएको कारण सडक सुधार भएको थिएन’, बमले भन्नुभयो, ‘रातिको समयमा जीप चलाउँदा दुर्घटना भएको हुनसक्छ ।

‘ दार्चुला–तिङ्कर सडकमा गएकाे वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जीप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोकसमेत लगाइएको हो । साँघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् ।

जीप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले शव परीक्षणकाे काम भैरहेकाे छ । अहिले अस्पतालमा आफन्तहरुको भिड लागेको छ ।यो वर्षकै ठूलो जीप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जीपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

          March 2, 2019 10:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...