किम जोङ उनले आफ्नो भाइको हत्या गर्ने महिलालाई मलेसियाको जेलबाट किन छुटाए ?
क्वालालम्पुर – उत्तर कोरियाली नेता किम जोङ–उनका भाई किम जोङ नामको हत्याका आरोपी इन्डोनेसियाली महिलालाई रिहा गरिएको छ । उनीमाथि लगाइएका आरोपहरु फिर्ता लिइएपछि रिहा भएकी हुन् । सिती अइस्याहमाथि सन् २०१७ मा क्वालालम्पुर विमानस्थालमा किमको अनुहारमा विषालु भिएस नर्भ एजेन्ट छर्केको आरोप लागेको थियो ।
उनी र अर्का आरोपी भियतनामकी डोन थि हुओङले हत्याको आरोप अस्वीकार गर्दै आफूहरु कुनै टिभीको ठट्टा कार्यक्रमको सहभागी भएको भन्ने लागेको स्पष्टिकरण दिएका थिए ।
क्वाललम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त हत्याप्रकरणले विश्वकै ध्यान तानेको थियो । आश्चर्यजनकरुपमा वादी पक्षले कुनै कारण नखुलाउँदै उनीमाथि लगाइएको हत्या आरोप फिर्ता लिन आग्रह गरेको थियो । न्यायाधीशले आग्रहलाई स्वीकार गर्दै ‘सिती अइस्याहलाई रिहा’ गर्ने फैसला सुनाएका थिए ।
यद्यपि, उनी दोषमुक्त भने भएकी छैनन् । उनीमाथि हत्याको आरोप पुष्टि भए अझै पनि उनी मृत्युदण्डको हकदार हुनेछिन् । ‘म खुसी छु । मैले यस्तो हुनेछ भनेर सोचेको पनि थिइनँ,’ एएफपीसँग कुरा गर्दै आइस्याहले भनिन् । बिबिसीका अनुसार भियतनामकी अर्की आरोपित महिलाको तुलनामा आयस्याहबिरुद्ध कम प्रमाणहरु थिए ।
सन् २०१७ को फेब्रुअरी १३ मा किम जोङ नाम क्वालालम्पुरबाट मकाउ जाने विमान चढ्न पर्खिरहेको बेला दुई महिला उनी भएको ठाउँमा पुगेका थिए । सिसिटिभी फुटेजमा ती मध्ये एक महिलाले उनको अनुहारमा केही पदार्थ जबर्जस्ती दलेको देखिएको थियो ।विमानस्थलमा बेहोस बनेका किमको अस्पताल लैजाने क्रममा निधन भएको थियो ।
पछि उनी विषालु रसायन मानिने भिएक्स नर्भ एजेन्टको सम्पर्कमा आएको पाइएको थियो । उनको हत्यामा उत्तर कोरियाको हात रहेको आरोप लगाए पनि उत्तरले सबै आरोपहरुको खण्डन गर्दै आइरहेको छ । यद्यपि, सो दिन मलेसिया छाडेका चार उत्तर कोरियाली पुरुषमाथि पनि हत्याको आरोप लगाइएको छ ।
इन्टरपोलले ‘रेड नोटिस’ जारी गरे पनि उनीहरुलाई हालसम्म पक्राउ गर्न सकिएको छ । यता, दुवै महिलाहरुले आफूहरु उत्तर कोरियाको योजनाको मोहरा बनेको दाबी गरेका छन् ।
उनीहरुको वकिलका अनुसार किमको हत्या भएको दिनको केही दिनअघि दुवैलाई टेलिभिजनको ठट्टा कार्यक्रमभन्दै विमानस्थल, होटल र सपिङमलमा अज्ञात व्यक्तिहरुको अनुहारमा ‘तरल पदार्थ’ दल्नका लागि रकम प्रदान गरिएको थियो ।उनीहरुले विमानस्थलमा भएको घटनालाई पनि ठट्टा ठोनेको र किमको हत्या गर्ने आफूहरुको कुनै उद्देश्य नरहेको स्पष्ट पारेका थिए । अदालतको निर्णयपछि अइस्याहलाई इन्डोनेसिया पठाइने मलेसियाका लागि इन्डोनेसियाली राजदूतले जानकारी दिए ।
March 13, 2019 10:21 am | प्रवास