रमादानलगत्तै इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्छ
अमेरिका र इरानबीच हाल जारी गतिरोध जुनै बेला युद्धमा रूपान्तरित हुने अवस्थामा छ । पछिल्लो समय अमेरिका र इरानबीचको टिप्पणी युद्ध सुरु गर्नुअघिको जस्तो सुनिन्छ । तीबारे विश्वभरीका समाचार संस्थाले खबर छापेकै छन् ।केही दिनअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इरानको छिमेकी देश इराक पुगे र आवश्यक परे अमेरिका इरानसँग लड्न तयार भएको बताए ।
तनावबीच अमेरिकाले आफ्ना युद्धपोत पनि खाडी क्षेत्रमा पठाएको छ । अमेरिकाले एक हिसाबले ठूलो युद्धको तयारी गरिरहेको प्रतित हुन्छ ।अहिले इस्लाम धर्मावलम्बी रमादान मनाइरहेका छन् । साउदी अरब अमेरिकाको मध्यपूर्वको घनिष्ट मित्र भएकाले त्यहाँको नागरिकको धार्मिक भावनालाई सम्मान गर्न पनि अहिले त केही नहोला तर कैयौँ राजनीतिक विश्लेषकले यो महिना सकिनासाथ इरानमाथि आक्रमण सुरु हुने आँकलन गरेका छन् ।केही समयअघिदेखि इरानसँग तेल किनिरहेका राष्ट्रलाई अमेरिकाले तेल खरिद रोक्न दबाब दिइरहेको थियो तर त्यसका लागि उसले केही समय छुटजस्तो पनि दिएको थियो ।
तर भारतमा निर्वाचन भइरहेको वातावरणमा इरानसँग व्यापार व्यवसाय गर्ने र तेल किन्ने कुनै पनि राष्ट्रलाई अमेरिकाले शत्रु राष्ट्रको व्यवहार गर्ने धम्की दिएको छ । अमेरिकाले इरानसँग सम्बन्ध राख्ने जुन कुनै राष्ट्रमाथि चर्को भन्सार महसुल लगाउने चेतावनी दिएको छ ।भारत निर्वाचनमा प्रवेश गरेको बेला आएको अमेरिकी निर्णय नरेन्द्र मोदीप्रति लक्षित छ भनेर बुझ्न गाह्रो छैन । अमेरिकाको कदम कतै न कतै नरेन्द्र मोदीको निर्वाचन प्रभावित पार्ने उद्देश्यले पनि आएको देखिन्छ ।
भारतले कहिलेकाहीँ अन्य सामान दिएर पनि (बार्टर प्रणाली) इरानबाट तेल लिने गरेको छ । आजसम्म इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीन हो भने दोस्रोमा भारत पर्छ ।
स्वाभाविक रूपमा चीनमाथि पनि इरानको तेल नकिन्न दबाब छ तर चीन पहिलेदेखि अमेरिका व्यापार युद्धमा छ । त्यसअन्तर्गत अमेरिका निर्यात हुने ठूलो परिणामको चिनियाँ सामाग्रीमा भन्सार शुल्क लागिरहेको छ । तर विवादबीच पनि चीनले अमेरिकासँग सम्बन्ध विग्रन नदिन इरानको तेल किन्न रोक्ने समाचार हालसालै अलजजिराले छापेको छ । त्यसमा चिनियाँ अधिकारीको पनि कोट भएकाले विश्वस्त मान्न सकिन्छ । यसो भएमा इरानलाई त्यो ठूलो धक्का लाग्नेछ ।
यसबाट खाडी युद्धमा चीन इरानको पक्षमा उभिएको एउटा शक्तिका रूपमा उदाउला भन्ने जुन अनुमान थियो, अब त्यो सम्भावना टरेको जस्तो देखिएको छ । यसले इरान एक्लिनेछ भारतको निर्वाचनमा कस्तो सरकार आउँछ र त्यसले यस मामिलामा कस्तो रणनीति अङ्गीकार गर्छ त्यो भने अझै हेर्न बाँकी छ ।हुन त इरानले अमेरिकाले तेल बेच्न नदिएको अवस्थामा ‘ग्रे मार्केट’मा तेल बेच्छौँ भनिरहेको छ । तर त्यस्तो बजारबाट ककसले कति तेल किन्लान्, त्यो पनि हेर्नै बाँकी छ ।
इरानको तेल बजारमा सहज रूपमा आउन नपाउने अवस्थामा तेलको भाउ बढ्छ । त्यसबाट अमेरिकाको युरोपेली मित्र–शक्ति रिसाउलान् भनेर अमेरिकाले ‘ओपेक रणनीति’ ल्याएको छ ।हिजोको दिनमा ओपेक नामक सिन्डिकेटले जसरी तेलको भाउ निर्धारण गथ्र्यो त्यो लगभग अन्त्य भएको छ । अब ओपेकका सदस्य राष्ट्रबीच प्रतिस्पर्धा हुने अवस्था आएको छ । त्यस प्रतिस्पर्धा थप तीव्र बनाउँछ र त्यसमार्फत मूल्य सन्तुलनमा राख्ने अमेरिकी रणनीति देखिन्छ । अमेरिकाको यो रणनीतिप्रति चीनको पनि प्रकारान्तले समर्थनजस्तो देखिन्छ । भारत अहिले पूर्ण रूपमा निर्वाचनमा होमिएको हुनाले ऊ अहिले यो समीकरणमा त्यति देखिएको छैन ।
May 21, 2019 1:30 pm | प्रवास