संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक : मन्त्री पण्डित
काठमाडौँ, १३ असार : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता र दिगो विकासका लक्ष्यका आधारमा विकासका योजना तर्जुमा गरिएको छ ।”
मन्त्री पण्डितले संघीय संरचनासँगै विकासका योजना परिवर्तन भएको चर्चा गर्दै संघ, प्रदेश र स्थानीय तहका बीचमा आ–आफ्ना अधिकार क्षेत्रमा रही बजेट विनियोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र जन आवश्यकताअनुसार नै प्रदेश तथा स्थानीय तहमा बजेट विनियोजन भएको छ, स्थानीय तहको प्राविधिक क्षमता बढाउने कार्यमा संघले सहजीकरण गर्ने र तराई मधेश समृद्धि योजना कार्यान्वयनमा ल्याउने छ ।”
मन्त्री पण्डितले सामाजिक सुरक्षा, झोलुङ्गे पुललगायतका केही कार्यक्रम केही समयका लागि संघीय मामिला तथा सामान्य प्रशासनबाट नै सञ्चालन हुने बताउँदै सार्वजनिक प्रशासनलाई अझ जनमुखी बनाउन ध्यान दिएको छ भन्नुभयो । कर्मचारी प्रशासन व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहमा कति कर्मचारी आवश्यक पर्ने हो भनेर सर्वेक्षण कार्य सम्पन्न भएको उल्लेख गर्दै उहाँले कर्मचारी समायोजनको कार्य शुरु भएको जानकारी दिनुभयो ।
मन्त्री पण्डितले संवैधानिक प्रावधानअनुसार सबै संवैधानिक निकायमा पदाधिकारी नियुक्ति कार्य अगाडि बढेको बताउँदै संघीय प्रणाली नयाँ अभ्यास भएकाले सिक्दै अगाडि बढ्ने सरकारको नीति छ भन्नुभयो । सो जवाफमा पूरक प्रश्न गर्दै सांसद प्रेम सुवालले भ्रष्टाचार नियन्त्रण, मन्त्री, कर्मचारी कसले गर्ने भन्ने प्रश्न गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारी समायोजन ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन किन भएन ? भन्ने प्रश्न गर्नुभयो ।
सांसद विमला नेपाली र मानबहादुर विश्वकर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान प्रतिष्ठानलाई खारेज नगर्न सुझाव दिनुभयो । ती प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले संघीय निजामती ऐन छलफलमा रहेको, सामूहिक प्रयासबाट भ्रष्टाचार नियन्त्रण हुने र ट्रेड युनियनलाई काज नदिएको जानकारी दिनुभयो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: