एकै वडामा १ सय ६३ जनाको बालविवाह
डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सीडीसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो ।
यो संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १ सय ३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, केहीले लहैलहैमा लागेर त केहीले पुण्य कमाउने नाममा बालविवाह गरेको देखिन्छ ।”
बालविवाह समाज, क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ । मुख्यतया बालविवाह परिवारको दवाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरीबी, राम्रो घर परिवार पाउँदा, चाँडो विवाह गर्ने मान्यता, मेला पर्वमा, भविष्य राम्रो हुने आशामा हुने गरेको छ ।
यो वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले एक, राम्रो घर परिवार पाउँदा सात, चाँडो विवाह गर्ने मान्यतामा पाँच, मेला पर्वमा एक, भविष्य राम्रो हुने आशामा एक र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताउनुभयो । बालविवाह गर्नेको जिल्लाभरिको सर्वेक्षण गर्ने हो भने झण्डै एक हजारभन्दा बढी तथ्याङ्क निस्किन सक्ने दिपायलका स्थानीय सर्वजीत देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको पहाडी जिल्लामा सबैभन्दा बढी डोटीमा बालविवाह हुने गरेको छ, तथ्याङ्क निकाल्ने हो भने हजारौँ भेटिनेछन् ।”
जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि आफ्नो नगरपालिकामा बालविवाह रोक्न सकेको छैन । नगरपालिका प्रमुख मञ्जु मलासीले बालविवाह र बालश्रमिक राख्ने विरुद्ध कडारूपमा उत्रिने बताउनुभयो ।उहाँले भन्नुभयो, “बालविवाह र बालश्रम अन्त्यका लागि हामीले विभिन्न काम गर्दै आएका छौँ, बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याएरै छाडिने छ ।” जिल्लामा बालविवाहले विकराल रूप लिँदै आएको छ ।
May 14, 2019 1:20 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग