Friday 3rd April 2026

रोल्पामा एचआइभी संक्रमित समाजमा खुल्न थाले

8 years अगाडी

रोल्पा । समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन्। सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन्। जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ। हरेक वर्ष दुई÷तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताए। यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिए विकले भने।

हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले जनाएको छ। संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन्। जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन्। आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न मानेका छैनन् अध्यक्ष विकले भने।

जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जानकारी दिएको छ। उनले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमित खुल्न थालेको बताए। बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ। प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन्।

          July 1, 2018 11:08 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...