Monday 16th March 2026

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच जेनेभामा ३ बुँदे सहमती, औषधि मुख्य एजेन्डा

7 years अगाडी

काठमाडौं– स्वास्थ्य मन्त्री गगन थापा र भारतीय स्वास्थ्य मन्त्री जगतप्रकाश नाडाबीच स्विजरल्यान्डको जेनेभामा तीन बुँदे सहभती भएको छ। जेनेभामा विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन गएका दुई मन्त्रीबीच दुवै देशको स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा सहमति जुटेको हो ।

स्वास्थ्य मन्त्री थापाका प्राविधिक सल्लाहकार अमित अर्यालका अनुसार नेपालमा उत्पादन नहुने कडा रोगमा महँगा औषधि सुपथ मूल्यमा कसरी नेपालमा उपलब्ध गराउन सकिन्छ भन्नेबारे दुई मन्त्रीबीच छलफल भएको छ। अर्यालले जेनेभाबाट टेलिफोनमा भने, ‘मन्त्री थापाको प्रस्तावप्रति भारतीय स्वास्थ्मन्त्री नाडा सकारात्मक छन्। उनले भारत सरकारले नेपाललाई कडा रोगका महँगा औषधि सुपथ मूल्यमा उपलब्ध गराउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।’

यसैगरी, दुई मन्त्रीबीच भारत सरकारले नेपालस्थित भारतीय दूतावासबाट स्वास्थ्य क्षेत्रमा गर्दै आएको लगानी अब स्वास्थ्य मन्त्रालयमार्फत गर्ने सहमती पनि भएको छ । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र पूर्वाधार विकासका लागि ७ वर्षे परियोजना तय गरेको छ,’ अर्यालले भने, ‘भारत सरकारले स्वास्थ्यमा गर्दै आएको लगानी अब ती परियोजनाका लागि खर्च हुनेछ।’

नेपाल र भारतको खुला सीमानाका कारण सरुवा रोग नियन्त्रण तथा निर्मुलन गर्न कठिनाई भएकाले सो विषयमा सूचना आदानप्रदान गर्ने सहमति पनि भएको अर्यालले बताए । ‘दुई मन्त्रीबीचको सहमतिलाई मूर्तरुप दिन नेपाल र भारतका स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा उच्चस्तरीय प्राविधिक समिति गठन गर्ने निर्णय भएको छ,’ अर्यालले भने, ‘समितिले सहमति कार्यान्वयनका लागि समझदारीत्रप तयार पार्नेछ।’

भारतीय स्वास्थ्य मन्त्री नाडाले स्वास्थ्य मन्त्री थापासँगको भेटलाई उदृत गर्दै नेपालमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउनेबारे छलफल भएको टुइटमार्फत जनाएका छन्।

          March 2, 2019 1:40 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...