Monday 9th June 2025

यौनिक तथा अल्पसङ्ख्यकको दर्दनाक पीडा

6 years अगाडी

निरा गौतम,रुपन्देही। रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए। उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन्। आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न बाध्य भए। परिवारको माया नपाएपछि पढाइलाई निरन्तरता दिन पनि सकेनन्। तेस्रोलिङ्गी भएकै कारण समाजले उनको अस्तित्व स्वीकार गरेन। कैयौँपटक आत्महत्याको असफल प्रयास गरे। जीविका चलाउन बुटवलका गल्लीहरु धेरै चाहारे तर भनेजस्तो काम नपाएपछि रेशम काठमाडाैं गए। “केटाको शरीरमा केटीको भावना बोकेर हिँड्न मेरा लागि युद्ध जित्नु बराबर थियो, मैले त्यो शब्दमा बयान गर्न सक्दिनँ तर मलाई परिवार र समाजले कहिल्यै बुझेन”, उनले दुखेसो पोखे। उनलाई तेस्रोलिङ्गी भएकै कारण काठमाडौँमा पनि सबैले छिःछि र दूरदूर गरे। केही सीप नलागेपछि उनले ठमेलमा देह व्यापार शुरु गरे।

मनोरञ्जनको दुनियाँमा रेश्मा डार्लिङको नामबाट उनले चर्चा बटुले। “मलाई राति ढिलो हुँदा पीर गर्ने कोही थिएन, न त कस्तो छ भनेर सोध्ने कोही थियो, जन्मदिने बुबाआमालाई त वास्ता भएन अरुले के भन्लान् भनेर कहिल्यै सोेचिनँ” रेशमले भने। नृत्यमा विशेष दख्खल राख्ने रेशमले विस्तारै देहव्यापार छाडेर नृत्य निर्देशकका रुपमा काम शुरु गरे। उनी नेपालको पहिलो तेस्रोलिङ्गी नृत्य निर्देशक हुन् । उनी अहिले आफ्नो पेशा र सामाजिक क्षेत्रमा क्रियाशील छन्। “हिजो छक्का भन्नेलाई छक्क पारेर काम गर्नु छ”, रेशम भन्छन्।

पाल्पाको तानसेनमा जन्मिएका ३० वर्षीया अवान्तिका घर्तीमगरले तेस्रोलिङ्गी भएकै कारण शारीरिक, मानसिक र सामाजिक हिंसा सहिन्। तेस्रोलिङ्गी भएकै कारण सानै उमेरमा परिवारले घरबाट निकालिदिएपछि बिचल्लीमा परेकी उनको भोगाइ दर्दनाक छ। “विद्यालय उमेरबाटै विभिन्न उपनामले गिज्याए, मानसिकरूपमा विक्षिप्त भएका बेला तानसेनमा म जस्तै अरु साथी भेटेँ”, उनी भन्छिन्। अहिले ब्लुडाइमण्ड सोसाइटीमा आवद्ध भएर उनले यौनिक तथा अल्पसङ्ख्यकको अधिकारका लागि आवाज उठाउँदै आएकी छन्।

अर्घाखाँचीका १७ वर्षीय शिशिर भट्टराईको भोगाइ पनि सुखद् छैन। विद्यालयमा पढ्दापढ्दै अन्तरलिङ्गी भएको थाहा पाएपछि बुबाआमाले अनेक यातना दिए। “विद्यालयमा साथीभाइसँग बस्नसमेत दिइएन, न त बिरामी हँुदा उपचार पाएँ, एउटै कोखबाट जन्मिए पनि भाइबहिनी र ममा ठूलो विभेद गरियो”, शिशिर आँशु झार्दै दुःख पोख्छन्। अन्ततः बुबाआमाले कुटपिट गरी घरबाट निकालिदिएपछि उनी अहिले बुटवलमा छन्। “अन्तरलिङ्गी भएर जन्मिएर मैले के अपराध गरेँ ? जसका कारण मलाई परिवार र समाजले स्वीकार गरेन”, शिशिर प्रश्न गर्छन्।

रेशम, अवान्तिका र शिशिर मात्र होइन, अधिकांश यौनिक तथा अल्पसङ्ख्यकहरुका पीडा एउटै छन्, परिवार र समाजले स्वीकार नगर्नु। “हाम्रो पहिचान स्वीकार गरिएको छैन, अझै पनि विभिन्न उपनाम दिएर जिस्क्याउँछन्”, नील हिरा समाजका अध्यक्ष आनिक रानाले भने। “सरकारी निकाय, सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला, पुरुष मात्रै उल्लेख हुन्छ तर हामी कहाँ जाने ?”, उनको प्रश्न छ। रानाका अनुसार रुपन्देहीमा करीब नौ हजार यौनिक तथा अल्पसङ्ख्यक छन् । तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजले हेला गर्ने मात्र होइन, सम्पत्तिबाट समेत बेदखल हुनुपरेको उनीहरुको गुनासो छ। “मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ । शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट बञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ”, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ कार्यालय निर्देशक सम्झनाको भनाइ छ। रासस

          June 7, 2019 1:53 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...