Friday 3rd April 2026

चिकित्सा शिक्षा सुधारको माग राख्दै , अनसनमा बसेका डा गोविन्द केसी

8 years अगाडी

सामाजिक अभियन्ताको छवि बनाएका डा. गोविन्द केसी पुन अशनस बस्नु भएको छ। यो पटक डा. केसी काठमाडौंको टिचिङ हस्पिटलमा नबसेर जुम्लामा पुगेर आमरण अनशन सुरु गर्नु भएको छ। विगतमा उहाँका एक दुई वटा अनशन सफल पनि भए। उहाँका माग पूरा गर्न सरकार बाध्य पनि भयो। भारतको अन्ना हजारेजस्तो नेपालमा गोविन्द केसी हुनुभयो भन्ने टिप्पणी पनि भए। उहाँलाई चर्चाको शिखरमा पनि पुर्याइयो। उहाँले आफ्नो प्रतिष्ठा पनि बनाउनु भएकै हो।तर, उहाँले त्यसलाई कायम राख्न सक्नु भएन। किनभने उहाँ सही एजेण्डामा कायम रहन सक्नुभएन। उहाँलाई कतिपय विवादित व्यक्तिहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरे र डा. केसी जानीनजानी प्रयोग हुनुभयो। कसैको स्वार्थप्रेरित एजेण्डाका पक्षमा डा. केसी उभिनु नै उहाँको छवि धमिलिनुको कारण बन्यो। जब जब नागरिक समाजका अगुवा भनेर चिनिएका केही व्यक्तिहरुको पक्षमा उहाँ उभिनु भयो त्यसले उहाँको छविमा दाग लगाउन थाल्यो।

किनकि ती अगुवा भनिएकाहरु कतिपय कुराले बद्नाम र आलोच्य व्यक्तिहरु थिए। उनीहरुका माझमा अगुवाई गर्दै उहाँ प्रदर्शनमा पनि उत्रिनु भयो जो उहाँको विगतको प्रतिष्ठा सुहाउँदो थिएन। र, पछिल्लो समय उहाँ गगन थापा र रवीन्द्र मिश्रलाई सामाजिक संजालमार्फत भोट माग्दै पनि हिँड्नु भयो। यसले उहाँको विगतमा कमाएको इज्जत र प्रतिष्ठा गुम्यो।

यही कारणले हुनुपर्छ अहिले उहाँ अनशन बस्दै गर्दा प्रहरीले उहाँको निगरानी गर्ने सम्मका समाचार प्रकाशन भएका छन्। उहाँ अनशन बस्ने स्थलबाट उहाँलाई धरपकड गर्ने र इनजेक्सनमार्फत उहाँलाई खाना खुवाउने तयारी भएको रहेछ। डा. केसी जसको अनसनले विगतमा राज्य संयन्त्र नै उहाँको अगाडि झुक्न बाध्य हुन्थ्यो। उहाँलाई अहिले प्रहरीले दोषीजस्तो व्यवहार गर्नु भनेको उहाँको प्रतिष्ठाको तेज घट्दै गएको संकेत हो। वजनदार डा. केसी हल्का हुँदै गएको यी घटनाक्रमले प्रस्ट पार्छन्।  पछिल्लो समय आन्दोलन गर्ने स्थल पनि सरकारले तोकिदिएको छ।  तोकेर पनि प्रदर्शन हुन्छ र ? संसारमा कहीँ पनि तोकेर प्रदर्शन हुने गरेको छैन। राजनीतिक उद्देश्यका आन्दोलन पनि त्यसरी हुन्छ र? यो प्रयोग मान्दा त ठिकै होला तर कसैले मानेनन् भने के होला? यो प्रश्न एकातिर छ भने अर्कोतिर डा. केसीको अनशन र आन्दोलन गर्ने स्थान तोक्ने विषय एक आपसमा सम्बन्धित छन्। सरकारले प्रदर्शन र आन्दोलन गर्ने स्थान त तोकेको छ तर अनशनसम्बन्धि कुनै नियम बनाएको छैन । अनशन पनि त एक प्रकारको आन्दोलन नै हो । तर, प्रदर्शनलाई मात्र आन्दोलन मानेर अनशनसम्बन्धि नियमलाई बेवास्ता गरिएको छ।

लेखक : जगदीश दाहाल : हाम्रो देशको कानुनअनुसार आत्महत्या गर्नु दण्डनीय र गैरकानुनी हो। यद्यपी जसले आत्महत्या गर्छ उ त मरिहाल्छ। त्यसो भए कसले पाउँछ त सजाय? मर्ने मरिहाल्यो भन्दैमा कानुन त यही हो। कानुनअनुसार आत्महत्या गर्नु वा गर्ने प्रयास गर्नु दण्डनीय हो चाहे त्यो व्यक्ति मरोस् वा नमरोस्। त्यस्तै अनशन बस्ने सबै मानिस जायज माग लिएर अनशन बस्छ भन्ने पनि हुँदैन। जायजै समय र स्थानमा बस्छ भन्ने पनि हुँदैन। अनशन बस्ने मानिसलाई कानुनी दायरामा ल्याउनुपर्छ की पर्दैन? अनशन कति बस्न सक्ने, के विषयमा बस्न सक्ने भन्ने विषय निश्चित हुनुपर्छ?  यदि प्रदर्शन यहाँ गर यहाँ नगर भन्ने हो भने अनशन बस्ने मानिसलाई कानुनी दायरामा ल्याउनुपर्छ कि पर्दैन? अनशन बस्ने मानिसका विगत र वर्तमानका क्रियाकलाप अध्ययन गरेर अनशन बस्ने मानिसका बारेका राज्यले कुनै धारणा बनाउनुपर्छ कि पर्दैन? समाजले न्याय बुझ्ने, न्याय माग्ने र न्याय महशुस गर्ने क्रियाकलाप विद्वानले, समाजका अग्रजले गर्नु राम्रो हो।

आम नागरिकका लागि र राज्यकालागि एउटा संवेदनशील विषय वस्तु र क्षेत्रकालागि कानुनमा, व्यवस्थामा सुधार हुनुपर्छ भन्नु र अनशन बस्नु जायजै होला, तर उहाँको आफ्नै क्रियाकलाप के छ? विगत कस्तो थियो, बर्तमान कस्तो छ? उहाँ कति जायज कुरा गर्ने हो वा होइन भन्ने विषयलाई कानुनको दायरामा ल्याउने की न ल्याउने?  अब गोविन्द केसीले गर्ने क्रियाकलापमा राज्य गम्भीर हुनुपर्छ। उहाँले गर्ने क्रियाकलाप पारदर्शी र कानुन सम्मत हुनुपर्छ। र, यस्ता कुरालाई पनि कानुनले नियमित गराउनुपर्छ। किनभने अनशन बसेको मानिस मृत्यु उन्मुख हुनु पुग्यो भने उसलाई राज्यले पक्राउ गर्न सक्ने खुवाउन सक्ने, इनजेक्शन लगाउन सक्ने कानुन चाहिन्छ। अनशन बस्ने व्यत्तिःका माग कति जायज हुन् कति नाजायत यो कुराको विश्लेषण गरेर निष्कर्ष निकाल्ने संयन्त्र चाहिन्छ । अहिले मुलुक स्थिरता र आर्थिक समृद्धितर्फ अगाडि बढिरहेको बेलामा गोविन्द कोसीले जनतालाई अलमल्याउन र दिग्भ्रमित पार्न लाग्नु भएको हो भने यो निश्चित रुपमा राम्रो होइन। तर, गोविन्द केसीले राम्रै गर्न लाग्नु भएको र राम्रै हो भने गोविन्द केसीलाई सबैले साथ दिनुपर्छ। सबैले नसक्दा पनि स्वास्थ्य क्षेत्रका मानिसले साथ दिनुपर्छ। तर, यसरी बस्ने अनशन पनि कानुनद्वारा नियमित हुन जरुरी छ। र कानुन बन्नुपर्छ र सबैले कानुन मान्नुपर्छ। सबै कानुनसम्मत चल्नुपर्छ।

          July 1, 2018 1:38 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...